अन्य

‘ओफा'को मनोनयन सार्वजनिक

काठमाडौं– बाल कलाकार अनुभव रेग्मीले पाका अभिनेताहरु सौगात मल्ल, दयाहाङ राई, जीवन लुइँटेल र आर्यन सिग्देललाई कडा टक्कर दिने भएका छन्। अनलाइन फिल्मी खबर अवार्ड (ओफा)को मंगलबार सार्वजनिक मनोनयनमा उत्कृष्ट पाँचमा अहिलेका जल्दाबल्दा अभिनेतासँगै अटाएपछि अवार्डमा उनको उपस्थितिले चुनौति दिने भएको हो।फिल्मीखबर डटकमको आयोजनामा दोस्रोपटक हुन लागेको अवार्डमा बाँकी १६ विधाका मनोनयन पनि सार्वजनिक गरियो। २०७० सालभरि बनेका फिल्मलाई लोकप्रियताका आधारमा बाँडिने अवार्डमा अभिनेत्रीतर्फ रेखा थापा, गरिमा पन्त, प्रियंका कार्की, केकी अधिकारी र नम्रता श्रेष्ठ अन्तिम पाँचमा अटाएका छन्।
फिल्मीखबर डटकमको छैटौं वार्षिकोत्सवमा जेठ २६ मा वितरण हुने अवार्डमा उत्कृष्ट पाँच फिल्मको सूचीमा भने ‘काली', ‘६ एकान ६', ‘होस्टल', ‘झोला' र ‘नाइँ नभन्नू ल २' अटाएका छन्। विकास आचार्य, नवल नेपाल, दिनेश डिसी, सुरज सुब्बा नाल्बो र सविर श्रेष्ठ उत्कृष्ट पाँच निर्देशकको विधामा अटाएका नाम हुन्।
अवार्ड आयोजक सुमन गैरेले फिल्मले गरेको व्यापार, कथा र प्रस्तुति आदिका आधारमा उत्कृष्ट पाँचको नाम छनोट गरेको जानकारी गराए। 
‘फिल्मले वर्षभरि गरेको व्यापार, फिल्मको विषय, प्रस्तुति र निरन्तरता आदिलाई आधार मानेर उत्कृष्ट पाँचको नाम टुंगो गरिएको हो,' गैरेले भने। 
उत्कृष्ट पाँचमध्ये एकको छनोटका लागि एसएमएस तथा अनलाइन भोटिङलाई पनि आधार मानिने गैरेले जानकारी गराए। अवार्ड नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वितरण गरिनेछ।

प्रकाशित: ३० वैशाख २०७१ २३:५० मंगलबार