‘ग्लोबल वर्डन अफ डिजिज स्टडिज'ले सन् २०१० मा गरेको अध्ययनअनुसार धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि संसारको सबैभन्दा दोस्रो घातक रिस्क फ्याक्टर हो। बेलायतको क्यान्सर रिसर्च फाउन्डेसनका अनुसार संसारभरि सुर्तीजन्य पदार्थको सेेवन गर्नेको संख्या लगभग ८५ करोड २० लाख हाराहारीमा छ। जसमध्ये ६१ करोड ६० लाख धूम्रपानको लतमा छन् भने २४ करोड ७० लाख गुट्खा, खैनी, पान, पानमसला जस्ता धुवाँरहित सुर्तीजन्य पदार्थ सेवनमा संलग्न छन्।
सुर्तीका प्रकार
सुर्ती निकोटियाना प्रजातिको घाँसे बिरुवा हो। हजारौं वर्षदेखि यसको पातलाई सुकाएर नशाका रूपमा प्रयोग हुँदै आएको छ। सुर्तीजन्य पदार्थको प्रयोग विधिलाई धूम्रयुक्त र धूम्ररहित दुई श्रेणीमा बाँडिएको छ। बिँडी, चुरोट, सिगार, बट्टा चिलिम, हुक्का, पाइपजस्ता सुर्ती प्रयोगका विधि धूम्रपानीय विधि हुन् भने सुर्ती, खैनी, गुट्खा, पान, पानमसला, मावर, सनस, गुल, बज्जर, नस, क्रिमयुक्त सुर्ती, सुर्ती भिजाएको पानी वा सुर्तीमिश्रित अन्य पदार्थको सेवन धूम्रपानरहित सेवनका विधि हुन्। यस्ता नशालु पदार्थको सेवनबाट स्नायु प्रणालीका ग्याङ्गलियन तथा नर्भ इन्डिङहरूलाई उत्तेजित गरिदिँदा एक किसिमको ट्र्याङकुलिटी, युफोरिया र परमानन्दको महसुस गराउँछ।
हानिकारक तत्त्व
सुर्ती जलनबाट उत्पादित धुवाँमा ४ हजार र सुर्तीका पातमा ७ हजार स्वास्थ्यमा प्रतिकूल असर पार्ने तत्त्व पाइन्छ। यीमध्ये ७० वटा क्यान्सर रोगका लागि जिम्मेवार छन्। सुर्तीको धुवाँमा पाइने टार, पोली–न्युक्लिएर अरोमेटिक हाइड्रोकार्बन, बिटा नेप्थाइलिन, एन–नाइट्रोसोनोरनिकोटिन बेन्जोपाइरिन, निकिल, आर्सेनिक, पोलोनियम–२१० नाइट्रोसामाइन, हाइड्राजिन, भिनाइलक्लोराइड जस्ता सुर्तीको धुवाँमा पाइने तत्त्व क्यान्सरका मुख्य कारक तत्त्व हुन् भने फिनोल, क्रिसोल, क्यारेकोल इन्डोल र कार्बाजोलजस्ता पदार्थ क्यान्सर गराउने सहयोगी तत्त्व हुन।
धुवाँमा पाइने कार्बन–मोनोअक्साइड, हाइड्रोजन साइनाइड, अमोनिया, बिटाडिन, बेन्जिन, क्याडमियमजस्ता तत्त्व पनि मुटु तथा रक्तसञ्चार, स्नायु तथा नाडी मन्डल, पेट तथा रगतका रोगका कारक तत्त्व हुन्। सेवकहरू लोभ्याउन चुरोट, बिँडी, पान मसला, गुट्खाहरूमा चकलेट, भेनिला, चिनी, ल्युकोराइस् र अन्य जडीबुटी र मरमसला मिसाइएको हुन्छ। यी स्वास्थ्यका लागि त्यति हानिकरक त छैनन् तर लत लगाइदिने भएकाले सुर्तीको नशामा फस्ने डर हुन्छ। सुर्ती तथा सुर्तीको जलनबाट उत्पादित धुवाँमा पाइने ल्युकिमिया गराउने बेन्जिन, फोक्सोको क्यान्सर गराउने रेडियोएक्टिव पोलेनियम–२१० पनि अत्यन्त हानिकारक तत्त्व हुन्।
लन्डनका क्यान्सर अनुसन्धानकर्ताका अनुसार एक वर्षसम्म ३० वटा चुरोटको दैनिक सेवन गर्दा निस्किएका रेडियोएक्टिभ तत्त्वले शरीरलाई त्यही परिमाणमा हानि पुर्याउँछ, जुन ३ सयपटक एक्सरे गर्दा हुने गर्छ।
सुर्ती सेवनका जोखिम
धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने मान्छेले प्रत्येक हप्तामा एक दिन बराबरको आयु छोट्याउँछ। मुख, गिजा, स्वासनली, दाँत तथा फोक्सोको क्यान्सर, ल्युकेमिया (रगतको क्यान्सर), पेट, मृगौला, प्यानक्रियाज, ठूलो आन्द्रा, मुत्रथैली र पाठेघरको क्यान्सरको सम्भावना हुन्छ। त्यस्तै मुटु तथा रक्तनलीसँग सम्बन्धित रोग, स्ट्रोक प्यारालाइसिस, अन्धोपन, गिजा सुन्निने, दम–खोकी, न्युमोनिया, सिओपिडी, रक्तनली साँघुरिने, स्नायु तन्तुको क्षय, स्वास प्रणालीका दीर्घ रोग, हड्डी खिइने र भाँच्चिने, नपुंुसकता र बाँझोपन बढ्ने, थकान, अनिद्रा, अपच, मुड डिसअर्डर (मानसिक असुन्तलन) जस्ता रोगको खतरा बढेर जान्छ। गर्भवतीले धूम्रपान गरेमा अपांग तथा मृत बच्चा जन्मने सम्भावना रहन्छ।
धूम्रपान तथा सुर्तीजन्य पदार्थमा कोषहरूलाई हानि गर्ने, जिनहरूलाई म्युटेसन गराउने र कोषहरूको अनियन्त्रित विभाजन गराउने तत्त्व रहेका हुन्छन्। यी तत्त्वले सिधै डिएनएलाई क्षति पुर्याउनुका साथै क्यान्सरको लागि जिम्मेवार अन्कोजिनहरूलाई उत्तेजित गराउँछन्।
सुर्ती, खैनी र गुट्खा सेवनले मुख तथा पेटको क्यान्सर त गराउँछ नै साथै मुटु, मुटुका रक्तनलीसँग सम्बन्धित रोग, ग्रन्थी सुन्निने, रोग प्रतिरोधात्मक क्षमताको कमी गराउने, रगतको क्यान्सर, बोनम्यारो र नपुंसकतालाई निम्त्याउँछ। खैनीमा मिसाएको चुनाले मुखको तथा पेटको अल्सर गराउँछ भने गुट्खा तथा अन्य सुर्तीको सेवनले रक्तचाप बढाउने, मुटु रोग, स्नायु–क्षय, कलेजो, मृगौला तथा आन्द्राहरूको कार्यक्षमतामा ह्रास, दाँतको समस्या, मधुमेह, मोटोपन, मानसिक तनाव, चिन्ता, डर र उदासिनताका समस्या ल्याउँछ।
उपचार विधि
धूम्रपान र सुर्तीजन्य पदार्थ त्यागेर स्वथ्य जीवन बाँच्ने चाहना सबैको हुन्छ तर नशामुक्त हुन धेरै व्यक्ति असफल छन्। यसका लागि दृढसंकल्पको आवश्यकता पर्छ। यस्ता पदार्थलाई छोड्दा धेरैलाई छटपटी लाग्ने, औडाहा हुने, टाउको दुख्ने, काम छुट्ने, चक्कर लाग्ने, छाती तथा पेटमा भारीपन बढ्ने, निद्रा नपर्ने, टोलाउने, स्मृतिको क्षमतामा ह्रास आउने र व्यावहारिक भ्रष्टताका लक्षण देखापर्छ। सुर्ती सेवकलाई नशामुक्त गराउन मनोपरामर्श, गु्रप थेरापी, व्यावहारिक तालिम, सम्मोहन, योग–थेरापी, प्राकृतिक चिकित्सा, अकुपन्चरजस्ता उपचार पद्धतिको आवश्यकता पर्छ। यी विधि असफल भए निकोटिन रिप्लेसमेन्ट थेरापी जरुरी हुन्छ। यस थेरापीमा निकोटिन गम, छालामा टाँस्ने निकोटिन पट्टी, नाकमा हाल्ने स्प्रे, मुखले तान्ने निकोटिन इन्हेलर र जिब्रोमुनि राख्ने निकोटिन चक्की दिइन्छ। यसका अलावा इलेक्ट्रिक सिगरेट, अदुवा, ल्वाङ, जिराजस्ता मसाला दिएर पनि नशा छुटाउने गरिन्छ।
अन्तमा
‘सुर्तीमा कर बढाऔं, मृत्यु र रोगलाई घटाऔं' भन्ने नाराका साथ ‘विश्व सूर्तिरहित दिवस' मे ३१ का दिन मनाइँदैछ। २४ घन्टासम्म सबै किसिमका सुर्तीजन्य पदार्थको सेवन तथा बेचबिखनलाई निरुत्साहित गरी स्वास्थ्यप्रति सचेत गराउनु दिवसको उद्देश्य हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सदस्य राष्ट्रको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो।
समाजलाई धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त बनाउन निजी, सरकारी तथा गैरसरकारी संस्थाको ऐक्यबद्धता जरुरी छ। नारामा भनिएजस्तै सुर्ती तथा सुर्तीजन्य पदार्थको उत्पादन तथा बेचबिखनमा कडाइ गर्नैपर्छ र यी पदार्थको उपलब्धतालाई कठिन बनाउनुपर्छ। बेचबिखन गर्नै परेको खण्डमा अत्यन्त धेरै कर लगाएर बेच्नुपर्छ, ताकि यसको सेवनले हुने मृत्यु र रोग दुवैलाई कम गराउन सकियोस्।
प्रकाशित: १६ जेष्ठ २०७१ २२:३२ शुक्रबार