अन्य

प्रेरणा ‘गाइड'

विभिन्न समयमा लेखिएका, छापिएका सफल ठानिएका मान्छेको सफलताका कथाको संग्रह हो ‘गो अ हेड'। यो पुस्तकको समाजिक महत्व बढी छ। यो शब्दमा भन्दा सन्देशमा बढी केन्द्रित छ। यसको विशेषता नै यही हो।पुस्तकको लेखकीयमा लेखक ढकालले समाजमा सफलता दुर्बल हुँदै गएको बेला सफलताकै जो स्तम्भ चलाए, त्यो नमुनालायक थियो। उनले प्रेरणामुखी पत्रकारिताको निरन्तर अभ्यास गरे। र, अन्ततः त्यसैलाई संकलन गरेर पुस्तक प्रकाशित गरे। यसमा पत्रकारिताको स्वाद छ। र, साहित्यको पनि। पत्रकारिता र साहित्य मिसिएर जन्मिएको यो पुस्तकमा मान्छेलाई आशा रोप्ने प्रयास छ। त्यसैले यो पुस्तक प्रेरणाको सामान्य तर सुन्दर दस्तावेज बन्न पुगेको छ।
पत्रकारिता हतारको साहित्य हो। त्यसैले उनले हतारमै लेखे। हतारमै प्रकाशित गरे, पत्रिकामा। तर, पुस्तकमा आइपुग्दा उनका लेख फेरि एकपटक ‘अपडेट' भएका छन्। पुस्तकको यो राम्रो पक्ष हो। त्यसैले विभिन्न क्षेत्रका विभिन्न मान्छेको सफलताको पछिल्लो प्रतिवेदन हो झैं पनि लाग्न सक्छ। यसले पुस्तकलाई थप ताजा र पूर्ण बनाएको छ। पत्रकारिता र पुस्तक प्रेमको अभिव्यक्तिमात्र होइन, यो पुस्तक। लेखकले थुप्रै सफल मान्छे भेटेको प्रमाण हो र त्यसलाई अझ संगठित र पछिसम्म टिकाउ हुने किसिमले बचाइराख्न यो पुस्तक प्रकाशित भएको देखिन्छ। भाषाभन्दा भाव यो पुस्तकको सबल पक्ष हो।
पुस्तकमा झन्डै तीन दर्जन क्षेत्रका पात्र समावेश छन्। साहित्यदेखि समाजसेवासम्म। चिकित्सादेखि संंगीतसम्म। पर्यटनदेखि विज्ञानसम्म। अध्यात्मदेखि प्रविधिसम्म। यी र यस्ता थुप्रै क्षेत्रका मान्छे कसरी उक्लदै आए, आ–आफ्नो क्षेत्रको शिखरतर्फ? उनीहरूसँगै सोझै संवाद गरेजस्तो अनुभूति दिलाउन सक्नु पुस्तकको लोभलाग्दो पक्ष हो। पुस्तक त्यस अर्थमा संप्रेषणीय छ।
पुस्तकमा त्यस्ता अनौठा पात्र त छैनन् तर आ–आफ्ना क्षेत्रमा विशिष्टता हासिल गरेका धेरै मान्छेलाई एउटै थलोमा भेट्न पाउने जो अवसर पुस्तकले जुटाइदिएको छ, त्यसले पुस्तकलाई झन्झटिलो हुनबाट जोगाएको मात्र छैन, रमाइलो वातावरण जुटाइदिएको छ। राष्ट्रकवि माधव घिमिरेलाई नभेटेको केही समय भएको थियो। पुस्तकमार्फत उनैकहाँ पुगेजस्तो लाग्यो। चलचित्र जगतका सदावहार अभिनेता भुवन केसीसँग पनि भेट भयो। फूलको आँखामा फूलै संसार गाउने आनी छोइङको गीत त पटकपटक सुनिएकै हो, उनीसँग पनि भेट भयो। बी एन्ड बी अस्पतालमा त पटकपटक गइएकै हो। तर, सो अस्पतालका डा. अशोक बास्कोटासँग पनि भेट भयो। शिक्षामार्फत सक्रिय उत्तम सञ्जेलसँग बरोबर भेट हुन्थ्यो। पुस्तकमार्फत अझ बढी थाहा भयो।
जनप्रिय कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठमात्र होइन, उपल्लो स्तरका धनी भनेर चिनिएका उपेन्द्र महतोसम्म पुस्तक फैलिएको छ। पुस्तकमार्फत भाषाको क्षेत्रमा लगातार क्रियाशील कमलमणि दीक्षित र मदन पुरस्कार गुठी पुगियो। संस्कृतिविद् सत्यमोहन जोशीको पाटनस्थित उनको घर नै पुगियो। अंगुरबाबा जोशीदेखि अरू थुपै्र पात्र भेटियो। कर्ण शाक्यलाई फेरि एकपटक पढियो। अरू पनि थुप्रैलाई अक्षरमार्फत भेटियो। पूर्व सेना प्रमुख रुकमांगत कटवालमात्र होइन, पूर्व प्रहरी प्रमुख धु्रवबहादुर प्रधान, फुटबलका गणेश थापा र अरू यस्तै नामहरूसँग राम्रो चिनजान भयो। यी सबसँगको केही घन्टे चिनजानपछि एउटै कुरा मनमा आयो, समानता के छ भने यी सबैबाट एउटै कुरा लिन सकिन्छ। त्यो हो प्रेरणा। सतत् प्रेरणा लिन सक्ने मैदान हो यो पुस्तक, जहाँ क्षेत्रगत विविधतामात्र छैन, प्रत्येक पात्रको आ–आफ्नै खालको मिठो कथा पनि छ, संघर्ष, आत्मविश्वास र सफलताको सुत्रले भरिपूर्र्ण।
लेखकले पुस्तकमार्फत पचपन्न सफल नेपालीको कथा त भनेका छन् नै, उनीहरूको कथा भनिरहँदा आफैंलाई पनि ठाउँठाउँमा व्यक्त गरेका छन्। देशको सामाजिक, राजनीतिक, आर्थिक अवस्थाबारे पनि प्रत्येक आलेखमा केही न केही उल्लेख गरेका छन्। आम जीवन र निराशाको परिवेशलाई पृष्ठभूमि बनाउँदै उज्यालोतिरको यात्राका लागि पुस्तकका प्रत्येक ‘च्याप्टर'ले जोड दिएको छ। तर, यहाँनेर भन्नैपर्ने हुन्छ, सफलता भनेको के हो? पुस्तकमा समेटिएका अधिकांश पात्रको आर्थिक स्थिति सबल देखिन्छ। यो संयोगमात्र पनि हुन सक्छ। पुस्तक पढिसक्दा झट्ट यो लाग्न सक्छ कि सफलताको पहिलो मापदण्ड आर्थिक आयतन नै हो। कतिपयलाई सफलताको त्यो नै आधारभूत र एकमात्र मापदण्ड लाग्ला। तर, सत्य त्यतिमात्र होइन। आर्थिक कठिनाइ भोग्नु र असफल सिद्ध हुनु एउटै लागे पनि त्यो फरक हो।
सिक्नेहरूका लागि यो पुस्तकले नेपाली माटोमै मज्जाले केही गर्न सकिन्छ भन्ने सिकाउँछ। किनकि यो ५५ जना सबैले आफनो पेसा वा व्यवसाय बपौतिमा ल्याएका होइन रहेछन्। उनीहरूले पनि संघर्ष गरेर अगाडि बढे र सफल भए। सिकांै जानांै भन्ने जिज्ञासुुका लागि पढ्नैपर्ने पुस्तक हो यो।

प्रकाशित: २६ वैशाख २०७१ २२:१६ शुक्रबार