अन्य

दुई सफल सुन्दरी

आफू 'मिस इन्डिया' भएको बीसौँ वर्षगाँठ अभिनेत्री सुस्मिता सेनले धुमधामसँग मनाइन्। उनले सन् १९९४ मा 'मिस इन्डिया' को उपाधि जितेकी थिइन्। त्यतिबेला उनी मात्र १८ वर्षकी थिइन्।
उनका लागि यो उपाधि एक अन्य कारणले पनि महत्त्वपूर्ण थियो। सुस्मिताले यो उपाधि सुन्दरताकी धनी ऐश्वर्या रायलाई हराउँदै हासिल गरेकी थिइन्।सन् १९९४ को मिस इन्डिया प्रतियोगितामा २६ जना प्रतिस्पर्धीले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका थिए। ऐश्वर्याको सुन्दरतालाई टक्कर दिन गाह्रो हुने बुझेपछि यी प्रतियोगीले आफ्नो नाम फिर्ता लिएका थिए। नाम फिर्ता लिने लिस्टमा सुस्मिता पनि थिइन्। तर, पछि आमाको करबलले उनले फेरि प्रतियोगितामा भाग लिएकी थिइन्। उनले प्रतियोगितामा भागमात्रै लिइनन्, जित्नका लागि कडा मेहनत पनि गरिन्।
प्रतियोगिता अवधिभरि ऐश्वर्या र सुस्मिताबीच कडा टक्कर भयो। ऐश्वर्या नै मिस इन्डिया बन्ने पक्कापक्की थियो। तर, अन्तरवार्ता चरणमा ऐश्वर्यालाई पछि पार्दै सुस्मिताले बाजी मारिन्। दुइटैलाई एउटै प्रश्न सोधिएको थियो– 'तपाईं कुनै ऐतिहासिक घटनालाई परिवर्तित गर्न सक्नुहुन्थ्यो भने के चाहिँ गर्नुहुन्थ्यो?' यसको जवाफमा ऐश्वर्याले भनेकी थिइन्, 'आफ्नो जन्मको समय'।
र, सुस्मिताको जवाफ थियो– 'इन्दिरा गान्धीको मृत्यु।' यही जवाफले सुस्मिता र ऐश्वर्यामध्ये को मिस इन्डिया बन्ने निर्णय गरेको थियो। सुस्मिताले 'मिस इन्डिया–१९९४' का ताज पहिरिइन् भने ऐश्वर्याले फस्ट रनरअपमा चित्त बुझाउनुपर्‍यो।
सुस्मिता भारतलाई 'मिस युनिभर्स' को उपाधि दिलाउने पहिलो सुन्दरी पनि बनिन्। आफ्नो बौद्धिक क्षमता र सुन्दरताका आधारमा उनी १८ वर्षको उमेरमै ब्रह्माण्ड सुन्दरी बनिन्। यसै वर्ष ऐश्वर्याले पनि 'मिस वर्ल्ड' को ताज पहिरिइन्।
पछि यी दुवै सुन्दरी बलिउडमा प्रवेश गरे। सुरुवातमा बलिउड यात्रा दुवैका लागि सुखद रहेन। सुस्मिताको फिल्म 'दस्तक' लाई दर्शकले खासै रुचाएनन् भने ऐश्वर्याको फिल्म 'जिन्स' को नियति पनि त्यस्तै भयो। सन् १९९७ मा बनेको फिल्म 'ताल' ले ऐश्वर्यालाई बलिउडमा पहिचान दिलायो भने सन् १९९९ मा निर्देशक डेविड धवनको फिल्म 'बीवी नं. १' ले सुस्मितालाई चर्चाको चुचुरोमा पुर्‍यायो। यस फिल्मका लागि उनले फिल्म फेयर बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड पनि पाइन्।
'हम दिल दे चुके सनम', 'मोहब्बतें', 'देवदास', 'धूम–२'जस्ता फिल्मले ऐश्वर्यालाई बलिउडकी टप अभिनेत्री बनायो। अर्कोतर्फ 'मैं हूँ ना', 'जिन्दगी रक्स', 'मैने प्यार क्युँ किया', 'आँखे' आदि सुस्मिताका सफल फिल्म हुन्।

प्रकाशित: १५ जेष्ठ २०७१ ०९:०९ बिहीबार