अन्य

भट्टराईका निबन्ध सार्वजनिक

काठमाडौं– साहित्यकार गोविन्दराज भट्टराईको ‘मिर्मिरेमा दश पाइला' नामक निबन्धसंग्रह सार्वजनिक भएको छ। शनिबार राजधानीको शिल्पी थियटरमा साहित्यकार माधव पोखरेलले पुस्तक सार्वजनिक गरे।यात्रा निबन्ध श्रेणीकोपुस्तकमा यात्रा लेखकको यात्रा सम्बन्धि ११ वटा लेखहरु संग्रहित छन्। पुस्तकमा पूर्वदेखि पश्चिम नेपालसम्मको यात्रालाई समावेश गरिएको छ। 
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै हेमचन्द्र नेपालले निबन्धमा तत्कालीन नेपालको परिवेश देख्न सकिने बताए। ‘पुस्तकमा ग्रामीण परिवेश दुरुस्त आएको छ। पूर्वदेखि पश्चिमसम्मका विविध ठाउँका वर्णनले पाठकले लेखकसँगै सबै ठाउँमा पुगेझैं लाग्छ,' उनले भने। 
त्यस्तै ज्ञानु पाण्डेले लेखकले सरल भाषामा नेपालको विभिन्न स्थानको बयान गरेका धारणा राखिन्। ‘हिमाल, पहाड र तराईलाई पुस्तकमा समावेश गर्दा शब्दहरुको गृहकार्य गरिएको भेटियो,' उनले भनिन्। कार्यक्रममा माधव पोखरेल, नगेन्द्र शर्मा र बलराम अधिकारी लगायतले बोलेका थिए। 
लेखक भट्टराईले विविध कालखण्डमा गरेको यात्राका स्मरणलाई निबन्धको शैलीमा प्रस्तुत गरेको बताए। ‘यसपटक उत्तराधुनिक नेपाली परिवेशलाई निबन्धमार्फत् केलाउने प्रयास गरेको छु। नेपालका विभिन्न भागका फरक रहनसहनदेखि जीवनशैलीप्रतिको परिवर्तनलाई पनि लेख मार्फत् समेट्ने प्रयास गरेको छु,' भट्टराईले भने। 
पुस्तकलाई ओरिएन्टल पब्लिकेसनले बजारमा ल्याएको छ। लेखकका यसअघि ‘एक्लै एक्लै एक्लै', ‘विश्वविद्यालयमा अग्निपूजा', ‘सँगै बसौं यो रात' र ‘गोधूलीमा दश पाइला' नामक यात्रा तथा निबन्धसंग्रह प्रकाशित भइसकेका छन्।

प्रकाशित: १४ वैशाख २०७१ ०१:१८ आइतबार