अन्य

नेपाली लेखन किन पछाडि

मान्छे आफ्नो श्रमबाट जति अलग्गिँदै जान्छ, दुनियाँ त्यत्ति नै अमानवीकरण हुँदै जान्छ। मान्छे आफ्नो सृजनाबाट जति अलग्गिँदै जान्छ, दुःख त्यहीँबाट सुरु हुन्छ।

सृजना– चाहे पसिनाको होस्, या साहित्य–कलाको। यसर्थ आफ्नो सृजनाको उपभोग समग्र मानव जातिको ढंगबाट सोचियो भनेमात्रै त्यसको सार्थकता हुन्छ। राम्रो साहित्य त्यस अर्थमा प्रगतिशील साहित्य हो। आफ्नो सृजनाबाट अलग पारिएका मनुष्यहरूको सृजना नै असल साहित्य हो भन्ने मेरो बुझाइ छ। 
मलाई पत्रपत्रिकामा छापिने पुस्तक–वार्ताको प्रसंग याद आउँछ। त्यस्तो वार्तामा 'तपार्इंलाई मनपर्ने साहित्य कुन हो?' भनेर सोध्दा अधिकांशले विदेशी साहित्य खुब पढ्छु भनेर देखाउन हो कि कुन्नि, विदेशी लेखक र पुस्तकको नाम धेरै लिन्छन्। यदि तिनीहरूले साँच्चिकै त्यसो भनेका हुन् भने हाम्रो साहित्य गरिब नै छ। साहित्यको मानक केलाई बनाउने भन्ने अलग कुरा हो। तर पुस्तक–वार्तामा देखिने प्रवृत्तिले हाम्रो साहित्यको अवस्थालाई बुझाउँछ। यस अर्थमा हाम्रो साहित्यले त्यो सामयिकता नसमेटेको कारणले हामी पछाडि परेका हौं।
हाम्रो राजनीतिक सैद्धान्तिक समय–चेतनाले राम्ररी खुट्टा नटेकेको हुँदा हामीले साहित्यिक लेखनलाई टेवा दिन सकेका छैनौं। हामीले समाजलाई बुझ्ने सामयिक चेतनामै समस्या छ। त्यसैले राम्रो साहित्यको सिर्जना हुन नसकेको हो। राम्रो साहित्यकार यदि कुनै प्रगतिशील छ भने जाने हुन्छ, त्यो पार्टीले जन्माउन खोजेको साहित्यकार होइन। यदि नारायण ढकालको साहित्य राम्रो र पठनीय साहित्य हो भने, हामीले जन्माउन खोजेको नारायण ढकाल होइन। गल्तीले जन्मेको हो वा विभिन्न कारणले नचाहँदा–नचाहँदै जन्मेको हो। किन यो दुर्दशा हो भने, हाम्रो राजनीतिमा रहेको सामयिक चेतनाको अभाव हो।
मैले दुई प्रकारले यस्तो भएको हो भन्ठान्छु। एउटा– अत्यन्तै पुरातन, शास्त्रीय र त्यसका नाममा हुने ढोँग। लिपपोत नै सिद्धान्त बनाइदिने। गुदीमा गहिरिनुभन्दा रङरोगन गर्नमै रमाउनु हाम्रो समस्या हो। हामी ठूल्ठुला सार्वभौम कुरा खोज्छौं। वर्गको कुरा गर्छौं तर त्यसको गुदी हुँदैन। हामीमा जात लिंग, क्षेत्र वर्गजस्ता कुरालाई हेर्ने सर्न्दभमा अलिक पुरातनवादी नै छौं। हामीले भनेको यस्तो वर्ग हो, जसको भित्री आधार छैन तर हेर्दा आकर्षक देखिन्छ। यो सब प्रक्रियाबाट हामी एउटा चुनावदेखि अर्को चुनावको प्रक्रियामा मात्रै चक्कर मार्ने भइरहेका छौं। बिहान चुनाव प्रचारमा कसलाई कहाँ पठाइयो र त्यसले कति प्रचारप्रसार गर्योा र साँझ फर्केर पार्टी सिद्धान्तको दाम्लोमा बाँधिन आइपुग्यो कि पुगेन भन्नेमा मात्रै हाम्रो राजनीति अड्किएको छ। यहाँनेर चुनाव प्रचारप्रसार भनेको साहित्य लेखन हो। खासमा हामीले जन्माउन खोजेको साहित्यकार यस्तै हो। यदि कसैले राम्रो साहित्य लेख्यो भने त्यो पार्टीको योजनाभित्रको साहित्यकार हुनै सक्दैन। पार्टीको साहित्यकार हुनका निम्ति त दिनभर जहाँ गए पनि साँझ पार्टीको दाम्लोमा बाँधिन आइपुग्नैपर्छ। 
अविच्छिन्न साहित्य र अविच्छिन्न लेखन चेतनाको हालत यस्तो छ। अर्को यसको विरोधमा विच्छिन्न दृष्टिकोण छ। यसको माओवादीले प्रतिनिधित्व गर्छ। यो पनि चुनाव प्रचारजस्तै शैली हो। 'तँ नै महान होस्' भन्ने खालको। 'तँ नै धर्तीपुत्र होस्' भन्ने खालको। मधेसमा गए पनि त्यही भन्ने, पश्चिममा गए पनि त्यही भन्ने र हिमालमा गए पनि त्यही। यथार्थमा यस्ता कुरा काल्पनिक होइनन् तर मान्छेलाई त्यो नै अन्तिम र सार्वभौम हो कि भन्ने लाग्छ। यस्तो प्रक्रियाबाट एक खालको भद्रगोल जन्मिन्छ। यति भद्रगोल हुन्छ, त्यो साहित्यमा जब तिनीहरू समस्याको चित्रण गर्छन् त्यसलाई अनेक टुक्रामा बाँडेर विभक्त गर्छन्। जब जातको कुरा गर्छन्, धर्तीमा जातबाहेक अरू कुनै कुरा नै छैन भनेझैं प्रस्तुत गर्छन्। वर्गको कुरा गर्योा भने त्यहीँदेखि त्यहीँ नै टुंगिन्छ। भन्दा हामी द्वन्द्ववादी भन्छौं तर यसको द्वन्द्ववादितालाई हेर्दैनौं। हामी यस्तो एकलकाँटे भएर हेर्छाैं, एमालेको हो भने त्यस्तै एक पक्षीय र सार्वभौम नै यहीमात्रै हो क्यारे भनेझैं हेर्छौं र माओवादीको हकमा पनि ठ्याक्कै त्यस्तै छ।
यसरी हामी बाँडिएका छौं, सत्य र यथार्थलाई टुक्राटुक्रा पारेर हेर्ने प्रवृत्ति विकास भइरहेको छ। यस्तो अभ्यासबाट राम्रो साहित्य जन्मिँदैन। हाम्रो समकालीन साहित्य भन्ने हो खासगरी उम्मेदवारले चुनावका बेला गर्ने भाषणजस्तो मात्रै छ। जेसुकै भनेर हुन्छ, उसले पार्टीको पक्षमा र उम्मेदवारको पक्षमा भक्तिगान गरेजस्तो खस्रो हुन्छ– हाम्रो साहित्य। यस्ता कारणले गर्दा हामीले जति साहित्यमा योगदान गर्न सक्थ्यौं, त्यति गर्न सकेका छैनौं। हाम्रो आन्दोलनमा हाम्रो लेखनमा त्यो कारणले समस्या परेको हो भन्ने लाग्छ। 
म मार्क्सवादी भएर हेर्छु। त्यसैले पुँजीवाद त्यो जुनसुकै स्वरूपमा होस्, त्यो प्रगतिशील लेखनको विषय होइन। त्यसको विरोधको चेतना नै सामयिक चेतना हो। तर एकदम प्रस्ट छ, हिजो समाजवादी भनिएको जुन पार्टीको साहित्य हो, त्यो नै समाजवादी साहित्य होइन। लेनिनले लियो टोल्सटोयमाथि लेखिएको जुन पार्टीको साहित्य जुन छ, त्यो चेतना त्यो समाजवाद होइन। सम्पूर्ण स्वतन्त्रतासहितको समाजवाद। यस अर्थमा मैले त्यसलाई उत्तर सोभियतकालीन समाजवादी विमर्श भन्ने गरेको छु अथवा उत्तर वोल्सेभिक समाजवादी विमर्श भयो भनेमात्रै त्यो आजको हाम्रो प्रगतिशील साहित्य हुन्छ।
कर्णालीमा छोराछोरीलाई पिठ्युँमा बोकेर नदीमा हामफाल्ने आमा होस्, अरबबाट बाकसमा आएको लास होस्, पूर्वी पहाडमा विष खाएर मर्ने कुनै लिम्बू होस्, कालापहाड पुगेको दलित होस्, अफ्रिकाका डान्सबारमा वर्षौं नांगै नाचेर नांगै नेपाल फर्कन बाध्य हाम्रा चेली होउन्, पुरानो सांस्कृतिक परम्पराले गर्दा कहिल्यै बैंस नै नदेखेका कर्णाली र मधेसका युवती होउन्, पाँच ठाउँ पढाउने मास्टर होस्, पाठेघरको उद्योग खोल्ने डाक्टर होस्, साहित्य चोरीको आरोप लागेर पनि विश्वविद्यालय धाइरहेको डिपार्टमेन्ट चिफ होस्, सत्ताको खालमा बसेको जुवाडे नेता होस्, हावाले उडाएर पुल भत्काएको बताउने इन्जिनियर होस्, विदेशी संस्थाको नेपाली जन सम्पर्क अधिकृतजस्तो नेपाली एजेन्टजस्तो बनेको वर्कर होस्, राजनीतिको खेलमा जुकाझैं टाँसिएको कर्मचारी होस्; यो सबै तथ्यलाई बुझ्ने कुरा नै सामयिक चेतनाको कुरा हो।

प्रकाशित: २४ जेष्ठ २०७१ ००:१८ शनिबार