अन्य

घण्टाघर र कुल देवता

यो निर्जन टापु होइन, सहर हो। त्यसैले वरिपरि मान्छे छन्। छन् दुःखहरू। त्यसो त खुसीका क्षणहरू पनि नभएका होइनन्। हरेक दुःखका सीमा होलान्। तर, सुखका सीमितताबारे मान्छे बढ्ता जानकार छन्। विश्वासका झिना त्यान्द्राहरू छन्। ती कहिले च्वाट्ट चुँडिन्छन्।चुँडिएका त्यान्द्रा हावामा कति दिनसम्म त्यसै तैरिइरहन्छन्। त्यस्ता अधुरा त्यान्द्रा कुनै बेला नयाँ सम्बन्धमा पुगेर जोडिन्छन् पनि। अविश्वासको धारमा परेर जुनसुकै बेला ती फेरि चुँडिन सक्छन्। पूरै रोडम्याप पहिल्यै कोरेर कुनै सम्बन्ध बनेको हुँदैन। जिन्दगीको गुगल म्याप बनाउने कोसिसमा ज्योतिषीकहाँ धाउनेहरू आफैंमाथि विश्वास नभएका दुःखीहरू हुन्। सहरमा यस्ता दुखियाहरूको कमी छैन।
सहरमा घण्टाघर छ। घण्टाघरले आफ्नो घण्टे घडी बजाइरहेकै होला। कोलाहल बढेपछि सहरमा त्यसको आवाज कतै नपुगी नै बिलाउन थालेको छ। एकथरी मानिस घण्टी सुन्ने अभिलाषा बोकेरै बसेका छन्। तर, न उनीहरू कोलाहल घटाउने साहस गर्छन् न घण्टाघरको भोल्युम बढाउने चेष्टा नै। घण्टीको आवाज नसुनिएकामा तिनले गरेको बिलौनाले सहरमा थप कोलाहल बढेको भने पत्तो पाउँदैनन्। अस्ति भर्खरकै घटना त हो, कसैले चाहेर पनि नजिकै रहेको नारायणहिटीमा फेरिन लागेको समयको पूर्व सूचना घण्टाघरले पुर्‍याउन सकेन। आजकल त्रिचन्द्र कलेजको आँगनमा छरिने घण्टीको आवाज ‘डिस्टोर्टेड' छ भन्छन् बुझक्कड तन्नेरीहरू। मण्डला बुक प्वाइन्टमा भेटिएका एक युवा कवि भन्दै थिए, ‘मध्यरातको नीरवतामा पनि घण्टाघर सुनिँदैन आजकल।' 
कसैले घण्टाघरमा अलार्म घण्टी सेट गरेको छ कि छैन? यदि त्यस्तो आशामा कोही बसिरहेको भए उसलाई लागेको हुनुपर्छ, एक दिन त्यो घण्टी सबै कोलाहल चिरेर बज्नेछ। सहरमा हल्ला छ, कुनै नयाँ शक्तिको पर्खाइमा बसेका व्याकुल आत्माहरू त्यस्तो मध्यरात कुरिरहेछन्, जसले जन्माओस् कुनै खास सिद्धान्त वा दर्शनको छिटा नपरेको जादुयी छडी र मिलाइदेओस् यो मुलुकको शक्ति सन्तुलन। उनीहरूलाई लाग्छ, त्यस रात घण्टाघरको अलार्म बेस्सरी बज्नेछ। पर्खाइको व्यग्रताले व्याकुल बनेकाहरू आजकल दुःखी छन्।
सहरमा कुल देवताहरू छन्। तर, कंक्रिटहरू ठडिएपछि कैयन् कुलका देवता किनारा लाग्दै गएका छन्। मोडल फेरेर आधुनिक मोटर चढिरहेका एकथरी कुलका मानिसहरूले कुल देवता भने बिर्सन सकेका छैनन्। उनीहरूलाई चिल्ला सडकमात्र मन पर्छ तर कुल देवताका खातिर कहिलेकाहीँ गल्ली छिचोल्नुपर्‍यो वा हिलाम्य कान्ला टेक्नुपर्‍यो भने पनि केही मिनेटलाई तयार हुन्छन्। सुकिला चर्म जोगाउने भरमग्दुर प्रयास गर्दै देवता खुसी पार्ने यत्नमा लीन हुन्छन् उनीहरू। उनीहरूलाई हिंसा मन पर्दैन तर देवताका खातिर एक–दुई निख्खुर कालो बोका काट्नु हिंसा होइन भन्ने शास्त्रीय गुह्य बुझेका छन्। पहिले–पहिले दुई एक फायरिङ पनि गर्थे। तर, आजकल फायरिङ राज्यको जिम्मामा छ। राज्य उनीहरूभन्दा टाढा नभएकाले कुल देवताको पूजा गर्दा बन्दुकको धेरै नियास्रो लाग्दैन उनीहरूलाई। फेरि बन्दुकको हिंसाभन्दा समाजको संरचनागत हिंसाको दबाबमा थिचिएका मानिसको कोकोहोलो चर्को हुने पनि उनीहरूलाई थाहा छ। त्यस्ता मान्छेले आफ्नो आवाज सुनाउन बन्दुक खोसेर लगेपछि उनीहरूले शान्तिपूर्ण रूपमा कुलको पूजा गर्न थालेको केही वर्ष भयो।
घण्टाघरको आवाज सुन्ने व्यग्रता र कुल देवता पुज्ने हतारोका बीच जीवनको क्षणभंगुरता बिर्सेको एक पात्रसँग म कहिलेकाहीँ संगत गर्छु। उसको कथा आफैंमा धेरै रोचक होइन तर सहरका कुलीन दुखियाहरूको पंक्तिमा ऊ पनि छ। केही गिनेचुनेका कुलीनका बाँसुरी सधैं फुकिरहन्छ अखबार। त्यसैले कहिलेकाहीँ उसका कथा नभन्नु उसमाथि अन्याय हुनेछ।
नयाँ मोटर किनेको पहिलो दिन मोटरको म्युजिक प्लेयरमा शिव आराधना बजाउँदै मेरो पात्र आफ्ना देवता खोज्न निस्किन्छ। तर, साइज बढेर आएको नयाँ मोटरले कुल देवताको बाटो पहिल्याउन सक्दैन। नो पार्किङको साइन बोर्डमुन्तिर मोटर पार्क गरेर देवता खोज्न गल्ली चहार्नुपर्छ। धेरै साँघुरा गल्ली पार गरेपछि केही ओसिला चेपहरू आउँछन्। एउटा चेपमा मरेको बिरालो, रित्तिएको टुबोर्ग बियरको बोतल, फुटेको कण्डम, र अरू यस्तै यथानाम रद्दीहरू छन्। खोस्रेर हेरे त्यहाँ कतिका सपनाको शिशु लासहरू पनि भेटिन्थे होलान्। अर्को कुनामा अबिरका मसिना छिटा निधारमा बोकेर बसेको छ कुल देवता। मोटरधनी आफूले बोकेर ल्याएको धुप नैवेद्य देवताका अघिल्तिर राखिदिन्छ। अछेताले कुल देवताको निधार पुछिदिन्छ। उसलाई छुवाएर एक धर्सो अबिर कुदाउँदै मोटरतर्फ लैजान्छ र स्टेरिङ, ब्रेक, गियर, र टायरमा एकएक कण दलिदिन्छ। यस बेला घरबाट निस्कँदा बजाएको भजन सकिएर नयाँ पप गीत बज्न थालेको हुन्छ उसको मोटरमा–
धुजाधुजा मन टाल्ने जब कोसिस हुन्छ 
आफैंलाई सम्झाउँछु, सबै ठिकै हुन्छ 
जब मनमा भर्खर नयाँ चोट लाग्छ 
आफैंलाई सम्झाउँछु, सबै ठिकै हुन्छ।
गीत सुनेर त्यसको मर्म बुझ्ने धैर्य नदेखाउँदै देवता पुज्न फेरि फर्किन्छ मोटरधनी, उही ओसिलो चेपमा। बाँकी रहेको कर्म सकेर ऊ मोटरमा फर्किंदा अघिको भन्दा किञ्चित उज्यालो हुन्छ उसको अनुहार।
ऊ मोटरमा फर्किंदा पनि बजिरहेको हुन्छ– सबै ठिकै हुन्छ। केलाई ठिक भन्ने? त्यो थाहा पाउन सायद कुल देवताको बिजोग बुझ्नुपर्छ। देवताको अघिल्तिर थुप्रेको फोहोर उधिनेर हेर्ने साहस देखाउनुपर्छ। देवतामाथि दया गर्न सहरका मान्छेको संस्कारले दिँदैन। देवतामा त विश्वास गर्ने हो, उसमाथि शंका एवं दया गर्ने मानिस अधर्मी हुन्छ। आफंैले थुपारेको फोहोर उधिन्ने धर्मपालक सुकिलाहरूको काम होइन। दुर्गन्धबाट जोगिन सुगन्धित मास्क आयात गरिदिन्छ भन्ने आशामा नै भर्खरै बनेको सरकारलाई ऊ जस्ता मोटरधनीले समर्थन गरेका थिए। तर, त्यस्तो आयातित मास्क अहिलेसम्म दरबारमार्गमा उत्रेको छैन। अर्को चुनावमा भोट हाले आफूले त्यस्तो मास्क जोहो गरिदिने केही युवा नेताको आश्वासनमा विश्वास गर्दै मोटरधनी बजिरहेको त्यो गीत बन्द गर्छ।
सबै ठिकै छ कि छैन, त्यो थाहा पाउन घण्टाघरको घण्टी नसुनिनुका कारण पत्ता लगाउनुपर्छ। घण्टीको आवाज मलिनो बनाउने कोलाहलले के भनिरहेछ, त्यो बुझ्नुपर्छ। तर, बुझ्नलाई धेरै समय बाँकी छैन। मेरो पात्र मोटरधनी समयको लेखाजोखा गर्नुपर्‍यो भने आफ्नो मोटरको साइज वा कुल देवताको अक्षेता, दुईमध्ये एक हेर्छ। घण्टाघरलाई सुन्ने असफल प्रयास त उसको दैनिकी नै हो। ऊ जस्ताको दुःख यहाँ आएर बाक्लिन्छ, यी कुनै पनि कर्मले समयको रफ्तारलाई बताउन सक्दैनन्। समयको उपयुक्त अन्दाज नभएकोले हुन सक्छ मेरो पात्र आफ्नै कतिपय हर्कत बुझ्दैन। जेमा अड्नपर्ने, त्यहाँबाट चिप्लिन्छ। जेलाई छोड्नपर्ने, त्यसैलाई समाएर बस्छ। 
यथास्थितिवाद सहरिया दुःखीहरूको दर्शन हो। तर, जब यथास्थितिमा चुनौती खडा हुन्छन्, ती अस्थिर बन्न पुग्छन्। एक क्षण ती क्रान्तिकारी बन्छन्, अर्को क्षण प्रतिगामी। क्षणवाद त्यो अस्थिरताको अभिव्यक्ति बन्छ। नयाँ शक्तिको आह्वान हुने त्यो मध्यरातको पर्खाइमा बसेका व्याकुलहरू हुन् वा कुल देवताको खोजीमा निस्केको मेरो पात्र, तिनको एक क्षणको खुसी अर्को क्षणको दुःखमा परिणत हुन्छ। एक क्षणको हार लगत्तै अर्को क्षण जितको उन्मादमा फेरिन्छ। छिनछिनमा बदलिइरहन्छन् तिनका प्राथमिकताहरू। क्रान्तिको आह्वान आज तिनको प्राथमिकतामा पर्छ, लगत्तै भोलि क्रान्तिको बिसर्जन एकमात्र लक्ष्य निर्धारण हुन्छ। ठिक त्यसरी नै, जसरी विना कुनै तुक पहिले शिव आराधनाको भजन बज्छ र अर्को क्षण बज्छ बजारमा आएको नयाँ पप गीत। नयाँ मोटरको आवश्यकता खट्केकै बेला कुल देवताको उत्खनन् गर्ने आकांक्षा बढेजस्तै। यसलाई फ्युजन भनेर बुझाउन कोसिस गरे पनि भो वा वर्णशंकर भने पनि भो। शब्दाडम्बरको सुविधा पर्याप्त छ। कुनै गुलिया शब्दका गुब्बार मलाई जरुरी छैन। कसैलाई टर्रो लाग्छ भन्दैमा कुरा चपाउनुपर्ने आवश्यकता छैन। कथित फ्युजन मेरा लागि क्षणवादी विचलन हो। मेरो तर्कमा चित्त नबुझ्नेलाई फरक मत लेख्ने अधिकार ‘लोकतन्त्र'ले दिएको छ।
लेख्ने सवालमा क्षणवादी बढ्तै आकांक्षी रहने गरेका छन्, जस्तो मेरो पात्र। उनीहरू चाहन्छन्, अखबारमा बोलबाला उनीहरूकै बढी होओस्। सबैको प्यारो हुने ‘पपुलिस्ट' तौरतरिका जानेका छन्, तिनले। ‘पपुलिज्म' आफंैमा कति सही वा गलत, त्यसको प्राज्ञिक अन्वेषण हुँदै गर्ला। यिनले अख्तियार गरेको ‘पपुलिज्म' हानिकारक छ भन्न आइतबार पर्खनुपर्दैन। कारण, लेखेरै लेखन कर्मको तेजोबध गर्नुमा उनीहरूको जोड छ। न स्पष्ट दृष्टिकोण, न सबल वैचारिक धरातल। दाहिने ढल्कुवाको मन राख्नुछ, देब्रे पट्टिकालाई पनि धेरै कुँड्याउनुछैन। मध्यपन्थको भ्रम बाँड्नुछ, अलिअलि क्रान्तिको रातो पोत्नु पनि छ। पहेँलो र नीलो रङ पोत्दा, कहिले अलिकति पहेँलो बढी हुने, कहिले नीलोको मात्रा बढ्ता हुने। ब्यालेन्स नमिलेको लेख छापिएको दिन एकथरीको खप्की खानुपर्ने। अर्कोथरीले पनि पर्याप्त खुसी व्यक्त नगरिदिने। जटिल मनोदशा लिएर अर्को हप्तालाई ट्याक्क सबैतिरका मतो मिलाएर एक निबन्ध लेख्न बस्नुपर्ने तिनको दुखिया नियति! त्यसका लागि चाहिने बहुअर्थी शब्द जस्तोः विकास, शान्ति, समुन्नति, सुव्यवस्था, लोकतन्त्र आदि इत्यादि जसको स्टक सकिँदै गएको छ।
विकास भनेको कुल देवताको मूर्ति हो कि फोहोरको थुप्रो वा नयाँ मोटर? शान्ति भनेको शिव आराधना हो कि नयाँ पप गीतको झंकार? सुव्यवस्था भनेको घण्टाघरको घण्टी हो कि त्यसलाई निल्ने कोलाहल? घरमा छोरीले कुनै दिन यस्ता प्रश्न सोधिन् भने के गर्ने? मेरो मोटरधनी पात्रको काइदा गजबको छ। प्रश्नलाई बेवास्ता गर्ने र भन्ने, ‘नानी कि तिमीले मेहनत गरेर बिएस्सी नर्सिङ पढ्नुपर्छ कि ‘चार्टर्ड एकाउन्ट'को बाटो समाउनुपर्छ, कहाँ यस्तो आर्टस् पढ्नेले जस्तो बकवास गरेकी?'
पाश्चात्य उदारवादी मूल्यमान्यता बुझेका ठिमाहा क्षणवादीलाई नेपाली समाजको विशिष्टतालाई आफ्नो लेखनमा लोकेट गरिराख्नुपर्ने झन्झट जरुरी हुँदैन। त्यसो त केही जड मार्क्सवादीहरूलाई पनि त्यो टन्टो उठाउनुपर्दैन। तर, पश्चिमा उदारवादी दर्शनले यस्ता सजिला शब्दावलीको डिक्सनरी तयार पारिदिएको छ, जसबाट दक्षिणपन्थीदेखि उग्रवामपन्थीसम्मले शब्द सापटी लिन सक्छन्। त्यहाँ कुल देवता पनि अँटाउछ र अँटाउछ उसैका अघिल्तिर लडिरहेको रित्तो बियरको बोतल। अनि फोहोरको डंगुरमा कतै किचिएको सपनाका लास? के ती पनि अटाउँछन्? ती नअँटाएको सुइँको पाएका दिन नै क्षणवादीलाई घरमा छोरीले त्यस्तो अप्ठ्यारो प्रश्न सोधेकी हुन्। घरभित्रै जब विद्रोहको स्वर हलुका गुन्जिन थाल्छ, तब न हो बाबुले बजारको सहारा लिने। बजारमा छोरीका विद्रोही प्रश्नहरू असान्दर्भिक तुल्याउने शिक्षाका पसलहरू पर्याप्त खुलेका छन्। सिप किन्न पाइने महँगा पसलमा किनबेचको सामान्य समीकरणबाहेक सबै प्रश्नलाई फोहोरका डंगुरमा मिल्काइन्छ। 
तर, बाबुले थाहा नपाउँदै छोरीहरू घण्टाघरको घण्टी सुन्ने यत्नलाई फजुल देख्न थालिसकेका छन्। कुल देवता कन्तबिजोग हुनुको रहस्य पहिल्याउन पनि उनीहरू तम्सँदैछन्। खोइ कताबाट सिकेर हो आजकल क्षणवादी बाबुलाई छोरीहरू आफ्नो ‘एजेन्सी'बारे गफ दिने भइसकेका छन्। घरमा विस्तारै योगमायादेखि बेल हुक्ससम्म धाउन थालिसकेका छन्। एन्टोनियो नेग्रीदेखि एडवार्ड अब्बेसम्म पनि उनीहरूका बुकसेल्फमा आइपुगेका छन्। एक दिन बिहान छोरीको कोठामा अचानक पसेको उसले भित्तामा अचम्मको कोटेसन टाँसिएको देखेछ। 
‘डेमोक्रेसी– रुल बाई पिपल? साउन्डस् लाइक अ फाइन थिङ। वी सुड ट्राइ इट सम्टाइम्स् इन अमेरिका।' –एड्वार्ड अब्बे। 
एक्कासि विस्मयको अँध्यारो उसको मुखमण्डलभरि पोतिन्छ। सो कोटेसनको भावार्थ यस्तो हुन्छ– ‘जनताले शासन गर्ने व्यवस्थालाई लोकतन्त्र भनिन्छ? सुन्दा रमाइलो लाग्यो। यहाँ अमेरिकामा पनि त्यस्तो अभ्यास गरी हेर्नुपर्ला हामीले।' यस्तो देखेपछि उसले छोरीलाई सोधेछ, ‘तिमीलाई सन्चै छ?' छोरीले भनिछन्, ‘सन्चो नभएको त डेमोक्रेसीलाई हो, बाबा।' अब विसन्चो हुने पालो उसको। 
कुलका देवता राम्ररी खुसी नभएर हो वा आफंैले धेरै पुल्पुल्याएर हो, उसले थाहा पाएको छैन। छोरी आजकल मुखमुखै लाग्न थालेकी छ। एक्कासि समाजशास्त्र पढ्ने निधो गरेर पहिलेको कोर्स छोडेपछि उसले छोरी फेरिएकीमा देवतासँग चिन्ता व्यक्त गरेको थियो। सुभानी शील स्वभावका लागि आफन्त र छरछिमेकमा नाम कमाएकी छोरीमाथि गहिरो विश्वास थियो उसको। विश्वासको जग डगमगाउन थालेपछि नै हो ऊ कुल देवताकहाँ पुगेको। छोरीलाई पढाउने सवालमा उसले कुनै कन्जुस्याइँ गरेन। तिनलाई चाहिएका सबै वस्तु र सुविधा जुटाउन उसलाई गाह्रो थिएन। त्यसमा पछि हट्ने कुरै भएन। तर, विषय रोज्ने सवालमा उसलाई छोरीले झुक्याइदिई। विवाह गर्ने बेला के गर्ली? हतासिएर ऊ कुल देवता पुज्न जानुपरेको कारण यो पनि हो। भित्रभित्रै छोरीलाई पढाएकोमा पछुतो मान्न लागेको छ ऊ। भारतको चन्दीगढमा उहिल्यै एमबिए पढ्दा उसले आधुनिक बाबु बन्छु भनी साँचेको सपना गलत पो थियो कि? त्यस बेला उसका साथीले अम्बेडकरका कथा सुनाएर उसलाई आधुनिक बन्न सघाएका थिए। अहिले पनि ऊ बेलाबेला उत्तरआधुनिक बनिसकेको दाबी गर्ने गर्छ। तर, ऊ यस क्षण जात र धर्मको अर्थ बुझ्दैछ। उसका पूर्व आधुनिक बाले घोकाएका मनुस्मृतिको स्लोक सम्भि्कन खोज्दैछ। आइन्दा कुल देवताको विधिपूर्वक पूजा गर्ने अठोटमा पुगेर उसले आफूलाई सम्हालेको छ अहिले।
केही वर्षअघिको कुरा हो। एक साँझ ऊ एउटा रुफटप रेस्टुरेन्टमा मसँग गफिन आइपुग्छ। लेखक पनि भएकाले उसलाई मसँग गफ गर्न मजा लाग्छ। मेरा बाभन्दा धेरै कान्छो होइन यो मान्छे। तर, जब म उसका अघिल्तिर पर्छु, उसको लवाइ देखेर आफ्नो उमेर ह्वात्तै बढेको महसुस हुन्छ। जसै कुराकानी हुन थाल्छ, एक्कासि तमासको बूढो मानिसजस्तो लाग्छ ऊ। धेरैजसो त म चुपै रहन्छु। ऊसँग बहस गर्ने उति ठाउँ हुँदैन। उसका फुटकर मान्यता बदलिइरहन्छन्। तर, उसका केही स्थायी मान्यता छन्, जहाँबाट ऊ कतै हल्लिन मान्दैन। कुनै तर्क नछिर्ने गैंडाको छालाले पोको पारेर राखेका त्यस्ता मान्यता यथास्थितिवादका द्योतक हुन्। आजको साँझ उसलाई सन्काउने मुडमा छु म।
म सोध्छु, ‘दाइ, त्यो घण्टाघरको घण्टी तिम्रो घरमा सुनिन छोडेकोमा किन यति साह्रो रिसिइन्छौ?'
अनुहारमा रिसका रेसा उमार्दै ऊ भन्छ, ‘त्यो मेरो लागि देवताको बोलीजस्तो थियो। साला यो सहरमा मान्छे बढी भएर केही सुन्न दिँदैनन। यति हल्ला गर्छन्, कति बज्यो भनेर आफ्नै नाडीको घडी हेर्नुपर्छ जसको मलाई विश्वासै लाग्दैन।'
म फिस्स हाँस्छु र फेरि सोध्छु, ‘किन यति विघ्न मानिस आएर तिम्रो सहरलाई यस्तो बर्बाद बनाएको होला, दाइ?'
ऊ अझ कड्किन्छ, ‘आउन त मेरो बाउ पनि बाहिरबाट आएको हो भाइ। तर, अहिले त हामीजस्तो मान्छे आउनै छोडेको छ। हामी त यो घण्टीको आवाजलाई देवताको बोली मान्ने मान्छेहरू हौं।'
उसका कुरामा चाख बढ्दै जान्छ, ‘अहिले आएको मान्छे कस्ता खाले छन्? किन नमानेका होलान् तिनले त्यो घण्टाघरको घण्टीलाई देवताको बोलीजस्तो?'
निधारमा टिलपिलाएका पसिनाका दाना रुमालले पुछ्दै ऊ भन्छ, ‘ए भाइ, कस्तो नबुझेको, साला अहिले आएको मान्छेले को स्वदेशी, को विदेशी चिनिँदैन। कुन भाषा हाम्रो, कुन अर्काको त्यो तिनले चिन्दैनन्। हाम्रो भेषभूषा चिन्दैनन्। हाम्रा देवता चिन्दैनन्। यी सब परचक्री हुन् भाइ। अलिअलि गर्दै टुक्र्याउँदै विदेशीलाई बेच्न खोज्दैछन् सब। यो तिनीहरूकै हल्ला हो। यिनीहरूले सब बिटुल्याए।'
उसको ब्लड प्रेसर धेरै बढ्दा समस्या होला भनेर एकछिन सजग हुन्छु। टेबलमा राखेका गाँजरका टुक्रा चबाउन थाल्छु। उसको रित्तो ग्लासमा एउटा लार्ज पेग थप्न लगाउँछु। केही सामान्य कुरा गर्छु। ऊ एकोहोरिएको छ। केह छिनपछि म फेरि उसलाई जिस्क्याउने मुडमा पुग्छु।
अन्तिम अस्त्र प्रहार गर्ने सुरमा म बोल्छु, ‘दाइ, तिम्री छोरीलाई पनि यिनीहरूले नै बिगारेको हो?'
अब उसको रिसको सीमा रहेन। हातमा बोकेको काँचको ग्लास भुइँमा फाल्यो र लगभग कराएको आवाजमा बोल्यो, ‘भाइ, तिमीले के भन्न खोज्दैछौ, मलाई थाहा छ। म पनि उहिल्यै एमबिए गरेको मान्छे हो। आइ एम अ गड् ड्याम सक्सेसफुल अन्टरप्रेनर एन्ड आइ अन्डरस्ट्यान्ड पोलिटिक्स। मेरो छोरीको कुरा किन गर्छौ? यहाँ अब सबका छोराछोरी बिग्रिन्छन्। यो देश बर्बाद हुन्छ।' यति भनेर ऊ फटाफट तल ओर्लिन्छ। काँचका तीखा चोइटा भुइँमा असरल्ल पारेर हिँडेको छ ऊ।
त्यस बेला मुलुकमा संविधानसभाको चुनाव भइसकेको थियो। पहिलो संविधानसभा बैठक बस्दैगर्दा मुलुकभरि अनेक रङरूपका मानिस जागेर यो मुलुक हाम्रो पनि हो भन्ने दाबी गर्दै थिए। लोकतन्त्र कसैको खोपीको देवता होइन भनेर कोही चुनौतीको भाषा बोल्दै थिए। कोही आफ्नो अग्राधिकार खोज्दै थिए। कोही आत्मनिर्णय भन्दै थिए। यहाँ चल्ने खाइस्योस् र गरिस्योस्भन्दा फरक भाषा बोल्ने, फरक कपडा लगाउने मानिस ह्वारह्वार्ती सहर पस्दै थिए। सहर पहिल्यै हल्लाग्रस्त थियो। राजनीतिक परिवर्तनपछि कोलाहल थपिएको मात्र हो। घण्टाघरको घण्टी पहिले पनि त्यति सुनिन्थेन, अहिले आएर विलुप्तजस्तै भएको छ। कुल देवताहरू पहिलेदेखि नै ओझेल पर्न थालेका थिए। तर, अझै पछि पर्लान् भनेर तिनको खोजी तीव्र भएको हो।
कालान्तरमा संविधानसभा भंग भयो। अर्को संविधानसभाको गठनका लागि दोस्रोपटक चुनाव भयो। सहरमा कोलाहल कम भएको छैन। कुल देवताहरू धकेलिने क्रम पनि रोकिएको छैन। यसैबीच मेरो मोटरवाला पात्रकी छोरी नारीवादीहरूको एउटा नयाँ समूहमा आबद्ध भएकी छ। ऊ आजकल मुलघरबाट छुट्टिएर बस्न थालेकी छ। बाबुछोरीको सम्बन्ध पहिलेजस्तो न्यानो हुने कुरै भएन। बाबुचाहिँले फेरि नयाँ मोडलको मोटर किनेको छ। ऊ नयाँ शक्तिको आह्वान हुने दिनको व्यग्र पर्खाइमा घण्टाघर र कुल देवताका बीच त्यही मोटरमा कुदिबस्छ। दुःखी छ बिचरा।

प्रकाशित: २ जेष्ठ २०७१ २०:५१ शुक्रबार