अन्य

सेलेनाले दाङमा ‘झुम्रा' नाचिन्

दाङ-अचानक नेपाल भ्रमणमा आएकी अमेरिकी अभिनेत्री तथा गायिका सेलेना गोमेज दाङको एक स्कुलमा विद्यार्थीहरुसँग झुमिन्। गत मंगलबार जिल्लाको देउखुरी सतवरियास्थित राप्ती माविमा पुगेकी उनले थारु नाच ‘झुम्रा' नाचिन्। थारु पोशाकमा सजिएका विद्यार्थीहरुले झुम्रा नाच देखाएपछि साथ उनी पनि सँगसँगै नाचिन्। उनले नृत्यको खुलेरै प्रशंसा गरिन्।

विद्यालयका शिक्षक तथा गायक यादव योगीका अनुसार सेलेनाले झुम्रा नाच्न पाउँदा खुसी व्यक्त गरेकी थिइन्। 
थारु समुदायको झुम्रा नाचपछि उनलाई योगीले ‘मेरो दाङ मेरो देउखुरी' बोलको गीतमा नचाएका थिए। विद्यालयको प्रांगणमा भएको कार्यक्रममा गोमेजको नृत्य हेर्न स्थानीयको भीड लागेको थियो। 
नाचे पनि सेलेनाले गीत भने गाइनन्। नेपाली विद्यार्थीहरुसंग झन्डै तीन घन्टा बिताएकी उनले विद्यार्थीहरुलाई आफूले दिने ज्ञान केही नभएको समेत बताइन्। ‘मैले तपाईहरुलाई दिने चिज केही छैन,' उनको भनाई उदधृत गर्दै शिक्षक योगीले भने, ‘बरु तपाईंहरुबाट मैले धेरै सिक्न पाएँ, यो ज्ञानलाई म मेरो देशमा गएर प्रचार गर्ने छु।' 
युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएकी सेलेनाको भ्रमणका बारेमा विद्यालयलाई समेत थाहा दिइएको थिएन। विद्यालयलाई कुनै विदेशी कलाकार आउन लागेको मात्रै भनिएको थियो।
‘हामीहरुले उहाँ कार्यक्रममा बसिसक्दा समेत थाहा पाएका थिएनौं, उहाँ सेलेना हो भनेर,' योगीले भने ‘पछि परिचयका क्रममा थाहा पाएपछि चकित पर्‍यौँ।' युनिसेफले सुरक्षा चुनौतीका कारण सेलेनाको आगमनबारे प्रचार नगरेको बताएको छ। यसैगरी युनिसेफले सेलेनाको बारेमा प्रचार नगर्न समेत भनेकाले विद्यालयले कसैलाई पनि जानकारी गराएको थिएन। 
देउखुरीको कार्यक्रमपछि सेलेनासहित १२ जनाको टोली पश्चिम लागेको थियो। 
सन् २००२ मा ‘बार्नी एन्ड फ्रेन्डस्' टेलिभिजन सिरिजबाट अभिनय थालेकी सेलेनाले गायिकाको रुपमा पनि उत्तिकै चर्चा कमाएकी छिन्। उनले अहिलेसम्म तीनवटा एल्बम निकालेकी छिन्। क्यानाडेली गायक जस्टिन बिबरसँगको प्रेम सम्बन्धका कारण समाचारमा छाउने सेलेना सन् २००८ देखि युनिसेफका विभिन्न अभियानमा संलग्न रहँदै आएकी छन्।

प्रकाशित: ८ जेष्ठ २०७१ २३:३५ बिहीबार