ढोँग, आडम्बर र पाखण्ड सम्भवतः नेपाली समाजका चरित्र नै हुन्। नेता, समाजसेवी, कलाकार, सरकारी कर्मचारी, चिकित्सक... सबै ढोँगमा पारंगत लाग्छन्। मान्छे हुन्छ एकथरी, देखाउँछ अर्काथरी। भन्छ एक थरी, गर्छ अर्काथरी। रक्सी खानुहुन्न भनेर उपदेश दिनेहरूका खाटमुनि भोड्काका सिसीहरू असरल्ल लडिरहेका हुन्छन्। भ्रष्टाचारको चर्को स्वरमा विरोध गर्नेहरू नै यसमा चुर्लुम्म डुबेका हुन्छन्।
देशमा कानुन, पद्धति या विधिको राज होस्/नहोस्, ढोँगको भने सर्वत्र राज छ। बालकृष्ण अधिकारीले गिनेचुनेका ढोँगीहरूको विवरण प्रस्तुत गरेका छन्।
राजनीतिका ढोँगी
एकीकृत नेकपा माओवादीका विद्वान् नेता डा. बाबुराम भट्टराई नमुना ढोँगी हुन्। प्रधानमन्त्री हुँदा उनले प्रदर्शन गरेको ढोँग जनताले अहिले पनि झलझली सम्भि्करहेका छन्। उनको ढोँग कहिले विचारका रूपमा, कहिले कामका रूपमा त कहिले आर्दशका रूपमा देखिने गरेको छ। प्रधानमन्त्री हुनु केही दिनअघि मात्र काठमाडौँको सिटी सेन्टरमा रु. दुई लाखको सपिङ गर्दा पाँच हजार पर्ने बेल्ट किनेका डा. भट्टराईले प्रधानमन्त्री भएपछि नेपाली उत्पादन भन्दै मुस्ताङ म्याक्स चढेर देखाएको रमिता उनको सबैभन्दा ठूलो ढोँग थियो। अघिपछि लाखौँ मूल्य पर्ने महँगा गाडी ताँती लगाएर उनी भने मुस्ताङ म्याक्स चढेर मितव्ययी भएको नौटंकी देखाइरहेका हुन्थे। उनी अहिले वैचारिक रूपमा नयाँ शक्ति निर्माण गर्ने र उत्पादनका लागि बाख्रापालन गर्ने ढोँग मञ्चन गरिरहेका छन्। मुस्ताङ म्याक्सको 'ब्रान्ड एम्बेसडर' जस्तै बनेका भट्टराई प्रधानमन्त्रीबाट हटेपछि भने स्कारपियोमा गुड्न थालेका छन्।
जनताको गुनासो सरकारसमक्ष सीधै पुर्या उन भन्दै भट्टराईले 'हेलो सरकार!' सुरु गरेका थिए। त्यसबाट राम्रै चर्चा कमाए पनि भट्टराईले जनगुनासो भने सम्बोधन गरेनन्। हजारौँ गुनासो 'हेलो सरकार!' मार्फत आए पनि त्यसको उचित सम्बोधन भएन। त्यसपछि भट्टराई 'जनतासँग प्रधानमन्त्री'का नाममा चर्चामा आए। अरूभन्दा फरक देखिने र एउटाको चर्चा सेलाउन लागेपछि अर्को 'फन्डा' सुरु गरिहाल्ने भट्टराईले महिनाको एक दिन रेडियो नेपालमार्फत आफ्नो धारणा राख्न थाले। जनताका गुनासा र प्रश्नको जबाफ दिन भट्टराई लागिपरे। त्यतिमात्र होइन, भ्रष्टाचारमा आफ्नो नेतृत्वको सरकारको शून्य सहनशीलता बताउँदै आएका भट्टराईले जनताको घरमा प्रधानमन्त्री कार्यक्रम सुरु गरे। कहिले मुसहर बस्ती त कहिले सुकुम्बासीको घर पुगे। डा. भट्टराईले जनताको घरमा एक छाक भातका लागि राज्यकोषबाट १५ लाख रुपैयाँसम्म खर्च गरेका थिए।
प्रधानमन्त्री सुशील कोइरालाका अभिव्यक्ति सुन्दा उनी सरकार चलाउन झिँजो मानिरहेका छन् जस्तो लाग्छ। 'म 'खुल जा सिमसिम' भन्ने जादुगर होइन। म रातारात केही गर्न सक्दिनँ। एक वर्ष कुर्नुस्, त्यसपछि मैले गरेको प्रस्ट देखिनेछ'– विराटनगरस्थित कोइराला निवासमा पुगेर केही दिनअघि प्रधानमन्त्री कोइरालाले दिएको अभिव्यक्ति हो यो। यसबाट प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान जारी गरिसक्ने र छ महिनाभित्र संविधानको मस्यौदा सार्वजनिक गर्ने यसअघिको प्रतिबद्धता चटक्कै बिर्सिएको प्रस्ट हुन्छ। संविधानको मस्यौदा जारी गर्ने भनिएको समय त्यत्तिकै गुजि्रन आँटिसक्यो। प्रधानमन्त्री अझै एक वर्ष भन्दै छन्। सरकारको गतिलाई नजिकबाट नियालिरहेका जनताले प्रधानमन्त्री कोइरालाको निष्ठा र आदर्श तीव्र गतिमा नासिँदै गएको अनुभव गर्न थालेका छन्।
सरकार गठन भएको तीन महिना पुग्न लाग्दा जनतालाई नयाँ सरकार गठन भएको अनुभूति प्रधानमन्त्री कोइरालाले दिनसकेका छैनन्। जनताका दैनिक जीवनमा मात्र होइन, राज्यका कुनै पनि निकायले नयाँ गति लिनसकेको छैन। संविधानसभा निर्वाचन भएको पाँच महिना बित्दा त्यसले अझै पूर्णता पाएको छैन। रिक्त संवैधानिक अंगका साथै कुटनीतिक नियोगमा पदपूर्तिको कुनै टुंगो छैन।
आफूलाई सुशासनको पक्षमा र पारदर्शी देखाउन कोइरालाले पाँच हजारभन्दा माथिको रकम भुक्तानी गर्नुअघि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सार्वजनिक गर्ने निर्णय गरे। तर, त्यसलाई कार्यान्वयन गर्न कोइरालाले अन्य संरचना तयार पारेका छैनन्। उनी सानातिना सभा–समारोहमा नै रमाइरहेका छन्। जनता दैनिक जीवनमा परिर्वतन आउनेगरी सरकारको ठोस निर्णय र कार्यक्रमको प्रतीक्षामा छन्। तर, प्रधानमन्त्री भने विदेश (म्यानमार) भ्रमणका क्रममा पाएको ६ सय ५० अमेरिकी डलर (करिब ६५ हजार रुपैयाँ) भत्ता फिर्ता गरेर दंग परिरहेका छन्। राज्यकोषमा हुने ब्रह्मलुटलाई रोक्ने नीतिगत व्यवस्था गर्न सकेको भए प्रधानमन्त्री कोइरालाको कामको प्रशंसा हुन्थ्यो। तर, उनले सस्तो लोकप्रियताका लागि भत्ता फिर्ता गरे, जसबाट जनता आशावादी होइन, थप निराश भएका छन्– जुन जोगी आए पनि कानै चिरेको भनेर।
गरिब देशको तन्नम प्रधानमन्त्रीका रूपमा चित्रित हुँदा कोइराला दंग देखिएका छन्। प्रधानमन्त्री निर्वाचित भएपछि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग तीनटा मोबाइल सेट, तिनमा रहेका सिम कार्ड र मोबाइलमा रहेको ब्यालेन्स रकमबाहेक उनीसँग केही सम्पत्ति नरहेको विवरण सार्वजनिक भयो। तर, उनले नाडीमा बाँधेको घडी र औँलामा लगाएको हिराजडित सुनको औँठीलाई चाहिँ सम्पत्ति विवरणमा देखाएनन्। तीनटा मोबाइल सेटमात्र भएका 'सर्वहारा' कोइरालाले प्रधानमन्त्री हुनुअघि महाराजगञ्जमा बस्दै आएको घरको भाडा कसरी तिर्थे? उनका सहयोगीका अनुसार घर भाडा, सचिवालय र खाना खर्चमा मासिक झन्डै तीन लाख रुपैयाँ खर्च थियो। यो रकम कुन स्रोतबाट उपलब्ध हुन्थ्यो त्यसको विवरण दिन पारदर्शी प्रधानमन्त्रीलाई केले रोक्यो?
आर्थिक अभाव देखाएर जनताको सहानुभूति बटुल्ने प्रधानमन्त्री कोइरालाको बानीबाट पार्टीका कतिपय नेतासमेत हैरान भएका छन्। घरभाडा तिर्न र अन्य खर्चका लागि पार्टीका नेताको मुख ताक्ने कोइरालाको पुरानो बानी हो। बाहिर देखाउन र जनतामा लोकप्रिय बन्न कोइरालाले कहिले तारेहोटलमा नबस्ने त कहिले ब्रेकफास्ट नखानेजस्ता नखरा या ढोँग गरिहन्छन्। 'ठेकेदारहरूलाई महाराजगञ्जको निवासको भाडा तिर्न लगाउने अनि भत्ता चाहिँ फिर्ता गर्ने? प्रधानमन्त्रीको यो कस्तो आर्थिक पारदर्शिता हो?' उनकै पार्टीका नेताहरू उनको खिल्ली उडाउँछन्। चियापसलहरूमा प्रधानमन्त्रीको गरिबीमाथि ठूलै बहस हुन थालेको छ हिजोआज– 'हामीलाई धनी देशको 'स्मार्ट' प्रधानमन्त्री चाहिएको हो। संसारकै गरिब प्रधानमन्त्रीमा रेकर्ड बनाउने प्रधानमन्त्री चाहिएको होइन।'
श्रीमती गायत्रीलाई 'कमरेड' भनेर सम्बोधन गर्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपालले श्रीमतीलाई दसैँमा गोडा ढोगाएको फोटो आम नेपालबीच चर्चाको केन्द्रमा छ। उनको भनाइ र गराइमा कतिपय अवस्थामा आकाश–जमिनको अन्तर देखिन्छ। दरबार हत्याकाण्डपछि तत्कालीन राजा बनेका ज्ञानेन्द्र शाहलाई दाम राखेर उनले स्वस्ति गरे। तर, हत्याकाण्डको छानबिनका लागि बनाएको उच्चस्तरीय आयोगमा बस्न उनले अस्वीकार गरे। राजाको सक्रिय शासनको समयमा 'प्रधानमन्त्री बन्न पाऊँ' भनेर दरबारको दक्षिणढोकामा पुगेर निवेदन हाल्न पुगेका नेता नेपाल मुलुकमा गणतन्त्र स्थापनापछि त्यसको प्रवक्ता बने।
संविधानसभाको निर्वाचनमा दुई स्थानबाट पराजित हुनेबित्तिकै पार्टीको महासचिव पद त्यागेर आर्दश राजनेता बनेको सन्देश दिएजस्तो गरे। माओवादीसँग मिलेर देशको पहिलो राष्ट्रपति बन्ने सपना अधुरै रहेपछि मन्त्रिपरिषद्बाट मनोनयन भएका पार्टीका नेता सुशीलचन्द्र अमात्यलाई श्रीलंकाको राजदूत बनाएर आफू संविधानसभा सदस्य बने। माओवादीको सहयोगमा संविधानसभा सदस्यमात्र होइन, संवैधानिक समिति सभापति बनेका नेपाल दुई स्थानबाट हारे पनि देशको प्रधानमन्त्री बने। भौतिकवादी दर्शन मान्ने भन्दै आमाको निधन हुँदा काजक्रिया नगरेका उनै नेता नेपालले प्रधानमन्त्री बनेपछि भने आमाको श्राद्ध गरे।
माओवादीको समर्थनमा संविधानसभा सदस्य र कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका नेपालले चितवनको सौराहमा झार उखेल्दै सरकारविरुद्ध आन्दोलनमा रहेका माओवादीलाई त्यसरी नै उखेल्ने घोषणा गरे। प्रधानमन्त्री भएकै बेला सार्वजनिक बसमा यात्रा गरेर राजधानीको अनुगमन गरे। तर, सुविधासम्पन्न बसमा उनको सुरक्षामा सादा पोशाकमा प्रशस्त सुरक्षाकर्मी खटिएकै थिए।
एकीकृत नेकपा माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि चर्चामा आउन विभिन्न हर्कत गर्ने नेतामा पर्छन्। पार्टीभित्रको गुटगत राजनीतिमा कहिले अध्यक्ष पुष्पकमल दाहाल त कहिले बाबुराम भट्टराईसँगको समीकरणका कारण श्रेष्ठको नाम जहिले पनि मिडियामा आइरहन्छ। अघिल्लो संविधानसभाले संविधान बनाउन नसक्दा बालुवाटारमा रोएर नाटक देखाउने पनि यिनै थिए।
परराष्ट्र मन्त्री हुँदा कुटनीतिक मर्यादाविपरीत मन्त्रालयलाई जानकारी नगराई राजदूतलाई राष्ट्रपति, प्रधानमन्त्रीले भेटेको भन्दै कूटनीतिक मर्यादाको पाठ उनले सबैलाई पढाए। पार्टी स्थायी कमिटीको बैठकमा श्रेष्ठले कूटनीतिक तालिम नै दिए। संविधानसभा निर्वाचनमा मतदातालाई पर्चा बेचेर चर्चामा आएका श्रेष्ठले चुनाव खर्च भन्दै पर्चा बेचेरसमेत रकम संकलन गरे। तर, निर्वाचन भएको पाँच महिना बित्दा नबित्दै श्रेष्ठले निर्वाचनको ऋण तिर्न नसक्दा गाडी नै बेचेको चर्चा छ। चुनावमा लागेको ऋण तिर्न गाडी बेचेको बताउँदै श्रेष्ठ पछिल्ला दिनमा सार्वजनिक यातायातमा यात्रा गर्न थालेका छन्, अंगरक्षकसहित।
त्यतिमात्र होइन, नेता श्रेष्ठ पछिल्ला दिनमा सत्याग्रहमा छन्। अरूको कुरा सुन्ने, तर आफू केही नबोल्ने सत्याग्रही आन्दोलनमा रहेका श्रेष्ठले केही दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकपछि सञ्चारकर्मीलाई सोही कुराको खुलासा गरे। श्रेष्ठको सत्याग्रह केका लागि, किन र कहिले सकिने हो, पत्तो छैन। यो सत्याग्रह पनि अर्को राजनीतिक ढोँग पो हो कि?
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ढोँगका भुक्तभोगी छन् जनता। दोस्रो जनआन्दोलनपछि वाणिज्य तथा आपूर्तिमन्त्री बनेका महतो आफूलाई तराईको मुक्तिदाताका रूपमा अघि सार्छन्। मन्त्रीबाट हटेपछि 'तराई वाहिनी सेना' बनाउँछु भन्दै हिँड्ने अनि मन्त्री पद पाएपछि चुप लाग्ने उनको व्यवहार सत्तामा टाँसिरहने खालको छ। मधेस आन्दोलनमा निष्त्रि्कय बसेका महतो चर्चामा आउन मन्त्री खान्न भन्न समेत भ्याउँछन्। उनी चारपटक मन्त्री भइसकेका छन्। सद्भावनालाई देशभर फैलाउने भन्दै उनले प्रायः सबै जिल्लामा कमिटी गठन गरेका छन्। दोस्रो संविधानसभाअघि निर्वाचन छिटो हुनुपर्यो भनेर शान्तिवाटिकामा उनी आमरण अनशन पनि बसेका थिए। दोस्रो संविधानसभामा श्रीमतीलाई समानुपातिकबाट सभासद् बनाएर उनले आफ्नो ढोँगी चरित्रलाई अझै प्रस्ट पारेका छन्। उनीमाथि पार्टीका तर्फबाट सभासद् भएका सबैसँग पैसा उठाएको आरोप पनि छ।
प्रधानमन्त्री कोइरालामात्र होइनन्, शहरी विकास मन्त्री नारायण खड्का पनि पारदर्शी र निष्ठाको राजनीतिलाई प्रमाणीकरण गर्ने अभियानमा जुटेका छन्। उनले आफ्नो आधा तलब गंगालाल अस्पताललाई दिने घोषणा गरेका छन्। नीतिनिर्माण तहमा पुगेका व्यक्तिहरूले आधा तलब दिएर दानवीर बन्नुभन्दा मुटुरोगीको उपचारलाई सहज बनाउन मन्त्रिपरिषद्बाट नै नीति र नियम बनाउन लाग्नुपर्ने थियो। मन्त्री हुनुका कठिनाइका बारेमा उनको निजी विचार भनेर छापिएको लेख पढ्नेहरूले उनको ढोँगको थोरै भए पनि अनुभव गर्न पाएका थिए।
नेकपा एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारका ऊर्जामन्त्री गोकर्ण विष्टले सरकारी निकायको विद्युत लाइन काटेर चर्चा कमाएका थिए। मन्त्री आफैँ 'फिल्ड'मा लाइन काट्न गएपछि उनको खुबै चर्चा भएको थियो। विभिन्न निकायले तिर्नुपर्ने विद्युत महसुल समयमै तिर्ने व्यवस्था मिलाउने, विद्युत चुहावट रोक्ने तथा नयाँ विद्युत आयोजना निर्माण गराउने सवालमा खासै काम गर्न नसकेका विष्टलाई अहिले पनि धेरैले त्यही लाइन काटेको प्रसंगका कारण सम्भि्कन्छन्। नीतिगत तहमा गर्नुपर्ने सुधारमा आँखा चिम्लिने तर प्रचारका लागि गरिने कामको कुनै अर्थ हुँदैन भन्ने विष्टको अभियानबाट प्रमाणित भइसकेको छ।
अहिलेकी ऊर्जामन्त्री राधा ज्ञवालीले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै साँझमा हुने लोडसेडिङ अन्त्य गर्ने घोषणा गरिन्। ज्ञवालीले एसएलसी परीक्षालाई मध्यनजर गर्दै साँझ ६ देखि ९ बजेसम्म विद्युत आपूर्ति गर्ने घोषणा गरिन्, जुन सम्भव थिएन। उत्पादन क्षमता र विद्युत आपूर्तिका लागि देशमा रहेको विद्यमान संरचनाले अहिलेकै अवस्थामा पूरै देशले एकसाथ बिजुलीको उज्यालो पाउने अवस्था नरहेको विज्ञहरूले बताउँदा–बताउँदै पनि ज्ञवालीले सस्तो लोकप्रियताका लागि प्रचारबाजी गरिन्। उनी अहिले त्यसैको 'ब्याकफायर'मा परेकी छिन्। (मणि दाहालको सहयोगमा)
प्रशासनका ढोँगी
कर्मचारीहरू जनताका सेवक भएकाले जनतासँग हातेमालो गरेर सहकार्य गर्न पौडेलले आग्रह गरे। 'हामी जनताका सेवक हौँ, हामी आदेश दिने मालिक होइनौँ, उहाँहरूका समस्या र पीरमर्का समाधानका लागि हामी सरकारी प्रतिनिधि भएर आएका हौँ,' गुल्मीको दिगाममा प्रस्तावित पोखरा–सुर्खेत मार्गमा पर्ने पुल उद्घाटन गर्दै मुख्यसचिव पौडेलले भनेका थिए, 'काम गर्दा आएका साधनस्रोतका बारेमा खुलस्त बताउनुहोस्। जति तपाईं आदेशात्मक ढंगले प्रस्तुत हुनुहुन्छ, त्यति समस्या हुन्छ।' तर, उनैले चण्डोलमा रहेको आफ्नो घरको तला थप्न निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई काम लगाए।
निजामती प्रशासनमा हुने ढिलासुस्ती हटाएर जनताको सेवालाई प्रभावकारी बनाउन लाग्नुको साटो पौडेल महिनौँसम्म वागमतीमा हेलिए। वागमतीमा एकपटक डुबुल्की मारेजस्तो गरेका मुख्यसचिवले बाल्टिनको पानी मगले हाल्दै गरेका दृश्यहरू सार्वजनिक भए।
सडक अनुगमनमा हरेक पटक जाँदा ठेकेदार र सरकारी कर्मचारीलाई 'कालो सूचिमा राख्छु र कारबाही गर्छु' भन्छन्, तर रात परेपछि बास्कोटा उनीहरूसँगै पार्टीमा रम्ने गरेका छन्। उनले दुई दर्जनभन्दा बढी पटक ठेकेदार र लापरबाही गर्ने सरकारी कर्मचारीलाई कारबाही गर्ने भाषण गरेका छन् तर आजसम्म कोही पनि कारबाहीमा परेको छैन।
समाचारले मात्र पुग्दैन बास्कोटालाई। मिडियामा छाउन लेख पनि लेख्छन् उनी। उनले विज्ञप्तिमा समेत आफ्नो फोटो राखेर सञ्चारमाध्यममा पठाउने पनि गरेका थिए। 'साझा सवाल' कार्यक्रममा दर्शकलाई ताली बजाउन लगाउने उनलाई ताली सचिवको उपमा पनि दिइएको थियो।
स्वास्थ्यका ढोँगी
अस्पतालको शय्यामा उपचार गराइरहेका बिरामीको अवस्थाका बारेमा उनी पहिला 'गम्भीर छ' भनेर हल्ला फिजाइँहाल्छन्। सामान्य उपचारबाट पनि निको हुने बिरामीलाई पनि उनले आफूसहित अस्पतालको प्रचार गर्न गम्भीर अवस्थामा रहेको मेडिकल रिपोर्ट बोकेर बाहिर निस्कन्छन् र मिडियालाई अवस्था गम्भीर रहेको बताइहाल्छन्। त्यसपछि उनले गम्भीर अवस्थामा आएका बिरामीको उपचारका क्रममा केही सुधार भनेर फेरि अर्को ढंगको मेडिकल रिपोर्ट अगाडि ल्याउँछन्। 'गम्भीर', 'चिन्ताजनक', 'अब मेडिकल मिराकल नै हुनुपर्छ' आदि उनका प्रिय शब्द र वाक्य हुन्।
प्रकाशित: १३ वैशाख २०७१ ०८:४९ शनिबार