अन्य

पेस्तोलसहित पाँच भारतीय पक्राउ

विराटनगर- हतियारसहित नेपाल प्रवेश गरेका पाँच जना भारतीयलाई सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार गुल्म विराटनगरले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारत पूर्णिया विहारका रञ्जित चौधरी, ४२ वर्षीय सञ्जय राय, २७ वर्षीय शान्तिपुर महतो, पटनाका ३६ वर्षीय विवेक सिंह र आशिष गुप्ता रहेका छन्।


रानी सीमा नाकाको दुई नम्बर ढाटमा शनिबार साँझ सशस्त्र प्रहरीका हवल्दार राजेश्वर थापा नेतृत्वको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।
 निजी माइक्रो भ्यानमा नेपाल प्रवेश गर्दै गरेका उनीहरुमध्येका सञ्जयको साथमा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सञ्जयको साथबाट इटालीमा बनेको सात प्वाइन्ट ६५ एमएमको पेस्तोल एक थान र त्यसमा लाग्ने गोली १० थान बरामद भएको छ।

प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ ५०० को एक लाख र एक हजारको नोट ११ हजारसमेत बरामद गरेको छ।

उनीहरुसँगै बिआर ११ टी २४६५ नम्बरको माइक्रो भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ गरिएका भारतीयहरुले आफूहरु महिन्द्रा डिस्ट्रीब्युटर्स प्रालि विहार पूर्णियाको सञ्चालक रहेको र नेपाल घुम्न आएको बयान दिएका छन्।

यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाएको छ।

प्रकाशित: २५ जेष्ठ २०७१ ०१:०६ आइतबार