अन्य

तीर्थ र बेदलाई अल्ट्रा उपाधि

काठमाडौं– नेपालीका अल्ट्रा धावक तीर्थबहादुर तामाङ र बेदबहादुर सुनुवारले शनिबार चीनमा अल्ट्रा रेसको उपाधि जितेका छन्। तीर्थ र बेद दुवै त्रिभुवन आर्मी क्लबका अल्ट्रा धावक हुन्। दोस्रो डाली सिटीमा तिर्थले १ सय किलोमिटर र बेदले ५० किलोमिटरमा उपाधि जितेका हुन्। तीर्थले ११ घन्टा ५८ मिनेटमा दौड पुरा गरे। चीनका वाङ साउ लुङ (१३ घण्टा ५ मिनेट) दोस्रो र जाओ जि युले (१३ घण्टा ५७ मिनेट) तेस्रा भए। 
‘यहाँको रुट अत्यन्त कठिन थियो। त्यसका बावजुद जित्न सफल भए,' तीर्थले टेलिफोनमा नागरिकसँग भने, ‘खुसीको बयान गर्न सक्दिन।'
६ घन्टामा १४ मिनेटमा दौड पूरा गर्दै बेदले ५० मिटर अल्ट्राको उपाधि जितेका हुन्। चीनका वाङ साउ लुले (६ घण्टा ४५ मिनेट) दोस्रो र चेन जिएन ( ७ घण्टा ३२ मिनेट) तेस्रा भए। 
‘हामी दुवै जना १ सय किलोमिटरमा प्रतिस्पर्धा गर्न आएका थियौं,' वेदले भने, ‘तर आयोजककै सल्लाहमा अलग अलगमा दौडियौं र उपाधि जित्न सफल भयौं।'
गत माघमा हङकङमा भएको भिमराम १ सय किलोमिटर दौडमा तीर्थ पहिलो र बेद दोस्रो भएका थिए। त्यहाँको प्रदर्शनका आधारमा आयोजक चाइनिज स्काइ रनिङ एसोसिएसनले रमेश भट्टचनमार्फत तीर्थ र बेदलाई सहभागी हुने निमन्त्रणा गरेको थियो। दुवैलाई चीनको खेल सामग्री उत्पादक कम्पनी लि निङले प्रायोजन गरेको थियो।

प्रकाशित: ११ जेष्ठ २०७१ २०:१८ आइतबार