अन्य

'भगवानले चाहिनेभन्दा बढी 'तथास्तु' दिए'

अंशु महर्जनले केही फिल्म र मह जोडीले निर्माण गरेका टेलिफिल्ममा अभिनय गरेकी छिन्। आफैँले स्क्रिप्ट लेखेर 'लगन जुर्लाजस्तो छ' टेलिसिरियलको निर्देशन पनि गरिन्। तर, महर्जनलाई धेरै दर्शकले 'जिरे खुर्सानी'की 'हात्ती'का रूपमा चिन्छन्। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः
'हात्ती' बन्न कत्तिको संघर्ष गर्नुपर्‍यो?
म भाग्यमानी हुँजस्तो लाग्छ। त्यति धेरै संघर्ष गर्नुपरेन। धेरैले १५ वर्ष लगाएर प्राप्त गर्ने उचाइ मैले पाँच वर्षमै हासिल गरेँ। मेरो आवाज मन पराएर रेडियो नेपालबाट आउने हास्यव्यंग्य कार्यक्रम 'दिन प्रतिदिन'मा गोविन्दसिंह राउत दाइले बोल्न आग्रह गर्नुभयो। त्यहीँ जितु नेपालसँग भेट भयो। चियागफमा जितुले 'एउटा सिरियल सुरु गर्दै छु, काम गर्नुपर्छ' भने। मैले चाँडै सुरु गरिहाल्दैनन् भनेर 'हुन्छ' भनिदिएँ। उहाँले सुरु गरेपछि भने काम गर्न कर लाग्यो।
तपाईंले निर्वाह गर्ने चरित्रको नाम हात्ती कसले जुराइदियो?
म आफैँले। फुर्सदमा गफिँदा घरमा त मलाई सेतो हात्ती भनेर हैरान गर्छन् भनेकी थिएँ। त्यसपछि सिरियलमा पनि हात्ती भनेर बोलाउँदा फरक पर्दैन नि भनेर कुरा भयो। मलाई माया गरेर त्यसरी बोलाएको बानी परिसकेको थियो। त्यसैले भइहाल्छ नि भनिदिएँ। त्यही नामले नागरिकतामा लेखिएको /बुवाआमाले राखिदिएको नाम विस्थापित गरेर हात्तीका रूपमा स्थापित गराइदियो।
कलाकार बन्ने रहर पहिलेदेखि नै थियो?
अलि पहिले 'सजाय' भन्ने फिल्ममा नेगेटिभ रोल गरेकी थिएँ। मलाई त्यतिबेलैदेखि कलाकारितादेखि दिक्क लागेको थियो। ठ्याक्कै उल्टो भयो, समयक्रममा कलाकारिता नै गर्नुपर्‍यो।
बन्न मन चाहिँ के लागेको थियो?
बुवा नेपाल प्रहरीमा हुनुहुन्थ्यो। सबै छोरीका लागि बुवा आदर्श पुरुष हुन्छन्। मलाई पनि बुवाकै पथ पछ्याउने ठूलो रहर थियो। मैले प्रहरीमा भर्ती हुन फर्म पनि भरेँ, बुझाउने बेला बुवालाई सोधेँ। उहाँले 'सबै कुरा पूरा गरिदिन्छु, प्रहरी नबन्' भन्नुभयो। उहाँकी एक्ली सन्तान भएकाले पनि मलाई माया गरेर त्यतातिर दुःख गर्न दिनुभएन। सुरक्षाकर्मीको युनिफर्मप्रतिको आकर्षण भने पछिसम्म रहिरह्यो।
सानै उमेरदेखि 'हट्टाकट्टा' हुनुहुन्थ्यो?
कहाँ हुनु? मसँगैका साथीहरूको छालापछि मासु आउँथ्यो अनि मात्रै हड्डी। मेरो भने छालापछि डाइरेक्ट हड्डी! साथीहरूसँग जिस्किन्थेँ, मेरो छालाभित्र मासु कहिले आउला भनेर। आमाले 'कस्ती दुब्ली, खाने बेलाँ बाहिर निकालेजस्तो! हाम्रो इज्जतका लागि पनि अलकति मोटो बन्' भन्नुहुन्थ्यो।
त्यतिबेला मोटाउनका लागि संघर्ष गर्नुपर्यो होला!
मोटाउनका लागि मेरोजति संघर्ष कसले गर्‍यो होला र? दूध मनै पर्दैनथ्यो, मोटाउनकै लागि खान थालेँ। घिउ कति खाइयो, कति। सिजनमा आलु पनि राम्रै खाइयो। बुवासँग छिनछिनमै चकलेट किनिमाग्थेँ। भगवानसँग प्रार्थना पनि गरेँ। तर, त्यतिबेला जिउमा मासु नै लागेन। अरूले भगवानसँग मागेजति पाउँदैनन् तर मलाई चाहिँ मागेभन्दा बढी 'तथास्तु' गरिदिनुभएछ!
मोटाउन चाहिँ कहिलेदेखि थाल्नुभयो?
मोटोपन हाम्रो वंशानुगत विशेषता होइन। बुवा ६९ वर्षको पुग्नुभयो तर ४५ को जस्तो देखिनुहुन्छ। तर, मावलीपट्टि चाहिँ अलिकति हृष्टपुष्ट हुनुहुन्छ। त्यस्तै २२ वर्षको उमेरदेखि हो। हर्माेनमा गडबड भयो। सानोमा बुवापट्टि थिएँ, हुर्केपछि आमापट्टिकी भएँ।
दुब्ली देखेका साथीहरूले मोटाएपछि मात्रै भेट्दा चिन्थेनन् होला?
हो नि। एकपटक स्कुलमा सँगै पढेको साथी बेलायतबाट फर्किंदै रहेछ। संयोगले एयरपोर्टमा भेट भयो। हेराहेर भयो, मलाई पनि चिनेको जस्तो लाग्यो। उसलाई पनि त्यस्तै भएछ। तर, बोल्ने आँट गरिनँ। त्यहीँ एउटा मभन्दा मोटी विदेशी थिइन्। सँगै रहेकी बहिनीले 'दिदी ऊसँग उभी त म फोटो खिचिदिन्छु, तँ स्लिम देखिन्छेस्' भनी। म मज्जैले हाँसेँ। त्यसपछि ऊ फनक्क फर्केर 'अंशु होइन' भन्दै आयो।
मोटी हुनुका असुविधा के–के बेहोरियो?
पहिले–पहिले त लुगाकै समस्या हुन्थ्यो। मन परेको लुगा फिट हुँदैनथ्यो। त्यहाँ पाँच हजार पर्ने लुगा बुटिकमा बनाउँदा १० हजार तिर्नुपर्थ्याे। रेडिमेड लुगा नपाएपछि मनमनै भन्थेँ, डिजाइनरका श्रीमती मोटा होऊन्। आफ्नी श्रीमतीलाई राम्री देखाउनका लागि पनि मोटाहरूका लागि पहिरन डिजाइन गर्थे नि। त्यसपछि जति राम्रो लुगा बनाए पनि राम्रै नलाग्ने। धेरै मान्छे जम्मा भएका ठाउँमा उस्तै हुन खोज्यो, त्यही लुगाले मलाई भने फरक देखाउने जस्ता असुविधा खेपियो।
सुविधा पनि महसुस गर्न पाइएका छन् कि?
सानै उमेरमा 'सिनियर नागरिक' भइहालियो। धेरै ठाउँ लाइनमा बस्नुपर्दैन। बस चढ्दा सिट छाडिदिन्छन्। बढी उमेरका मान्छे पनि 'आन्टी' भन्दै रेस्पेक्ट गर्छन्।
तपाईंको भन्दा बढी उमेरकाले पनि 'आन्टी' भन्दा रिस उठ्दैन?
उठ्दैन। मेरो मोटोपनमाथि अहिलेसम्म कसैले भद्दा व्यंग्य गरेको छैन। साथीहरूले मोटी भए पनि क्युट मोटी छेस् भन्छन्।
तपाईं अरूलाई हँसाउने पेसामा हुनुहुन्छ नै। आफू पनि मज्जाले हाँस्न सक्नुहुन्छ है?
मलाई चित्त बुझेका कुरामा मज्जैले हाँस्न सक्छु। सानैदेखि नै यस्तै हुँ। रमाइलो गरिरहने र हाँस्ने बानी सानैदेखिको हो। म सधैँ हँसिली पनि देखिन्छु। किनभने, नारायणगोपालले गाउनुभएको गीत 'केही मीठो बात गर, भरे एकान्तमा रुनु त छँदै छ' भन्नेकी पक्षपाती हुँ। त्यसैले साथीहरूसँग भेट हुँदा सधैँ हाँस्ने/हँसाउने काम भइरहेको हुन्छ।
आफ्नोे 'लाउड' हाँसोबाट कहिल्यै फाइदा लिनुभएको छ?
मलाई धेरैपछि देख्नेहरू हाँसोका कारण चिन्छन्। साथीभाइहरूको प्रिय पनि छु।
अप्ठ्यारो पारेको पनि छ ...
छ नि। एकपटक बुवा बिरामी भएर हस्पिटल गएको थिएँ। सँगै भाइ पनि थियो। उसले एउटी नर्स देखाउँदै भन्यो, 'दिदी, त्योसँग बिहे गर्दा के हुन्छ?' मैले उसको त डाक्टरसँग चक्कर छ भनिदिएँ। उसले संवादको फ्लो नटुटाइकन 'अनि मैले कोसँग बिहे गर्नु?' भन्यो। मलाई हाँसो उठ्यो, बेस्सरी हाँसिदिएँ। उता आईसीयूमा एउटा बिरामी मरेर रोइकराइ भइरहेको रहेछ। एउटा दिदी आँशु पुछ्दै आएर थर्काउनुभयो, 'हाम्रो आँशुमा तपाईंको त्यत्रो खुशी! ' परेन फसाद! मैले उहाँलाई आफ्नो खुलेरै हाँस्ने स्वभाव बताएँ, प्रसंग बताएँ। कति 'सरी' भनेँ मान्नुभएन। अर्काेचोटि चाहिँ एकजना कलाकार दाइकै ममी बित्दा पशुपति पुगेकी थिएँ। नजिकैको कसले के पो हाँसो उठ्ने कुरा गरिदिएछ, म सबै चिज भुलेर हाँसेछु। पछि त सबै मतिर हेर्छन्। अप्ठ्यारो लाग्यो, म बाहिरिएँ। अचेल कहिलेकाहीँ लाउड हाँस्दा तिनै रिसाउने दिदीको अनुहार आँखामा नाच्छ र रोकिन्छु।
त्यो 'जिरे खुर्सानी'मा अचेल हात्ती देख्न छाडियो नि?
केही समयदेखि मैले त्यहाँ काम गरेकी छैन। दर्शकले खोज्नुहुन्छ रे भनेर अरू साथीले पनि त्यस्तै भन्नुहुन्छ।
छाड्नुभएको हो?
त्यहाँ काम गर्न छाडेँ भने पनि हुन्छ। वास्तवमा एउटा रूख हुनका लागि धेरै जराले सघाएका हुन्छन्। त्यसैगरी कुनै कामको सुरुवात गर्दा हामी सबै जरा मिलेर एउटा रूख हुर्काउनुपर्छ भनिन्छ। मौसमअनुसार परिवर्तन होस् भनेर पात पनि सिर्जना हुन्छ। तर, त्यहीँभित्रका केही जराहरू पातजस्तै परिवर्तित हुँदा केही जराले सुक्नुपर्छ। यस्तै भएको हो। एउटा जरा सुक्दा रूखलाई असर त पर्छ नै।
तपाईंहरू राजनीतिमा हुने तिकडमको खुब व्यंग्य गर्नुहुन्छ। तर, तपाईंहरूभित्र त्योभन्दा ठूलो तिकडम हुँदो रहेछ?
संविधानसभामा जाने ६०१ ले के राजनीति गर्छन् र? हामीभित्र कहिलेकाहीँ त्यो भन्दा ठूलो राजनीति हुन्छ। कतिपय अवस्थामा आफू अघि बढ्न उनीहरूले गरिरहेको तिकडमलाई व्यंग्य गर्न लेखिएको स्त्रि्कप्टले खुदलाई पनि व्यंग्य गरिरहेको हुन्छ।
मेला–महोत्सवतिर त गइरहनुभएकै छ है?
गइरहेका छौँ। यो वर्ष मात्रै ४१ ठाउँमा कार्यक्रम गर्यौँर।
दुई महिला हास्य कलाकारको जोडी जमेकै छ।
जमेको छ। किनभने, दर्शकले हाम्रो प्रस्तुति रुचाएका छन्। पल्पसा डंगोल र मैले जोडी बनाएर कार्यक्रम गर्दा धेरैले जम्दैन भनेका थिए। टुटाउन कोसिस गरेका पनि थिए। तर, हाम्रो मेहनतका कारण अहिलेसम्म राम्रै भइरहेको छ।
तपाईंहरूको व्यंग्यको विषय के हुन्छ?
हामी सामाजिक कुरामा व्यंग्य गर्छाैं। महिला हुनुका नाफाघाटा केलाउँछौँ ।
तपाईंलाई टीभीका दर्शकले अब कहिले हेर्न पाउँछन्?
राम्रो प्रोजेक्टको प्रतीक्षा गरिरहेकी छु। मलाई आफ्नै डाइरेक्सनमा सिरियल बनाउन पनि मन छ।

प्रकाशित: २० वैशाख २०७१ ११:१३ शनिबार