अन्य

विद्रोही कविताले तात्यो पोखरा

पोखरा- मुलुक संविधान लेखनको प्रतीक्षामा छ। अबको संविधानको मूल मुद्दा हो– पाखा पारिएका समुदायको पहिचान र तिनको यथोचित सम्मान। एक वर्षभित्र संविधान लेख्ने बाचा गरेका राजनीतिक दल त्यसबारे बेखबरजस्तै बनेको भए पनि बहिष्करणमा परेका मान्छेले आफ्नो पहिचान र राज्यमा यथोचित उपस्थितिको मुद्दा छाडेका छैनन्। शनिबार पोखरामा तिनैको आवाज मुखरित भयो– काव्यमार्फत।
नयाँ पुस्ताका कवि राबतले ‘राजधानीमाथिको राजधानी' शीर्षकमा सीमान्तकृतको आवाज उठाउँदा स्रोता दीर्घाले उनलाई हौस्यायो र हरफहरफमा ताली बजायो। कविता बाचनको घडीभित्र सबैभन्दा बढी वाहवाही बटुलेका उनले डोल्माको भट्टीमा कीरा परेको छ्याङ तनतनी पिउने कुराबाट सुरु गरेको कवितामा राजधानीवादको चर्काे विरोध मुखरित थियो। कोरियाका हुनेखानेको शैली ‘गङनम' को बिम्वसमेत जोडेर उनले शासक वर्गमाथि काव्यिक व्यंग्य प्रहार गरेका थिए।
चन्द्रवीर तुम्बापोले कुम्भकर्ण हिमालको बिम्वमा त्यहाँका लिम्बु जातिको राज्यसत्ता हडपिएको विषय उठाए। कुम्भकर्ण ऊर्फ फक्तालुङ शीर्षकको कवितामा उनले कुम्भकर्ण हिमाल लिम्बू जातिको पवित्र तीर्थस्थलमात्रै नभई न्याय र समानताको प्रतिमूर्तिसमेत भएको उल्लेख गरे। भने, ‘म निदाएपछि पोखरीमा पानीको सट्टा रगत जम्यो, झरनामा पानीको सट्टा रगत बग्यो र जीवनको हाँगामा सभ्यता नफलेर आत्महत्या झुन्डियो।'
आदिवासी जनजाति समुदायसँगै जोडिएको गोर्खा भर्ती र लाहुरेको व्यथा धरानकी बिमला तुम्खेवाले सुनाइदिँदा त्यस्तै परिवेशमा बाँचेको पोखरालाई नछुने कुरै थिएन। उनले उठाइन् लाहुरेकी बिधवा पत्नीको प्रश्न र लाहुरेनीले भोग्न नपाउँदै गएको जवानीको प्रश्न। पाँचथरका कवि उपेन्द्र सुब्बाले च्याबुङ, पालम र धाननाचका प्रसंगबाट आफ्नो पहिचानलाई काव्यमा समेटे। 
पोखरेली युवा सांस्कृतिक परिवारको निम्तोमा डाकिएका मुलुकका विभिन्न ठाउँका र भारतका कविमध्ये अधिकांशले राजधानीवाद र शासनवर्गको विरोधमा काव्य बाचन गरेका थिए। भारतीय कविहरुले उहींका नेपालीभाषीको स्वर मुखरित गरे। सिलिगुढीकी रेमिका थापा, सिक्किमका राजेन्द्र भण्डारी, कालेबुङका मनोज बोगटी, दार्जिलिङका उदय थुलुङ र मनप्रसाद सुब्बाले विशाल भारतमा अल्पसंख्यक हुनुका पीडासँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशका कविता सुनाए।
मोफसलमा बसेरै राष्ट्रिय छवि बनाउन सफल साहित्यकार सरुभक्तले देश सपार्ने संघर्ष गरेर पछि आफैं बिग्रेकामाथि प्रहार गर्दै ‘बहुलाही आमाहरुको जुलुश' सुनाएर जुरुकजुरुक पारे। उनैका समवयी कवि तीर्थ श्रेष्ठले राजधानीको असमर्थताले देश बन्धक बनेको बताए। समय बताउन असमर्थ घन्टाघर, आफ्नै वरिपरिको दृश्य देख्न असमर्थ धरहरा, आफैं चोखिन असमर्थ बागमती, आफैं जोगिन असमर्थ मन्दिरका देवताको सहर काठमाडौंलाई उनले ठाडै भनिदिए, ‘ओ राजधानी, तिमी आफैं असमर्थताको जञ्जालबाट जेलिएका छौं। देश तिमीबाट मुक्ति पाउन छ असमर्थ।'
यही महिना देशले सातौं गणतन्त्र दिवस मनायो। तर, कवि अविनाश श्रेष्ठले भनिदिए, ‘गणतन्त्र मैले त लेख्न सकिनँ तिम्रो नाम।' आशा, भरोसा, रहर, चाहना अझै बाँकी भएकाले गणतन्त्रको नाम लेख्न नसकेको उनको स्पष्टोक्ति थियो। ‘कमैयाका पसिनामा, १४ ठाउँ च्यातिएको राष्ट्रिय पोसाकमा अनि रोल्पा, जुम्ला र जाजरकोटमा भत्किँदै गएका विश्वासका खम्बामा, गणतन्त्र मैले त लेख्न सकिनँ तिम्रो नाम,' उनले भने। 
२०६२/६३ को जनआन्दोलनका विद्रोही कवि श्रवण मुकारुङले भानुभक्त शीर्षकमा मलेसिया र खाडी मुलुक भासिन अभिशप्त नेपाली ठिटोको पीडा पस्किए। विमल निभाले ‘कविता लेख्न स्थगित गर्छु' भनेर साँच्चै त्यसै गर्नुपर्ने सन्देश आफैंलाई दिए। 
श्यामल, सुलोचना मानन्धर, सरिता तिवारी, ज्योति जंगल, ईश्वरमणि अधिकारी, रमेश श्रेष्ठ, भूपिन, हेमन यात्री, स्वप्नील स्मृति, विप्लव ढकाल, शरण आँसु, निमेष निखिल, सुदीप पाखि्रनको कविता पाठले घडीमा साढे तीन बजाइसक्दा पनि पोखरा उद्योग वाणिज्य संघको हल खचाखचै थियो। अन्त्यमा दार्जिलिङका मनप्रसाद सुब्बाले ‘भुइँफुट्टा शब्दहरु' कृतिबाट कविता बाचन गर्दा पनि दर्शक काव्य रसमा डुबुल्किएकै थिए। यसै पनि टिकटमा मुक्तक सुन्ने परम्परा बोकेको पोखराका काव्य पारखीले कविहरुलाई तालीले हौस्याइरहेका थिए। अन्त्यमा कवि तुलसी दिवसले भनिदिए, ‘ताली र गालीको लागि कविता लेख्नुहुन्न।' 
पोखरेली युवा सांस्कृतिक परिवारले पहिलोपटक देशभित्र र बाहिरका चर्चित कविको जमघटमा काव्य उत्सव आयोजना गरेको हो। प्रत्येक दुई वर्षमा उत्सव आयोजना गर्ने सोच बनाएको परिवारकी अध्यक्ष सरस्वती प्रतीक्षाले बताइन्। ‘भानुभक्त, लेखनाथ, माधव घिमिरेजस्ता कविले काव्य सिर्जना गरेको पोखरा र यो आसपासको काव्य परम्पराको निरन्तरतास्वरुप उत्सव आयोजना गरिएको हो,' संस्थाका सल्लाहकार तीर्थ श्रेष्ठले भने।

प्रकाशित: २४ जेष्ठ २०७१ २३:१३ शनिबार