अन्य

सिद्धिचरणका सिर्जनालाई रंग

काठमाडौं–कवि सिद्धिचरण श्रेष्ठको शत वार्षिकीको अवसर पारे उनका कृति सम्बद्ध चित्रकला र फोटोहरु को प्रदर्शनी चलिरहेको छ। बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको प्रदर्शनी गत शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए। प्रदर्शनीमा युगकविका विभिन्न रचनामाथि कोरिएका ५५ कलाकारका चित्रहरु समावेश छन्।

युगकविको चर्चित रचना ‘वर्षा'को भावसँग मिल्दोजुल्दो आकृति कोर्ने प्रयास गरेका छन्, चित्रकार उत्तम खरेलले।। खैरो र कालो रंगको मिश्रणमा मडारिएको बादलसंगै झरि परेको दृश्य क्यानभासमा देख्न सकिन्छ। जसमा उकुसमुकुस भाव प्रकट हुन्छ। ‘चम्क युवक' रचनामाथि श्यामलाल श्रेष्ठले चित्र कोरेका छन्। सिद्धिचरणको परिवर्तनकारी सोच समेटिएको अर्र्को रचना ‘नीद र जागरण'माथि जीवन राजोपाध्यायले कोरेका चित्र पनि मनछुने लाग्छ। अ“ध्यारो घरबिच उज्यालो बत्ति कोरिएको चित्रमा व्यंग्यात्मक शैलीमा विकासका लागि एकजुट हुन आग्रह गरिएको छ। 
नारी मनोभावमा आकृति कोर्ने एरिना ताम्राकारले युगकविको ‘तेल घसिरहेकी भर्खरकी आमालाई देख्दा' कविता माथि चित्र कोरेकी छन्। अर्धनग्न युवतिको भावुक र ममतामय अभिव्यक्ती चित्रमा उतारेकी एरिनाले नारी सौन्दर्यसंगै महत्व पनि दर्शाएकी छन्। शशी शाहले युगकविलाई आफ्नै घोडा चित्रकलाको शैलीमा ढाल्ने प्रयास गरेका छन्। सेतो रंगमा कालो दौरासुरुवाल लगाएका सिद्धिचरणको तस्विर उतारेर शशीले ‘माग्नेको गीत' रचनामाथि रंग अभिव्यक्ति दिएका हुन्। ‘आत्म समर्पण नगर्नु पनि विजय हो' युगकविको यो भनाईलाई मुख्य केन्द्रमा राखेका छन् शाहले। 
१९९४ मा रचिएको ‘गोमा' कवितामाथि कोरिएको चित्रले पनि धेरैको मन छुन्छ। नारी स्वतन्त्रताको पक्षमा भाव प्रकट गर्ने यस रचनामाथि प्रमिला बज्राचार्यले चित्र कोरेकी छन्।। ‘एउटा तराई क्षेत्रकी गृहिणी महिलाको कथालाई चित्रमा प्रस्तुत गरेको छु। चित्रले परम्परागत नेपाली समाजमा महिलाहरुको परिवर्तनको चाहानालाई प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ,' चित्रकार प्रमिला बज्रचार्यले भने। हिमाल, चन्द्रमा, कलश जस्ता शुभ संकेतात्मक दृश्यसंगै घरबाट बाहिरीन लागेकी युवतिको चित्रले समाजको चौघेरा काटेर लम्किनुपर्छ भन्ने मुख्य सन्देश दिन खोजेको छ। आशा डंगोलले ‘तिम्रो बासित पैसा छैन' रचनामा पा“च रुपै“या कोलाज गरेरका छन्। ‘ओखलढुंगा' मा शशीकला तिवारीले प्राकृतिक सौन्दर्यको यथार्थ दृश्य कोरेका छन्। किरण मानन्धर, केके कर्माचार्य, शान्तकुमार राई, चन्दा श्रेष्ठदेखि नया“ पुराना दर्जनौं कलाकारले चित्रमा सिद्धिचरणलाई उतारेका छन्। 
प्रदर्शनीको आयोजना युगकवि सिद्धीचरण श्रेष्ठ प्रतिष्ठानले गरेका हो। प्रदर्शनी आगामी बुधबारसम्म चल्नेछ।

प्रकाशित: १२ जेष्ठ २०७१ २१:५६ सोमबार