अन्य

कांस्यधारी दीपक विजयी

काठमाडौं– बक्सिङ खेलाडी दीपक महर्जनले दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुदलाई भएको छनोट खेलमा सोमबार जित हात पारेका छन्। मध्यमाञ्चलका दीपकले ८१ केजीमा आर्मी क्लबका महेन्द्र केसीलाई अंकका आधारमा हराएका छन्। दीपक ग्वान्झाउ एसियाडका कांस्य जित्ने एकमात्र नेपाली खेलाडी हुन्।५२ केजीमा आर्मीका प्रेमकुमार चौधरीले एपिएफका लक्ष्मण तामाङलाई अंक आधारमा हराए। ६४ केजीमा पुलिसका भूपेन्द्र थापाले आर्मीका दीपक श्रेष्ठलाई अंक आधारमा पराजित गरे। एपिएफका विक्रम परियारले ४९ केजीमा मध्यमाञ्चलका सुशील थापा हराए। 
५६ केजीमा एपिएफका पूरन राईले पुलिसका दिनेश श्रेष्ठलाई इन्जुरीका आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरे। ६० केजीमा एपीएफका पूर्णबहादुर लामाले एपिएफका दानबहादुर दर्लामीलाई अंक आधारमा हराउँदै पुलिसका सुमन लामासँग फाइनलमा भिड्ने भएका छन्। 
६९ केजीमा आर्मीका दिपेश लामा पुलिसका रत्नबहादुर तामाङलाई अंक आधारमा पछि पार्दै फाइनलमा पुगे। दिपेशले अब एपिएफका विकास लामासँग प्रतिस्पर्धा गर्नेछन्। 
नेपाल बक्सिङ संघले गरेको छनोट प्रतियोगिताअन्तर्गत मंगलबार पुरुषतर्फ ५ र महिलामा १ स्पर्धाको फाइनल हुनेछ।

प्रकाशित: १९ जेष्ठ २०७१ २०:२३ सोमबार