अन्य

जिविसकै मिलोमतोमा फर्जी बिलबाट कर असुली

दैलेख – जिल्ला विकास समितिकै मिलोमतोमा दैलेख बजार, डाँडीमाडी दुल्लु सडकका लागि दिइएको ठेक्का गिटी, बालुवा र ढुङ्गासँगै पटके सवारी करको ठेक्का सम्झौता विपरित फर्जी विल र छाप प्रयोग गरी ठेकेदारले मनपरी रकम असुल गरिएको पाइएको छ।६ महिनाअघिदेखि जिविसमा यातायात ब्यवसायीहरुले नक्कली विल र छाप प्रयोग गरेर पैसा असुर गरिरहेको उजुरी गरे पनि जिविसले ठेकेदारलाई छुट दिएको हो।
आफुले ६ महिनाअघिदेखि जिविसमा मौखिक जानकारी गराउँदासमेत कुनै वास्था नगरेको ब्यवसायी रुपक थापाले बताए। 'जिविसका कर्मचारीको मिलोमतोमा नक्कल छाप र बिल प्रयोग गरेको हुनसक्छ,' थापाले भने, 'कानुन मिच्नेलाई जिविसले अहिलेसम्म संरक्षण गर्नुको अर्थ के छ?'  मौखिकरुपमा भन्दा पनि वेवास्ता भएकाले प्रहरीमा उजुरी दिने तयारी ब्यवसायीले गरेका छन्।
जिविसबाट ०७० भाद्र २ गते कर असुलीका लागि सम्झौता गरी ठेक्का लगेका ठेकेदार पुरुषोत्तम थापा (पुस्कर) ले जिविसको फर्जी बिल र छाप प्रयोग गरेको भन्दै पटक पटक जिविसलाई प्रमाणसहित जानकारी गराउँदा समेत कुनै पहल नभएको भन्दै ब्यवसायीले अख्तियार र प्रहरीमा उजुरी हाल्ने तयारी गरेका हुन्। थापाले जिविसले दिएको रसिद ठेली प्रयोग नगरी फर्जी रसिद छापाई र नक्कली छाप कटाई पटके सवारी कर र गिटी, बालुवा र ढुङ्गाको कर असुली गरेको गुनासो आएपछि फर्जी बिल जिविसले ५ महिनाअघि कब्जामा लिए पनि कार्वाही नगर्दा ठेकेदारले फेरि नक्कली छाप र रसिद प्रयोग गरेर रकम उठाइएको भेटिएको हो।
गिटी, बालुवा र ढुङ्गाको करमा ८० प्रतिशत रकम जिविसमा जम्मा गर्नुपर्नेछ भने २० प्रतिशत ठेकेदारले राख्नुपर्ने सम्झौतामा उल्लेख छ। गिटी, बालुवा र ढुङ्गा करमा प्रति ट्रकको ३ सय, मिनि ट्रकको २५० र ट्याक्टरको १ सय ५० र जिपको ५० रुपैँया पटके कर लिने सम्झौतामा उल्लेख गरिए पनि फर्जी बिल प्रयोग गरी मनपरि रकम विभिन्न सडकबाट असुली गरेको प्रमाण फेला परेको हो।

प्रकाशित: २२ जेष्ठ २०७१ ०१:२२ बिहीबार