अन्य

एथलेटिक्सका आशा यामसाजन

काठमाडौं– नेपाली एथलेटिक्समा छोटो दूरीको दौडमा कीर्तिमान नबनेको डेढ दशक भइसकेको छ। जाजरकोटका यामसाजन सुनारले गत माघमा १ सय मिटरमा १५ वर्ष पुरानो कीर्तिमान तोड्दै एथलेटिक्समा नयाँ आशाको किरण देखाएका छन्।राष्ट्रिय एथलेटिक्सको ३९औं संस्करणमा उनले १ सय मिटर दौड १०.४ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाए। 
उक्त इभेन्टमा रामकृष्ण चौधरीले काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा १०.७१ सेकेन्डको कीर्तिमान बनाएका थिए। 
बितेको वर्ष ट्र्याकमा सनसनी मच्चाएका यामसाजन त्यही प्रदर्शन र चर्चाका कारण अहिले अर्को ठूलो उपलब्धि नजिक छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डअन्तर्गत उनी लोकप्रिय खेलाडीको मनोनयनमा परेका छन्। क्रिकेटका कप्तान पारस खड्का, फुटबलका युवा स्ट्राइकर विमल घर्तीमगर, भलिबलकी सरस्वती चौधरी र पौडीकी सोफिया शाह उनका प्रतिस्पर्धी हुन्। फेसबुक लाइक र एसएमएस मतका आधारमा छानिने पल्सर वर्षको लोकप्रिय खेलाडीको पुरस्कार हात पार्न उनले चार खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। विजेता घोषणा जेठ १८ स्पोर्टस अवार्ड कार्यक्रमकै दिन हुनेछ। 
छोटो दूरीमा धेरै पुरानो कीर्तिमान सुधार गरेका कारण यामसाजन अहिले एथलेटिक्सवृत्तमा नेपाली उसेन बोल्टको नामले चिनिन थालेका छन्। उनको कीर्तिमानले प्रशिक्षकलाई पनि उत्साही बनाएको छ। ‘अन्तराष्ट्रिय स्पर्धामा नेपाली खेलाडी छोटो दूरीमा कमजोर देखिएका छन्। तर यामसाजनको कीर्तिमानले अब नेपालले पनि छोटो दूरीमा पदक जित्ने सम्भावना देखिएको छ,' प्रशिक्षक चन्द्र गुरुङ भन्छन्। 
यामसाजनमा नेपाली एथलेटिक्सलाई माथि उठाउन सक्ने क्षमता देख्छन् एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणा। ‘यामसाजनले बनाएको कीर्तिमानले नेपाली एथलेटिक्समा नयाँ आशा जगाइदिएको छ। उनी यो खेललाई माथिल्लो उचाइमा पुर्‍याउन सक्षम खेलाडी हुन्,' उनको विश्वास छ, ‘१ सय मिटरमा कीर्तिमान बनाउन कठिन छ। यामले कीर्तिमान बनाउँदा पनि पुरानो कीर्तिमानभन्दा धेरै राम्रो टाइमिङ निकाल्न सफल भए। अब १ सय मिटर दौडबाट पनि हाम्रो अन्तर्राष्ट्रिय पदक जित्ने सम्भावना देखिएको छ।' 
राष्ट्रिय प्रतियोगिताको २ सय मिटरमा स्वर्ण जित्दा पनि यामसाजन कीर्तिमान नजिक पुगे। उनले २१.४२ सेकेन्डमा २ सय मिटर दूरी पूरा गरे। २ सय मिटरमा तिलकराम थारुको नाममा २१.४१ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ। जाजरकोटको विद्यालय स्तरीय प्रतियोगिताबाट एथलेटिक्समा छिरेका यामसाजनले नेपालगन्जबाट मध्यपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय एथलेटिक्स खेले। २ वर्षअघि नेपाल पुलिस क्लबबाट राष्ट्रिय प्रतियोगिता खेलेका उनी अहिले सेनासँग आबद्ध छन्। सुरुआतमा जाजरकोट जगतीपुर–९ कुदुका यामसाजनले टि्रपलजम्प र लङजम्पबाट करियर सुरु गरेका हुन्। पाँचौं बृहत राष्ट्रिय खेलकुदमा उनले मध्यपश्चिमको प्रतिनिधित्व गर्दै लङजम्पमा स्वर्ण र हाइजम्पमा कंास्य जितेका थिए। 
त्यो उनको पहिलो राष्ट्रिय प्रतियोगिता थियो। प्रतियोगितामा राम्रो गरेपछि प्रशिक्षक चन्द्रले नै यामसाजनलाई १ सय र २ सय मिटर दौडमा अभ्यास गराए। अभ्यासमा राम्रो देखिएपछि यही विधामा लागेका यामसाजन अहिले १ सय मिटरको नम्बर एक धावक बनेका छन्। उनी ट्र्याकमा जस्तै पढाइमा पनि अगाडि छन्। उनी त्रिचन्द्र क्याम्पस बीएस्सी तेस्रो वर्षका विद्यार्थी हुन्। 
यामसाजनको लक्ष्य छोटो दूरीमा नेपाललाई पदक दिलाउने हो। ‘एथलेटिक्सको अन्य विधामा धेरै अन्तर्राष्ट्रिय पदक जितेका छौं। छोटो दूरीमा नेपाल कमजोर छ। म छोटो दूरीमा पदक जित्ने लक्ष्य लिएर तयारी गरिरहेको छु,' उनले योजना सुनाए।

प्रकाशित: ३ जेष्ठ २०७१ २२:११ शनिबार