अन्य

विमल अर्थात् आशाको फिलिङ्गो

राष्ट्रिय क्रिकेट टोलीले ट्वान्टी–२० विश्वकप खेलेर दिएको उत्साह ताजै रहँदा युवा फुटबलर विमल घर्तीमगरले नेदरल्यान्ड्समा बेल्जियन टोली एन्डरलेकका लागि सनसनीपूर्ण प्रदर्शन गरेर नेपाली खेलकुदको आशा जगाएका छन्।

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमलले उमेर समूहमा बेग्लै महत्त्व बोकेको फ्युचर कपमा टर्किस टोली फेनेरबाचविरुद्ध २–० को विजय हासिल गर्दै एन्डरलेकलाई सेमिफाइनल पुर्‍याउन महत्त्वपूर्ण योगदान गरे। आइतवार एम्सटर्डममा सम्पन्न खेलमा विमलले एन्डरलेकका लागि पहिलो गोल गर्नुका साथै अर्को गोलको लागि पास मिलाए।
युरोपियन च्याम्पियन्स लिगको टोली एन्डरलेकले फ्युचर कपका तीन खेलमा विमललाई मैदान उतारेको थियो। इटालियन महारथी एसी मिलानविरुद्धको खेलमा ११ मिनेट मैदानमा बिताएका विमलले फेनेरबाचलाई हराउँदा पहिलो रोजाइमा मैदानमा उत्रिएर पूरा ६० मिनेट खेले। आयोजक नेदरल्यान्ड्सको अयाक्सविरुद्धको सेमिफाइनलमा उनलाई पाँच मिनेट मैदान उतारिएको थियो।
फ्युचर कप नेदरल्यान्ड्सको एफसी अयाक्सको आयोजनामा युरोपका शीर्ष क्लबका युवा टोली सहभागी हुने वार्षिक प्रतियोगिता हो। प्रतियोगितामा अयाक्ससँगै इटालीको एसी मिलान, इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड र लिभरपुल, पोर्चुगलको बेन्पि्कका, स्कटल्यान्डको सेल्टिकलगायत च्याम्पियन्स लिग तथा युरोपा लिग खेल्ने युरोपका शीर्ष १० क्लब सहभागी हुन्छन्।
विमल ट्रायलका लागि दोस्रो पटक युरोपमा छन्। छ महिनाअघि नेदरल्यान्ड्सको एफसी ट्वान्टीमा दुई हप्ते ट्रायल दिएर फर्केका उनी गत महिना एन्डरलेकमा ट्रायल तथा विशेष प्रशिक्षणका लागि गएका हुन्। बितेको वर्ष काठमाडौँमा सम्पन्न यू–१६ साफ च्याम्पियनसिप तथा आठौँ साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा बंगलादेशी राष्ट्रिय टोलीका सहायक प्रशिक्षक डच नागरिक रेना कोस्टाले विमललाई युरोपमा ट्रायलको व्यवस्था मिलाएका थिए।
कोस्टाले यू–१६ का कप्तान विमलको स्कोर गर्ने असाधारण खुबीबाट आफू प्रभावित भएको बताएका थिए। उनकै भनसुनमा विमलले पाएको पछिल्लो मौका नेपाली फुटबलकै लागि प्रेरणादायी हुन सक्नेछ।
युरोपका सबै शीर्ष क्लबले भविष्यका लागि व्यावसायिक टोली तयार गर्न फ्युचर कपलाई प्रतिभा खोज्ने थलोका रूपमा उपयोग गर्ने गरेका छन्। त्यसैले यो प्रतियोगितामा विमलको प्रदर्शनबाट नेपाली फुटबल उत्साहित हुन सक्ने थुप्रै कारण छन्। विमलको प्रदर्शनबाट प्रेरित भएर युरोपका कुनै क्लबले उनलाई एकेडेमीमै अनुबन्ध गरे पनि त्यो नेपालका लागि ठूलो उपलब्धि हुनेछ। किनकि, कुनै समय इंल्यान्डको चौथो श्रेणीको क्लब बारीबाट दुई सिजन खेलेको भरमा भाइचुङ भुटियाले दशकभन्दा लामो समय दक्षिण एसियाली फुटबलमा राज गरे। उनकै प्रेरणामा भारतले एसियन कपसम्मको यात्रा तय गर्‍यो। भाइचुङले भारतलाई जस्तै विमलले नेपालको फुटबललाई अर्को उचाइमा पुर्‍याउन सक्छन्।
विमलको सफलतासँग जोडिएको अर्को पक्ष नेपाली युवाको क्षमता अन्तर्राष्ट्रिय जगतमा प्रमाणित हुनु हो। 'विमलले साँच्चै युरोपका क्लबलाई प्रभावित गरेर अनुबन्ध पाए अरू थुप्रै नेपाली खेलाडीका लागि त्यसले नयाँ अवसर सिर्जना गर्न सक्छ,' फुटबलविज्ञ सञ्जीव मिश्र भन्छन्, 'दक्षिण एसियाली स्तरमा एउटा खेलाडीमात्र विश्वस्तरीय भयो भने दशकौँसम्म एकछत्र राज गर्न सकिन्छ। अलि अस्फाकको प्रेरणामा माल्दिभ्सले गरेको प्रगति र भाइचुङको प्रदर्शनमा भारतले हासिल गरेको सफलताबाट यो प्रमाणित भइसकेको छ।'
मिश्रको विचारमा क्रिकेटले विश्वकप खेल्नु र विमलले विश्व फुटबलकै उर्वर भूमि युरोपमा उच्च प्रदर्शन गर्नुजस्ता अभूतपूर्व उपलब्धिले नेपाली खेलकुद अघि बढ्दै गरेको संकेत गर्छ। 'टिम खेलमा नेपालले सक्दैन भन्ने तर्कलाई क्रिकेटले झुटो साबित गरिसकेको छ। विश्वकपमा छानिएरमात्र नभई त्यहाँ उच्च प्रदर्शन गरेर नेपाली टोलीले आफूलाई प्रमाणित गर्‍यो,' मिश्रले आशा गरे, 'फुटबलमा पनि रोहित चन्दले इन्डोनेसियाको पर्सिया जकार्ताबाट राम्रो फुटबल खेलिरहेका छन्। विमलले एन्डरलेक वा युरोपको अन्य कुनै क्लबमा मौका पाए हामी कम्तीमा दक्षिण एसियाको निर्विवाद महारथी बन्न सक्छौँ। त्यो एसियाली स्तरमा चुनौती दिनका लागि पनि आधार बन्न सक्छ।'
नेपाली खेलकुदको चर्चा गर्दा नछुटिकन आउने केही अभिन्न पक्ष छन्। भौतिक पूर्वाधारको अभाव, कमजोर व्यवस्थापन, न्यून लगानी, शून्य दीर्घकालीन योजना, राजनीतिक हानथाप, नेतृत्वमा अस्थिरता नेपाली खेलकुदसँग सधैँजोडिएर आउने विषय हुन्। पछिल्लो समय पनि खेलकुदको यो नियति बदलिएको छैन। बरु थप दयनीय अवस्थामा पुगेको थियो। तर, लामो खडेरीमा पनि जीवन धान्न सकेको बिरुवाझैँ खेलकुद नेपालमा जीवित र चलायमान छ। बेलाबखत सम्पूर्ण देशवासीलाई खुसीको उपहार दिनसमेत सफल भइरहेको छ। त्यसैले खडेरीमा ओइलाए पनि प्राण धानेको बिरुवाले पानी पाएपछि झांगिएर फस्टाएझैँनेपाली खेलकुदबाट आशा गर्ने पर्याप्त आधार छन्।
खेलकुदमा दीर्घरोगझैँ मौलाएका शक्ति संघर्ष, राजनीतिक द्वन्द्वलगायत समस्याको उपचार खोज्दै नेतृत्वले भौतिक पूर्वाधार विकासका साथै ग्रासरुट कार्यक्रम तथा अन्य विकासे कार्यक्रम ल्याउने हो भने अरू खेलमा पनि पारस खड्काको जस्तै टोली पाउन सकिएला। अनि, धेरै विमल घर्तीमगरहरूको जन्म हुने विश्वास गर्न सकिन्छ। नेपाली खेलकुद अघि बढ्दै छ भन्ने सन्देश क्रिकेट टोली र फुटबलका विमलको सफलताले दिइसकेको छ। यो सन्देशलाई सकारात्मक रूपमा ग्रहण गरेर सम्भावनाको मौका उपयोग गर्ने जिम्मा खेल प्रशासनको हो।

प्रकाशित: २० वैशाख २०७१ ११:४५ शनिबार