अन्य

दार्जिलिङे कविको व्यस्त सेड्युल!

काठमाडौं-दार्जिलिङको पछिल्लो पुस्ताका पाँच कवि काठमाडौंमा पाँच दिन बसे। पाँचै दिन भ्याइनभ्याइ भयो उनीहरुलाई। क्याफे कविता र याम्बुरी बुक प्वाइन्टको निम्तोमा काठमाडौं टेक्ने यी नेपालीभाषी भारतीय कवि हुन्, मनोज बोगटी, निमा शेर्पा, लेखनाथ क्षेत्री, प्रदीप लोहागुण र विनोद प्रधान।बिहीबार काठमाडौं आइपुगेका उनीहरुलाई विमला तुम्खेवा, स्वप्निल स्मृति, विप्लव ढकाल, चन्द्रवीर तुम्वापोलगायत कविले स्वागत गरे। शुक्रबार बिहानदेखि उनीहरुको व्यस्तता सुरु भयो। वैरागी काइँलादेखि नयाँ पुस्ताका कविसमेतको एकमुष्ट स्वागत खाए उनीहरुले। 
काठमाडौं आएको मौकामा पहिले ‘कबड्डी' सिनेमा हेर्न जयनेपाल हल गए। त्यसपछि पत्रकारहरुसँग अन्तर्वार्ता भयो। त्यसपछि मण्डला थिएटरमा हेर्न गए सुनिल पोखरेलको ‘रशोमन' नाटक। नेपाली सिनेमा र रंगमञ्चमा आइरहेको परिवर्तन देखेर चकित थिए उनीहरु।
‘मजा त त्यति बेला लाग्यो, जब हामीले आदरणीय कवि उपेन्द्र सुब्बालाई कबड्डी सिनेमामा अभिनय गरिरहेको भेट्यौं,' प्रतिष्ठित साहित्य अकादमी युवा पुरस्कार विजेता मनोज बोगटीले नागरिकसँग भने, ‘काठमाडौंको सिर्जनात्मक माहोल देखेर छक्कै परियो।'
शनिबार दिउँसो १२ बजे क्याफे कविताले तीनकुनेस्थित होटल हेभनमा गरेको भारत र नेपालका कविहरुको कविता वाचन शृंखला यी पाँच कविहरुका बिल्कुलै फरक शैली र प्रस्तुतिका कारण जम्यो। क्याफे कविताका जनक पौडेलले भने, ‘क्याफे कविताको आजसम्मका शृंखलामध्ये यति रोचकता र उपस्थिति कहिल्यै थिएन।'
उक्त कार्यक्रम सकिनेबित्तिकै उनीहरुलाई सातदोबाटो लगियो। अलग अभियान नामक सिर्जनात्मक समूहले उनीहरुलाई स्वागत गर्दै कविता वाचन कार्यक्रम आयोजना गर्‍यो। लोकगायक जितेन राई, मण्डल साङपाङजस्ता कलाकारले विशेष स्वागत गर्दै सिर्जना प्रस्तुत गरे। 
दार्जिलिङ र काठमाडौं दुवैतिर बसेर सिर्जना गरेका वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथ्यमा आइतबार याम्बुरी बुक प्वाइन्टले दार्जिलिङे कविको स्वागत गर्‍यो। याम्बुरीका प्रमुख कार्यकारी कुयाङ लामाले उताका पाँच र यताका १० कविलाई ‘काव्य संवाद' गराउने चाँजो मिलाए। कार्यक्रममा निमा शेर्पाले वैरागी काँइलादेखि आजको पूस्ताका कविहरुले आफूहरुलाई स्वागत गर्दा खुसी र असजिलो दुवै लागेको सुनाए। 
कार्यक्रममा श्रवण मुकारुङ, विक्रम सुब्बा, राजन मुकारुङ, भूपाल राई, आभास, उपेन्द्र सुब्बा, झुमा लिम्बु, पारस मुकारुङलगायत कवि तथा कलाकारको उपस्थिति थियो। वैरागी काइँलाले नयाँ पुस्ताका दार्जिलिङे कविहरुले नेपाली कविताको स्वरलाई नयाँपन दिएको भन्दै खुसी व्यक्त गरे। ‘लेखनसँगै प्रस्तुतिमा पनि नवीनता देख्न पाएँ, साह्रै खुसी लागेको छ,' उनले भने, ‘अब पुस्तक प्रकाशन र आदानप्रदानको व्यवस्था मिलाउनुपर्छ। केही काम त भएको छ, बाँकी काम सरकारी निकायले छिटै गरुन् भन्ने इच्छा छ।'
याम्बुरीका कुयाङ लामाले प्रदीप लोहागुण र निमा शेर्पाका एक–एक कविता संग्रहलाई आफ्नो प्रकाशन गृहबाट छपाउने सम्झौता भएको खुलाए। ‘क्रमशः अरु लेखक कविका कृति पनि नेपाली पाठककहाँ पुर्‍याउन पाउँ भन्ने इच्छा छ,' उनले भने। लेखक राजन मुकारुङले नेपालभित्रका लेखक र उताका लेखकबीच बितेका दुई दशक संवाद हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। सोमबार दिउँसो यी कविहरु काठमाडौं बस्दै आएका लेखक–कलाकारसँग संवादमा व्यस्त रहे। मंगलबार गुरुकुलले उनीहरुलाई विराटनगर लग्दैछ, जहाँ पाँचै कविहरुले आफ्ना सिर्जना सुनाउनेछन्। त्यसपछि फर्कनेछन्। ‘ठूलै सेलिब्रिटीले पाउने शानमान काठमाडौंमा पाइयो,' मनोज बोगटी भन्छन्, ‘पहिले पनि तीन पटक काठमाडौं आएको थिएँ, तर यसपालि त भ्यानभ्याइ नै भयो। लेखकका लागि यो ठूलो कुरा हो।'
कवि विनोद प्रधान वैरागी काइँलादेखि नयाँ पुस्तासँग संवाद गर्न पाएकामा दंग थिए। उस्तै अनुभूति थियो, निमा शेर्पा र लेखनाथ क्षेत्रीको पनि। ‘यहाँ पुस्तान्तरको कुनै अनुभूति रहेनछ,' बोगटी भन्छन्, ‘दार्जिलिङले यसबाट सिक्नुपर्छ। हामी यो सन्देश उताका लेखक कविहरुमा पुर्‍याउनेछौं।'

प्रकाशित: २३ वैशाख २०७१ ००:०९ मंगलबार