अन्य

छन्दोवादी साहित्यकारका पक्षबाट

– गाउँले बलदेव

नेपाल प्रज्ञा प्रतिष्ठान अचेल छन्दोवादी कवि र छन्दका कवितालाई फुटेका आँखाले पनि हेर्न नसक्ने भएको छ। त्यस प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका केही प्राध्यापकबाहेक अरूलाई चिन्दैन। नेपाली बृहत् शब्दकोश त्रिभुवन विश्वविद्यालयका लहडी प्राध्यापकहरूको जिम्मा लगाउनाले नेपाली वर्णविन्यास अराजकताको पराकाष्ठामा पुगेको छ, प्रज्ञाको आँखा अझै फेरिएका छैनन्।
प्रज्ञा प्रतिष्ठानले एक पक्षीय हुन कहिल्यै सुहाउँदैन। प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने कविगोष्ठीमा छन्दोवादी कविहरूलाई अछूत बनाउने गरिएको छ। प्रज्ञा प्रतिष्ठानका प्राज्ञ महोदयहरूलाई कहिलेसम्म प्रज्ञा प्रतिष्ठानको अन्धताले प्रभावित पारिरहला? उहाँहरू आँखा चिम्लिएर कहिलेसम्म बस्न सक्नुहुन्छ? नेपालका आदिकवि भानुभक्त आचार्य सम्पूर्णतः छन्दोवादी कवि, कविशिरोमणि लेखनाथ पौड्याल सम्पूर्णतः छन्दोवादी कवि, राष्ट्रकवि माधव धिमिरे सम्पूर्णतः छन्दोवादी कवि। नाट्यसम्राट् बालकृष्ण सम सम्पूर्णतः छन्दोवादी नाटककार। मैले असत्य बोलेको हुँ? हुँ भने कठघरामा उभिन तत्पर छु।
प्राज्ञ महोदयहरू! महाकवि देवकोटा अधिकांशतः छन्दोवादी कवि थिए। युगकवि सिद्धिचरण श्रेष्ठ छन्दोवादी कवि थिए। के आज छन्दलाई बहिष्कार गर्दा नेपाली साहित्यका महारथीहरूप्रति अक्षम्य अपमान भएको छैन?
नेपाली साहित्य र भाषामा पद्यको भूमिकालाई निषेध गर्ने तपाईंहरू कहाँबाट उत्पन्न हुनुभएको हो? छन्दोवादी नेपाली भाषीहरूका पक्षबाट म बहस गर्न चाहन्छु, तपाईंहरूसँग प्रतिवाद गर्ने साहस छ? नैतिक बल छ? तपाईंहरूले कृतज्ञ हुनुपर्छ कि पर्दैन? पर्छ भने नयाँ कार्यकारिणीले प्रज्ञाको अन्धोपन निवारण गरोस्, तपाईंहरूलाई मेरो हार्द शुभ कामना!
प्राज्ञ महानुभावहरू! नेपाली वर्णविन्यासबाट क्षतिपूर्तिदीर्घीभवनको प्रावधान कसका आदेशले हटाइयो? यसो गर्नाले छन्दोवादी साहित्यप्रति जघन्य अपराध भएको छ। अपराध गर्न पाइन्छ?
नेपाली उच्चारण हलन्त र अजन्त दुवै हो। नेपाली उच्चारणको मानक बनाउँदा सर्वाधिक लोकप्रिय नेपाली कृति ...मुनामदन'को अवमूल्यन गर्न पाइँदैन। प्रज्ञा प्रतिष्ठान एकपक्षीय हुन पाउँदैन। "हातका मैला सुनका थैला के गर्छ धनले? साग र सिस्नु खाएको बेस आनन्दी मनले" यस श्लोकलाई कथित नेपाली भाषावैज्ञानिकहरू "हात्का मैला सुन्का थैला के गर्छ धन्ले? साग् र सिस्नु खाएको बेस् आनन्दी मन्ले" बनाउन उद्यत छन्।
सावधान! नेपाली वर्णविन्यास तथा उच्चारणको नियमन गर्दा एकपक्षीय वा निर्दलीय हुन पाइँदैन। बहुदल वा बहुलताभित्र छन्दोवादी पनि पर्छन्।
सावधान! कविता महोत्सवमा छन्दोवादी कविता पुरस्कृत नहोला नि! यदि छन्दलाई उपहास गर्ने धृष्टता नयाँ कार्यकारिणीले पनि दोहोर्‍याउन चाहन्छ भने त्यसपछि हुन सक्ने दुर्घटनाको जिम्मेवारी त्यसैले लिनुपर्ने छ।
जो–जो गए पनि भाषासाहित्यकै व्यक्ति जानुपर्ने हो। हामीहरू सबै जना त्यहाँ अटाउन पनि सक्तैनौँ। प्रक्रियाका सम्बन्धमा कुरा उठाएर म असान्दर्भिक गन्थन गर्न आवश्यक ठान्दिनँ। सबैले आशा गरौँ, प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यकारिणीले उदात्त भावनालाई व्यवहारमा प्रस्तुत गरोस्। क्षणिक लहड र तरङ्गमा आएर नेपाली भाषालाई लथालिङ्ग बनाउने प्रवृत्तिको विधिवत् अन्त गरोस्। प्रज्ञा प्रतिष्ठानलाई सबै साहित्यकार तथा भाषासेवीहरूले आफ्नै घर सम्भि्कन पाउन्। उदारतापूर्वक मूल ढोका खोलोस्!

प्रकाशित: १५ जेष्ठ २०७१ ०८:१२ बिहीबार