पक्राउ परेका चारैजनाले गएराति ८ बजेको समयमा जलेश्वर–६ स्थित परिक्रमा गाछीमा भारतबाट खसी किनेर आइरहेका व्यापारीहरु जलेश्वर–६ बस्ने राजेन्द्र दास, बलराम दास, कृष्ण दास र सुनिल दासलाई कुटपिट गरेको र निजहरुको साथबाट रु ६० हजारसमेत लुटपाट गरेको आरोप लगाइएको प्रहरी निरीक्षक इकवाल हवाडीले बताए।
व्यापारीहरुले भारतबाट भन्सार तिरेर १२/१४ वटा खसी किनेर ल्याइरहेको बेला सशस्त्र प्रहरीका चारैजनाले मिलेर उनीहरुसँग पैसा मागेको र उनीहरुले हामीले भन्सार तिरेर आएकाछौं भन्दै पैसा नतिरेपछि उनीहरुलाई सशस्त्र प्रहरीले बेस्सरी कुट्नुका साथै रु ६० हजारसमेत लुटपाट गरेको प्रहरी निरीक्षक हवाडीले बताए।
व्यापारीहरुलाई कुटिरहेका सशस्त्र प्रहरीलाई जलेश्वरको आयुर्वेद अस्पताल चोकमा खटिएका नेपाल प्रहरीका जवानले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए। साथै व्यापारीहरुलाई पनि प्रहरीले जिल्ला प्रहरीमा ल्याएका थिए।
जिल्लामा ल्याइएका व्यापारीहरुसँग भन्सारको कागजात पाएपछि प्रहरीले व्यापारीलाई तत्कालै छाडेका थिए भने सशस्त्र प्रहरीलाई मेडिकल जाँच गराई आवश्यक विभागीय कारबाहीको माग गर्दै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको जिम्मा लगाइएको प्रहरी निरीक्षक हवाडीले बताए।
प्रकाशित: २२ जेष्ठ २०७१ ०१:५८ बिहीबार