एउटा किशोर महिलाका ब्रा र पेन्टी चोरेर यौनतृप्ति लिन्छ।
अर्को युवा महिलाले लुगा फेरेको हेरेर चरमोत्कर्षमा पुग्छ।
अनि, अर्को व्यक्ति दिनमा एउटा नीलो फिल्म हेरेन भने बौलाहा जस्तो हुन्छ।
समाजमा सेक्स विचलन बढ्दो छ। 'एबनर्मल' अर्थात् असामान्य यौन व्यवहार नै विचलन हो। यो व्यक्तिको अस्वस्थ मनस्थितिको प्रकट रूप हो। यौनका मामिलामा नेपाली समाज खुला हुँदै त गएको छ, तर यो खुलापनमा अझै पनि यौनसम्बन्धी पर्याप्त बहस र छलफल समेटिएका छैनन्। आकांक्षा र कुण्ठाबीचको द्वन्द्वले तन्नेरीहरू सेक्स विचलनको शिकार भइरहेका छन्।
पेन्टी चोर
पाटन अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. रवि शाक्यले हालसालै उपचार सुरु गरेको एउटा 'केस'ले उनलाई चकित बनाएको छ। मेडिकल अध्ययनका क्रममा पढेको तर व्यवहारमा भने उनले पहिलो पटक भोगेको केस थियो यो। एक जना १६ वर्षीय किशोर अभिभावकका साथ अस्पताल आएका थिए। हेर्दा सामान्य देखिने ती किशोरको असामान्य यौन व्यवहारबारे थाहा पाएपछि डा. शाक्यले जिब्रो टोके। काठमाडौँका हुनेखाने परिवारका ती किशोरको घरमा भाडामा बस्नेहरू पनि टन्नै रहेछन्। भाडामा बसेका युवती तथा महिलाको अन्तरवस्त्र चोरी गर्ने बानी परेका उनी दुई वर्षदेखि यस्तो हर्कत गर्दै आइरहेका रहेछन्। महिला तथा युवतीका पेन्टी तथा ब्रा चोरी गर्ने र त्यसमा हस्तमैथुन गर्ने बानीका कारण उनले धेरै पटक भाडामा बस्नेहरूको ब्रा र पेन्टी चोरिसकेका रहेछन्। धोएर सुकाएको ठाउँबाट यस्ता कपडा चोर्दै आएका उनले पछिल्लो समय भाडामा बस्नेहरूको आँखा छलेर कोठाभित्रै पसेर चोर्न थालेपछि उनको पोल खुलेको थियो। जब उनका आमाबाबुले आफ्नो छोराको यस्तो अनौठो बानी थाहा पाए, उनलाई उपचारका लागि अस्पताल पुर्याछइयो। डा. शाक्यसँगको कुराकानीमा ती किशोरले दुई वर्षदेखि आफूले पेन्टी र ब्रा चोरेर त्यसमा हस्तमैथुन गर्ने गरेको बताएका थिए।
यी किशोरले भोगिरहेको समस्या मानसिक रोगसँग सम्बन्धित भए पनि यसको बेलैमा उपचार भएन भने यसले ठूलो यौन विचलन ल्याउन सक्ने चिकित्सक बताउँछन्। यस्तो समस्यालाई मेडिकल भाषामा अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (विचार र बाध्यताको दुष्चक्र) भनिन्छ। यौनबारे खुलदुली बढ्ने उमेरमा पर्याप्त जानकारी नहुनु अथवा गलत जानकारी हासिल गर्नुले कतिपयमा यौनसम्बन्धी थुप्रै विचलन देखापर्ने खतरा हुन्छ। सानो उमेरमा अरू कसैले यौन सम्पर्क राखेको वा हस्तमैथुन गरेको देखेमा पनि दिमागमा त्यसको नकारात्मक असरका कारण यस्तो खालको समस्या देखापर्ने चिकित्सक बताउँछन्। दिमागमा एउटै कुरा आइरहने यस्तो अवस्थाको उपचार सम्भव रहेको डा. शाक्य बताउँछन्। ती किशोरलाई आफूले गल्ती गरिरहेको महसुस हुँदाहुँदै पनि निरन्तर त्यही कुरा दोहोर्यााउने कार्य गर्नुले उनमा यौन विचलन रहेको पुष्टि हुन्छ। सेक्ससम्बन्धी कतिपय बानी–व्यहोरा वास्तवमा मानसिक समस्याका कारण सिर्जना भएका विचलन हुन्छन्। तर, हाम्रो सामाजिक बनोट तथा सेक्सलाई लुकाउनुपर्छ भन्ने धारणका कारण त्यसले थप समस्या ल्याउने मनोचिकित्सकहरू बताउँछन्।
व्यक्तिका यौन स्वभाव र व्यवहारको दायरा निकै फराकिलो र विविधताले भरिपूर्ण छ। कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ। कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिए पनि समग्र यौन व्यवहार सामान्य भए समस्या नहुन सक्छ। तर, तर, माथि उल्लेख गरिएको जस्तो अवस्थालाई भने असमान्य र यौन विचलन नै मान्नुपर्ने डा. शाक्य बताउँछन्।
मीठो बोल्ने केटी देख्नै नहुने
१८ वर्षे सोम लामिछाने राम्रोसँग कोही केटीमान्छे बोलिन् भने यौन चाहनाले हुरुक्कै हुन्थे। उनीसँग मीठो बोल्ने केटी मान्छे एक्लै भेट्नेबित्तिकै यौन दुर्व्यवहार गरिहाल्थे। उनको यो क्रम रोकिएन। काठमाडौँ, नयाँबजार बस्ने उनले घरबेटीकी छोरीलाई दिउसै भर्याथङमा यौन दुर्व्यवहार गरेपछि भने उनको कुकर्म छरपस्ट भयो। सोही घरमा बस्ने अरूले पनि उनको दुर्व्यवहार भोगिसकेकाले उनलाई केही युवाले पिट्दै केरकार गरे। त्यसपछि उनी आफ्नो समस्याबारे खुले। साथीहरूले उनलाई मीठो बोल्ने महिलाले यौन खोजेको हुने कुरा गर्दा रहेछन्। शारीरिक रूपमा त्यति आकर्षक नभएका उनले यस्तै कुरा दिमागमा खेलाउँदै जाँदा उनीसँग खुलेर बोल्ने महिलाले पनि यौन चाहना राखेको हुन सक्ने उनको दिमागमा आउन थाल्यो। बिस्तारै यस्ता महिला भेटेपछि अत्यधिक यौनचाहना जागृत हुने समस्या उत्पन्न भएको रहेछ। उनका अनुसार कयौँपटक त्यस्तो व्यवहारबाट उनले सजाय पाए पनि आफ्नो बानी सुधार्न सकेनन्। अरू बेला नियन्त्रण गर्न खोजे पनि उनीसँग बोल्ने कुनै महिलासँग एक्लै भेट्नेबित्तिकै उनमा तीव्र यौन चाहना पैदा हुँदो रहेछ र यौन दुर्व्यवहारमा उत्रिहाल्ने गर्दा रहेछन्। महिलालाई झ्याप्प अँगालो हाल्ने, स्तन समात्नेजस्ता हर्कत गर्थे उनी।
यौन समस्याको अधिकांश हिस्सा मनोविज्ञानसँग जोडिएको पाइन्छ। सोममा आएको विचलन यहीसँग सम्बन्धित छ। उनमा देखिएको मानसिक समस्या र कौतूहल बेलैमा नमेटिएपछि विचलनको चरणसम्म आइपुगेको हो। यौन व्यवहारलाई सही व्यवस्थापन गर्न नजान्दा या गलत तरिकाले बुझ्दा त्यसले यस्ता प्रकारका समस्या सिर्जना गर्छ।
एक दराज ब्लू फिल्म
हरेक चिजको सीमा हुन्छ। सीमा नाघेपछि त्यसले बित्यास पार्छ। कीर्तिपुरका धीरज १४ वर्षकै उमेरमा ब्लू फिल्म हेर्ने लतमा परे। सुरुसुरुमा साथीभाइ, छिमेकीसँग मिलेर त्यस्ता फिल्म हेर्थे उनी। पछि दैनिकजसो हेर्नैपर्ने भयो। २२ वर्षको उमेरमा उनले नचाहँदा नचाहँदै बिहे भयो। 'छोरो साहै्र बरालियो' भनेर बाउआमाले बिहे गराइदिए। बिहेको पहिलो रात सबैका लागि रोमाञ्चक हुन्छ। तर, उनीहरूको पहिलो रातदेखि नै खटपट सुरु भइहाल्यो। कारण धीरजलाई त्यस्ता फिल्म हेर्नैपर्ने। 'ब्लू फिल्म नहेरी मेरो लिंग उत्तेजित नै हुँदैनथ्यो,' उनले भने।
एक महिनासम्म श्रीमतीसँग सेक्स गर्न असफल भएपछि उनले श्रीमतीलाई सबै कुरा बताए। श्रीमतीले त्यस्ता भिडियो हेर्ने अनुमति दिइन्। भिडियो हेरेर उत्तेजित हुने अनि सेक्स गर्ने क्रम चल्यो। 'मेरो घरमा एक दराज ब्लू फिल्म छन्,' उनले भने, 'ब्लू फिल्म नहेरी त म स्वर्गैको अप्सरासँग पनि सेक्स गर्न सक्दिनँ।'
आँखा जुधाएर मुडमा
शंखमूलका रविन भुजुलाई एउटा लत छ। आफूलाई मन परेकी वा राम्रो लागेकी केटीले आफ्ना आँखामा आँखा जुधाइदिए पुग्ने! सीधा आँखाले उनको शरीर नियाल्ने। अनि, आँखामा आँखा जुध्यो भने पुग्ने। 'नशा भइसक्यो,' उनले भने। उनलाई धेरैले 'के हरेको' भनेर तर्साउँछन्। 'पूरा मुडमा भइरा' बेलाँ थर्काउँछन्।' आँखामै हेरेर सेक्सभन्दा बढी मज्जा लिने उनको भनाइ छ। यो लतले उनलाई अन्य कुरामा ध्यान जान छोडेको छ। दिनभरि बानेश्वर चोकलगायत व्यस्त भइरहने स्थानमा गयो। आँखा जुधायो पुग्यो। 'यो लतले भविष्यमा असर गर्छ कि भनेर चिन्ता लाग्छ,' उनले भने, 'डाक्टरसँग सल्लाह लिन जानुछ।'
थरी–थरी विचलन
भीमसेनगोलाका मधु छिमेकमा बस्ने एक युवतीको झ्यालमुनि नियमित पुग्छन्। केही दिनअघि राति पानी परेको थियो। त्यो रातमा पनि उनी पर्खाल चढ्न छोडेनन्। लुछुप्पै भिजेर सिसाले घेरिएको वालमा चढेर दृष्य मज्जाले हेरिरहे। पानी परोस् वा चट्याङ! उनलाई मात्र त्यो झ्यालभित्रबाट देखिने दृष्य हेर्नुपर्छ। सानो प्वालबाट देखिन्छ भित्रको दृष्य। प्रायः रातमा मेकअप गरेर सुत्ने छिमेकी युवतीको बानी उनको यौन तृष्णा मेट्ने बहाना बनेको छ ।
यो समस्या भ्वायरिजम (दर्शनरति) अर्न्तगत पर्छ। यस्तो समस्या भएकाहरूले लुकीलुकी अर्काको यौनक्रीडा हेरेर वा उनीहरूलाई हेरेर यौनतृप्ति प्राप्त गर्न खोज्छन्। यसबाहेक अहिले डाक्टरकोमा आउने धेरै एक्जिभिसनिजम अर्थात् सार्वजनिक स्थलमा गुप्ताङ देखाएर यौनतृप्ति पाउने, फेटिसिजम अर्थात् जुत्ता, लुगा, कपाल आदिप्रतिको आकर्षण र ट्रान्सभेस्टिजम अर्थात् विपरीत लिंगीका पहिरन लगाएर यौनतृप्ति लिने देखिन्छन्।
यौन तथा प्रजनन स्वास्थ्य रोग विशेषज्ञ डा. बद्रीप्रसाद भट्टराई यौन विचलनका समस्या अहिले अत्यधिक आउने गरेको बताउँछन्। 'समस्या बढेको त अवश्य छ । यससँगै खुलेर समस्या राख्ने आत्मबल धेरैमा बढेकोले पनि केस बढी देखिएका हुन्,' उनले भने।
भुवन श्रेष्ठलाई यौन पार्टनरलाई पीडा नदिएसम्म सन्तुष्ट नहुने भएकाले डाक्टरकहाँ आएका रहेछन्। त्यसले उनी उत्तेजनामा आएका बेला पार्टनरलाई चिथोर्ने, चिमोट्ने वा दबाउने गरेर पीडा दिन्छन्। डाक्टरका अनुसार यस्तो समस्यालाई स्याडिजम (परपीडन रति) भनिन्छ। भुवन सामान्य अवस्थामा फर्किन चाहन्छन्। माता मनकामना आरोग्य केन्द्रमा भेटिएका उनी डाक्टरको सल्लाहमा अघि बढ्दै छन्। त्यसैगरी यसको विपरीत आफूलाई साथीद्वारा शारीरिक पीडा दिन लगाएर मात्रै यौनतृप्ति पाउने समस्या (मेसोकिजम– स्वपीडन रति) भएका र फ्रोटोरिजम अर्थात् सार्वजनिक स्थलमा अपरिचित भीडभाडमा लिंग रगडेर यौनतृप्ति पाउने जस्ता यौन विचलनबाट पीडितहरू पनि निकै आइरहेका डा. भट्टराई बताउँछन्।
नेपालमा बालिका बलात्कृत भएका घटना धेरै सार्वजनिक हुने गरेका छन्। भर्खरै सार्वजनिक भएको मध्य क्षेत्रको प्रहरीको तथ्यांकअनुसार पनि यो आर्थिक वर्षको १० महिनामा १ सय ३० बालिका बलात्कृत भएका छन्। यौनक्रीडा गर्न अयोग्य बालबालिकाप्रति आकर्षण हुनु पनि यौन विचलन अन्तर्गत पर्छ। यसलाई पेडोफिलिया भनिन्छ। त्यसैगरी बेस्टियालिटी (पशुगमन), कोप्रोफिलिया (मलमूत्रप्रति आकर्षण) र नेक्रोफिलिया (मृत शरीरप्रति आकर्षण) पनि यौन विचलनका स्वरूप हुन्।
किन बढ्दै छ यौन विचलन?
मानिसको असीमित यौन चाहना र बन्धनयुक्त यौन व्यवहार यौन विचलनको कारण हो। विशेषगरी यौनलाई अझै लज्जापूर्ण वा खराब कार्यका रूपमा परिभाषित गर्ने नेपाली समाजका युवामा यौन विचलन बढ्दै गएको छ। प्रविधिको विकाससँगै विश्वसँग नजिकिएका युवाहरूले यौनमा पनि विश्व समुदायकै सिको गर्न खोज्छन्। यौनसँग सम्बन्धित कुराहरू हेर्ने/पढ्ने कुरामा सहज पहुँच छ। यही कारणले सेक्स चाहना बढ्दै गएको छ तर यौनका विषयमा खुल्न नचाहने नेपाली समाजले यौनको सहज उपलब्धता दिँदैन। यौनका विषयमा खुलेर छलफल पनि नहुने हुनाले एकप्रकारको सीमा कोरिएको हुन्छ। यही आकांक्षा र सीमाको द्वन्द्वले यौन कुण्ठा बढाउँछ। कुण्ठाले जन्माउने डर, चिन्ता, लाज र हीनताबोधले उसलाई आफ्नै नजरमा गिराउँछ। जसका कारण यौन विचलनले जन्म लिने मनोचिकत्सकहरूको साझा धारणा छ।
डा. बद्रीप्रसाद भट्टराईका अनुसार समलैंगिक यौनसम्बन्ध राख्ने, पोर्न साइट र पोर्न भिडियो हेर्ने, सेक्समा नयाँ प्रयोग गर्न चाहने, यौनांगको आकार बदल्न चाहने र अत्यधिक हस्तमैथुन गर्न चाहने प्रवृत्ति अहिलेका युवामा बढेको छ। यौन विचलनका मुख्य मार्ग पनि यिनै भएको उनी बताउँछन्। आफूमा भएको यस्तो बानी र व्यवहार अरूसँग सेयर नगर्ने र यसका विषयमा जानकारी पनि नलिने भएकाले व्यक्तिले कति बेला सामान्य यौनव्यवहारबाट विचलनमा पुगेँ भन्ने थाहा पाउदैन। अरूले थाहा नपाएसम्म यसलाई समस्याका रूपमा नहेरिने भएकाले पनि यौन विचलनग्रस्तहरूको संख्या निकै ठूलो रहेको डाक्टरहरूको अनुमान छ। आफूले गर्ने कार्य राम्रो कि नराम्रो छुट्याउनै नसक्नेहरू छन्। डा. भट्टराई सल्लाह दिन्छन्, 'पछि यसले विकराल रूप लिन्छ। त्यसैले शंका लाग्नेबित्तिकै समाधानतिर लागे समस्याले ठूलो रूप लिँदैन। नत्र यसले जिन्दगी नै बर्बाद पार्न सक्छ।'
अहिलेको पुस्ता हरेक कुरामा प्रयोग गर्न खोज्छ। अरूभन्दा एक्स्ट्रा हुन चाहने उसको स्वभाव नै छ। त्यो सेक्सका मामिलामा पनि देखिन्छ। जथाभावी नयाँ प्रयोग गर्न खोज्नाले समस्या आउने गरेको बताउँछन्, चिकित्सक डा. समन रूपाखेती। यौन विचलन बढ्नुमा राज्य र समाजलाई पनि दोषी देख्छन् उनी। भन्छन्, 'सेक्स एजुकेसनलाई नराम्रो वा लाजको दृष्टिले हेरिन्छ। फेरि राज्यले त्यो आवश्यक ठान्दैन।'
युवावयमा प्रवेश गर्दै गरेका किशोरकिशोरीलाई नबिग्रिऊन् भनेर विपरीत लिंगीसँगको हेलमेलबाट अभिभावकहरू सक्दो टाढा राख्न चाहन्छन्। उनीहरूसँग यौनबारे खुलेर छलफल गर्दैनन्। उनीहरूमा भने यौन चाहना तीव्र भइरहेको हुन्छ। त्यो खुलदुली मेटाउन जुन उपाय अपनाउँछन्, त्यसैले यौन विचलनमा पुर्याएका प्रशस्तै 'केस' हेरेका छन् डाक्टरहरूले। 'समयअनुसार यौनसँग सम्बन्धित कुरामा उचित ज्ञान प्रदान गर्न सकिए युवायुवतीमा यौन विचलन आउँदैन,' डा. शाक्य भन्छन्।
प्रकाशित: २२ जेष्ठ २०७१ ०८:५८ बिहीबार