अन्य

विपनाका 'टुँडाल' चित्र

काठमाडौं– काठमाडौंका मन्दिरमा कुँदिएका 'टुँडाल'को ऐतिहासिक महत्व छ। पुरातात्विक महत्वका यस्ता टुँडालको उचित स्याहारसुसार नपुग्दा धेरै टुँडाल टुक्रिएर जाने खतरामा रहेका छन्। यिनको संरक्षणका लागि धेरैले आ–आफ्नै चिन्ता व्यक्त गरिरहँदा विपना महर्जनले भने चित्रमार्फत् टुँडालको महत्वलाई दर्शाउने चेष्टा गरेकी छिन्। 'त्वान्नाः सिं' शीर्षकको उनको चित्र प्रदर्शनी हाल ललितपुरको झम्सिखेलस्थित आर्टिस्ट प्रुफ ग्यालरीमा चलिरहेको छ। प्रदर्शनीको गत चैत २८ मा एसएनभीका कन्ट्री डाइरेक्टर रेम नेफजेसले उद्घाटन गरेका थिए। 
दोस्रो एकल प्रदर्शनी गरिरहेकी विपनाले नेपालका परम्परागत कला तहसनहस भइरहेको सन्दर्भमा यसको संरक्षणका लागि प्रेरित गर्ने उद्देश्यले 'टुँडाल'लाई विषय बनाएको बताइन्। 
'सुरुदेखि नै मेरो रुचि नेपालका परम्परागत कलाहरुमा छ र समूहमा रहेर पनि यसैका लागि काम गरिरहेका छौं। टुँडाल पनि यस्तै प्रयासको निरन्तरता हो,' विपनाले भनिन्।
छापा चित्रकला अन्तर्गत्को 'ड्राइ प्वाइन्ट' शैली प्रयोग गरेर तयार चित्रमा टुँडालको विविधता समेटिएको छ। 
प्रदर्शनीमा ३० थान चित्रहरु समावेश रहेको विपनाले जानकारी गराईन्। १० हजारदेखि १५ हजार मूल्यका चित्रमध्ये सात थान चित्रहरु बिक्री भइसकेको पनि विपनाले बताइन्। प्रदर्शनी शुक्रबारसम्म चल्नेछ।

प्रकाशित: १५ वैशाख २०७१ २१:५५ सोमबार