अन्य

पानी पुनर्जीवनको मुद्दा

काठमाडौं– मल्लकालमा काठमाडौं उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो। त्यतिबेला ढुंगेधारा र इनारमा जमिनमुनिको स्रोतबाट अटुट पानी आउँथ्यो।अहिले परिस्थिति बदलिएको छ। उहिलेका ढुंगेधारा धेरै सुकिसके। परम्परादेखिका इनार पुरिइसके। बढ्दो सहरीकरणसँगै डिप–बोरिङ, ट्युबवेल, रोअरपम्पलगायत जमिनमुनिको पानी अत्यधिक दोहन हुन थालेपछि यस्तो स्थिति आएको हो। न परम्परागत स्रोत बचेको छ, न धाराबाटै पानी झर्छ।

‘उपत्यकामा बर्सेनि १० हजार घर थपिँदैछन्, यसले वर्षको ३ हजार रोपनी जमिन सिल भइरहेको छ, यही दरमा जमिन ढाकिँदै गए आउँदो ३५ वर्षमा काठमाडौंको क्षेत्रफलबाट १ थोपा पानी जमिनमुनि छिर्न पाउँदैन,' भूमिगत जलस्रोत विकास समितिका वरिष्ठ जियो–हाइड्रोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठ भूमिगत स्रोत सुक्नुको कारण खोल्छन्।

भूमिगत जलस्रोत ‘रिचार्ज' गर्न सके काठमाडौंको पानी अभाव केही हदसम्म समाधान हुने विज्ञको भनाइ छ। यसका निम्ति आकाशबाट परेको पानी बढीभन्दा बढी जमिनमुनि छिराउनुपर्ने उनीहरूको सुझाव छ।
‘हामीले पानीको अत्यधिक दोहन गरिसक्यौं, अब यसलाई रिचार्ज गरेनौं भने ठूलै दूर्घटना निम्तिन सक्छ,' उनले भने।

भूमिगत स्रोत रिचार्जको पहल एक दशकअघि नै सुरु भएको हो। लामो समय शिथिल रहेर केही समययता बल्ल यसले अभियानको रूप लिएको छ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गैरसरकारी संस्था सिआयुडीसँग मिलेर सन् २०११ देखि ‘रिचार्ज काठमाडौं' अभियानै चलाएको छ। यसअन्तर्गत उपत्यकामा कुनै पनि घर र भौतिक निर्माण गर्दा आकाशबाट परेको पानी जमिनको सतहमुनि पठाउनुपर्ने नीति अख्तियार गरिँदैछ।
‘पानी रिचार्ज गर्न निश्चित क्षेत्रमा सिमेन्ट गर्न नपाइने नियम अपनाउनुपर्छ,' बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले नागरिकसँग भने, ‘हामी नियम बनाउँदैछौं, सरकारले चाँडै कार्यान्वयनमा ल्याउने विश्वास छ।'
सिँचाइ मन्त्रालयअन्तर्गतको भूमिगत जलस्रोत विकास समिति पनि तीन वर्षयता उपत्यकामा भइरहेको भूमिगत पानी दोहनको नक्सा कोर्दैछ। जमिनको सतहभन्दा ५० मिटरमुनिबाट पानी तान्ने उपकरण र संरचना कहाँ–कहाँ निर्माण भएका छन् भन्ने खोजी भइरहेको समितिका श्रेष्ठले बताए। ‘नक्सांकन सुरु भइसकेको छ, एक वर्षभित्र सकिन्छ,' उनले भने।

किन आवश्यक छ भूमिगत पानीको स्रोतमा आकाशेपानी पठाउन?
ढुंगेधाराका अध्येता प्रयागराज जोशीका अनुसार उतिबेला उपत्यकाका ढुंगेधारा र इनारमा अटुट पानी आउनुको कारण वर्षाको पानी जमिनमुनि गएर रिचार्ज हुनु नै हो।
‘ठुल्ठूला फाँटबाट पानी जमिनमुनि छिर्थ्यो, काठमाडौं, ललितपुर र भक्तपरका राजकुलाहरूले सिँचाइ र जमिन रिचार्जको काम गर्थे,' उनले भने, ‘यस्ता परम्परागत स्रोत बेवास्ता गरेर जथाभावी सहर बसाउनुले नै खानेपानीको संकट आएको हो।'
विज्ञहरू यसमा सहमत छन्। ‘हामी धमाधम पानी निकाल्ने काममात्र गर्दैछौं, राख्ने काम गरेका छैनौं,' त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक सुरेशदास श्रेष्ठ भन्छन्, ‘भण्डार रित्तिँदै गएपछि भ्वाङ पर्ने खतरा हुन्छ।'
जापानी सहयोग नियोग (जाइका) ले सन् १९९० मा उपत्यकाको भूमिगत जलसम्बन्धी अध्ययन गरेर दैनिक १ करोड ५० लाख लिटर पानीमात्र निकाल्न सकिने औंल्याएको थियो। त्यो प्रतिवेदनमा अहिले कसैको ध्यान छैन। दैनिक ७ करोड लिटरभन्दा बढी पानी डिप–बोरिङबाट निकाल्ने काम भइरहेको छ। कतिसम्म भने, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र ट्यांकरहरूको मुख्य स्रोत भूमिगत पानी नै हो।
राणाका अनुसार उपत्यकामा १ हजारभन्दा बढी डिप ट्युबवेल छन्। त्यसमध्ये ८ सय बोर्डको जानकारीमा छ भने ३ सय ९४ दर्ता छन्। केयूकेएलले दैनिक ६० वटा इनारबाट पानी निकालिरहेको राणाको भनाइ छ।
भूमिगत स्रोतबाट पानी तान्ने क्रम घटाउँदै लग्नुपर्ने बेला उल्टै बढ्दै जाने अवस्था रहनु चिन्ताको विषय भएको विज्ञहरू बताउँछन्। 

काठमाडौंमा पानीको उच्च माग थेग्न पनि अहिलेलाई भूमिगत स्रोतबाहेक अर्को विकल्प छैन। मेलम्ची आयोजना पूरा भएपछि तैबिसेक अभाव कम होला। तर, त्यतिबेलासम्म यहाँको दैनिक माग करिब ५२ करोड लिटर पुुग्ने अनुमान छ। मेलम्चीबाट आउने दिनको १७ करोड लिटर पानी मागको एकतिहाइ मात्र हुनेछ। त्यतिबेला उपत्यकाको तिर्खा मेट्न भूमिगत स्रोत नै मुख्य आधार हुनसक्छ। 
‘त्यही भएर जतिसक्दो छिटो आकाशेपानीलाई जमिनमुनि छिराएर रिचार्ज गर्ने काम थालिहाल्नुपर्छ,' समितिका सुरेन्द्रराजले भने।
त्यसमाथि समितिको एक प्रतिवेदनअनुसार भूमिगत पानीको सतह बर्सेनि गहिरिँदै गएको छ। मूलपानीमा सन् २००१ र २०१३ मा खनिएको डिपवेलले पानीको सतह घटेको पाइएको थियो। २००१ मा जमिनबाट ३३.३ मिटर मात्रै गहिरो थियो, जबकि २०१३ मा ३५.७१ पुग्यो। पानी जति निकालिन्छ, त्यति नथपिनाले पनि स्रोत गहिरिँदै गएको उनले बताए।
जाइकाले काठमाडौं उपत्यकालाई पानीको स्रोतका आधारमा तीन खण्डमा विभाजन गरेको थियो। बालाजु, लैनचौर, बालुवाटार, थापाथली, गैरीधारा, भक्तपुरको ठिमी र कटुन्जे, जोरपाटी, गोकर्ण, गोंगबु, बुढानिलकण्ठ, मनमैंजु, टोखा, सुन्दरीजल लगायत क्षेत्रलाई उत्तरीखण्ड भनिएको छ। यो बालुवा, ग्रेगानका सतहले बनेको क्षेत्र भएकाले सहजै पानी छिर्न सक्छ। यसलाई भूगर्भशास्त्रीहरू ‘रिचार्ज क्षेत्र' भन्छन्। 
काठमाडौं र ललितपुरको सहरी क्षेत्र मध्यखण्डमा पर्छ। यहाँ ८–१० मिटर बालुवा, ग्रेग्रानलगायत पानी छिर्न र बग्न सक्ने सतहबाहेक २ सय मिटर बाक्लो कालिमाटी तह छ। यही क्षेत्रमा सबभन्दा बढी डिप–वेल रहेको सुरेशदास बताउँछन्। ‘दुई मिटर बाक्लो कालिमाटीमुनिबाट पानी निकालेपछि त्यस्तो क्षेत्र भासिने खतरा रहन्छ,' उनले भने।

भूगर्भशास्त्रीका अनुसार कालिमाटीबाट पानी छिर्न नसक्ने भएकाले यहाँ कतैबाट पनि रिचार्ज गर्न सकिँदैन।

दक्षिणी खण्ड सतुंगल, नैकाप, पाटन चक्रपथ, धोबिघाट हुँदै हरिसिद्धि क्षेत्रलाई यो पनि मध्यखण्डजस्तै भूबनोटको छ, तर यहाँ तुलनात्मक कम डिप–वेल छन्। धमाधम अपार्टमेन्ट निर्माण भइरहेको यो क्षेत्र भूमिगत जलका हिसाबले अन्य क्षेत्रका तुलनामा कम उत्पादक मानिन्छ। पानीको गुणस्तर पनि कमजोर रहेको भूगर्भशास्त्री बताउँछन्।

प्रकाशित: ९ जेष्ठ २०७१ २०:३६ शुक्रबार