विश्वका विकसित देशले प्राप्त गरिसकेका रेडियो, टेलिफोन र सवारी साधन नेपालको राजधानी र अन्य सुगम सहरी क्षेत्रमा फाट्टफुट्ट आइपुगे पनि तिनको पहुँच देशव्यापी थिएन। अझ दुर्गम पहाडी क्षेत्र त यातायात, सञ्चार र शैक्षिक क्षेत्रमा मध्ययुगीन समयमै थियो भन्दा हुन्छ। यस्तो समयमा म जन्मेको गाउँमा रेडियो र पत्रपत्रिका फाट्टफुट्ट पुग्न लागेका थिए। शैक्षिक जागरण, खासगरी अंग्रेजी शिक्षाप्रतिको आकर्षण बढ्दै गएपछि
ठाउँठाउँमा शैक्षिक संस्था खुल्ने र पढ्ने–पढाउने संस्कार क्रमशः विकसित हुँदै थियो। रेडियोले एक दशकभन्दा लामो समय फैलाएको आवाजको तरंग, छपाइ माध्यमले आधा शताब्दीभन्दा बढी हुर्काएको शब्द विस्तार र श्रुति परम्पराको प्रभाव ममा पर्योक। शताब्दियांैदेखि लोकले जगेर्ना गर्दै, भोग्दै, मञ्चन र विस्तार गर्दै ल्याएका गीत, अभिनय र प्रस्तुतिको परम्परा मेरो बालक मनमा जानी–नजानी स्थापित हुन पुग्यो। शब्द, श्रव्य र मञ्चीय कलाकौशल धार्मिक, सांस्कृतिक र जातीय परम्परामा हुर्किंदै आएकोमा समयक्रममा फिल्म र श्रव्य–दृश्य माध्यममा रूपान्तरित हुन पुग्यो। पहिलोपटक कुन महापुरुषले संरक्षण गर्न सकिने फिल्मजस्तो माध्यमको अविष्कार गर्योद? थाहा छैन, मूक मनुष्यको दृश्य आकृतिमा कुन ब्रह्माले आवाज थप्न सकिने कल्पना गर्यो र कसले मूक तथा वाचाल आकृति फिल्मी पर्दामा उतार्योक?
इतिहासले कसैलाई जस दिए पनि यस्तो कल्पना गर्ने मस्तिष्कबारे संसार अझैसम्म पनि बेखबर छ। म जन्मेको भूगोलले प्रारम्भ नगरे पनि विशाल मानव समुदायले जहाँजहाँ आविष्कार गरे पनि ती प्राप्ति मेरा आफ्नै पनि हुन्।
फिल्म र श्रव्य–दृश्य माध्यम विश्वका सम्पन्न क्षेत्रमा र नेपालकै सहरी क्षेत्रमा जहिलेदेखि आइपुगे पनि मेरो क्षेत्रका मानिस र मेरा लागि भने यिनको प्राप्ति निकै पछिमात्र हुन पुग्यो। भर्खरै बनेको पहिलो नेपाली फिल्म 'आमा' तेह्रथुम सदरमुकाम म्याङ्लुङ बजारमा प्रदर्शन गरिने सनसनीपूर्ण सूचना आइपुग्यो। उक्त फिल्म देशभरका दुर्गम क्षेत्रका सदरमुकाम र बजार क्षेत्रमा प्रदर्शन गर्ने नीतिबमोजिम नै यस्तो प्रदर्शनको आयोजना हुँदै थियो। म्याङ्लुङ बजारको टुँडिखेलमा राति 'आमा' फिल्म हेर्न सदरमुकामसँग जोडिएको हाम्रो गाउँ सावला र वरिपरिका अरू गाउँबाट हजारौको संख्यामा दर्शक जम्मा भए। हाम्रो गाउँबाट आमा, काकाकाकी, दाजु भाउजू, दिदीबहिनी र छिमेकीसमेत ७०/८० जना घरबाटै सुकुल, राडी, मकैको खोस्टाका पिरा र गजरा बोकेर टुँडिखेलमा जम्मा भएका थिए। टुँडिखेलको एक छेउमा सेतो पर्दा टाँगिएको थियो। फिल्म सुरु हुनुअघि विकासे खालका केही डकुमेन्ट्री र सूचना पर्दामा देखाइएका थिए। पर्दाको पछाडिपट्टिबाट हेर्दा फोटो उस्तै देखिए पनि अक्षरहरू भने उल्टो देखिन्थे। मलाई त्यो पनि रमाइलै लाग्यो र बेलाबेलामा पछाडि गएर उल्टा अक्षर पनि हेर्थें। फिल्म सुरु भएपछि भने म भुसुक्कै निदाएँछु। त्यो फिल्म कस्तो थियो, थाहै भएन।
पहाडमै जन्मी हुर्की १६ वर्षको उमेरमा एसएलसी दिएपछि मात्र मधेस झरेँ, पहिलोपटक। मोरङको बेलबारीमा पनि हाम्रो घर थियो। 'नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ, झिली र मिली बिजुली बत्ती हेरिरहँूजस्तो छ' भन्ने गीतको प्रभावमा बिजुलीको उज्यालो हेर्ने ध्याउन्ना केही बढी नै थियो। फराकिला कालोपत्रे सडक, मोटर गाडी र नयाँ भूगोलको आकर्षणसँगै ममा एक किसिमको उत्कण्ठा पनि थियो। धरानबाट ठूलो बस चढेर बेलबारीको आफ्नो घरमा गएको सम्झना र त्यसको उल्लास अझै मसँग छ।
म एसएलसी दिइसकेपछि पाँच–छ महिना घरको ट्रान्जिस्टर रेडियो बोकेर दिनभर गीत सुन्थेँ। फिल्म हेर्ने धोको बाँकी नै थियो। अर्को वर्ष महेन्द्र मोरङ कलेज विराटनगरमा आइए भर्ना भएँ। विराटनगर टेकेको पहिलो दिनमै माइला दाजु ऋषिकेशसँग जलजला सिनेमा हलमा 'मेला' नामक हिन्दी फिल्म हेर्न पुगेँ, उल्लासका साथ। दुई–चार वटा गीत सुन्नुबाहेक हिन्दी भाषामा आवाजसमेत सुनेको थिइनँ। मैले कुनै शब्द बुझिनँ। फिल्मका सबै संवाद कुकुर भुकेजस्तो बेअर्थका लागे। 'मेला' फिल्म पटकपटक गरी पाँचपटक हेरेपछि र बाहिर त्यसका डाइलग र गीत साथीहरूले गुनगुनाएको सुनेपछि मात्र हिन्दी भाषाका संवाद बु‰न सक्ने भएँ। अंग्रेजी फिल्म, गीत र संवाद म अझै पनि ५० प्रतिशतभन्दा बढी बु‰िदनँ। 'मेला'झैं कुनै अंग्रेजी फिल्म चार–पाँचपटक हेर्दा अंग्रेजी भाषाको उच्चारण पनि स्पष्टसँग बु‰न सक्दो हुँ। मौका मिलेको छैन।
अर्को प्रसंग निकै पछिको भए पनि मार्मिक र स्थानीय मनोदशा व्यक्त गर्न सक्ने तथा सम्बन्धहरूको जटिलता र रहस्य बोक्न समर्थ रहेको म ठान्छु। तेह्रथुमसम्म मोटर गुड्ने सडक पुगिसकेको थिएन। धनकुटाको हिलेसम्म सडक विस्तार भइसकेको थियो। म्याङ्लुङ बजार र वरपरका क्षेत्रमा स्थानीय साना जलविद्युत योजनामार्फत बिजुलीको उज्यालो पुगिसकेपछि सदरमुकामका दुई–चार घरमा भर्याडङजस्तो एन्टेना जोडिएका टिभी सेट राखिएका थिए। नेपाल टिभीले आफ्नो रंगीन प्रसारण भर्खरै प्रारम्भ गरेको थियो र भारतीय टिभीका श्यामश्वेत प्रसारणले नेपालको तराई क्षेत्र र सहरहरूमा पहुँच बनाइसकेको थियो। भर्यारङजस्तो एन्टेना घरमाथि ठड्याउन सम्पन्न र आधुनिक ठानिनुले एकखालको उत्साह र सक्रियता पाइसकेको थियो। हामी दाजुभाइमध्ये केही मधेसतिर र केही काठमाडौंमा रहे पनि हाम्रो कान्छो भाइ रमेश एमकम पास गरिसकेपछि आमाबासँग तेह्रथुममै बसिरहेको थियो। उसलाई टिभी हेर्ने धुन जाग्यो र लामो एन्टेनासहित रंगीन टिभी सेट भरियालाई बोकाएर ल्यायो। निकै मेहनत र सिप लगाएर लामो बाँसको सहारामा धुरीमा एन्टेना ठड्यायो। नेपाल टिभी र भारतीय टिभी च्यानलको प्रसारण त्यहाँ पक्रन सकेन। तर बंगलादेश टिभी स्पष्टसँग आउँथ्यो। त्यसबाट बंगला र अंग्रेजी भाषाका समाचार, बंगला गीत, फिल्मसँगै केही हिन्दी र अंग्रेजी फिल्म प्रसारण हुने गर्थे।
बिस्तारै छिमेकीहरू पनि टिभी हेर्न आउन थाले। हिन्दी फिल्म आउने दिन ४० जनासम्म जम्मा हुन्थे। आँगनमा सुकुल, राडी ओछ्याएर सिकुवामा राखिएको टिभी हेर्ने प्रबन्ध केही दिन राम्रैसँग चल्यो। मेलाजात्रा र हाटबाहेक मनोरन्जनका साधन नभएको समयमा टिभीको चर्चा वल्लोपल्लो गाउँसम्म पुग्यो। दर्शक संख्या दिनहुँ बढ्न थाल्यो। हिन्दी फिल्म हेर्न आउने दर्शक पछिपछि अंग्रेजी फिल्मका पनि दर्शक बने। वरपर र वारिपारिबाट राँको, मसाल र टर्च बालेर आउने दर्शक चार सयसम्म पुग्न थाल्यो। यसरी हाम्रो घर चल्तीको फिल्म हलजस्तै बन्न पुग्यो।
ग्रामीण शिष्टाचारमा कसैलाई निषेध गर्ने चलन थिएन र टिभी हेर्न आउने सबैको स्वागत स्वाभाविक गरिन्थ्यो। दर्शकलाई बसाउन घरमा सुकुल, गजरा र मान्द्रासम्मले पनि पुग्न छोड्यो। कतिले आफूसँग सुकुलसमेत बोकेर आउन थाले भने कति भुइँमै बसेर टिभी हेर्न थाले। थरीथरीका युवायुवतीको साँझको आगमनबाट अनेक समस्या उत्पन्न हुन लागे। सुन्तला, काँक्रो केराउ धमाधम चोरिन लागे। एक समय त जुम्राको जगजगी नै भयो। घर–आँगनको सरसफाइमा धेरै समस्या देखियो। कम्पाउन्डबाहिर दिसापिसाबको दुर्गन्ध फैलियो भने केही परको जंगल र चौरमा प्रयोग गरेर फालिएका कण्डमका चाङ देखिन थाले। गाउँघरमा चिताउँदै नचिताएको विकृति बढ्न थाल्यो।
टिभीको रमाइलो एकातिर छँदै थियो, अर्कातिर अनेक विकृतिका कारण गाउँका दाजुभाइ र छरछिमेकी दिक्क भएर टिभी प्रदर्शनको विरोध गर्न थाले। दुई–चार वटी युवतीले पेट बोके। त्यसबारेमा स्थानीय पञ्चभलाद्मीको बैठक पनि बस्यो। पेट बोकाउने युवकहरूमा एकभन्दा बढीको नाम आउन थाल्यो।
यसरी हाम्रो घरमा भित्रिएको टिभीका कारण गाउँको रीतिस्थिति सम्हाल्न नसक्ने भएपछि रमेशले बिग्रिएको बहाना गरी टिभी घरभित्रै थन्क्यायो।
हामीलाई लाग्यो– हेर्न भनेर ल्याएको टिभी बिग्रिएको बहानामा किन बन्द गर्ने? घरमा सल्लाह गर्यौं र बाहिरका कसैले नसुन्ने गरी सानो आवाजमा टिभी हेर्न थाल्यौं। आफ्नो टिभी आफ्नै घरमा हेर्न पनि कस्तो डर! छरछिमेकका कसैले थाहा पाइहाल्ने हुन् कि भन्ने त्रासले हामी छिनछिनमा बाहिर निस्केर परपरसम्म हेर्ने गर्थ्यौं। यो पीडाले हामीले महिनौंसम्म सताइरह्यो। सदरमुकाममा भिडिओबाट सशुल्क फिल्म देखाउन थालेपछि भने बिस्तारै टिभी आतंक साम्य हुन पुग्यो।
६०/६५ वर्षयता मुलुकका सबै क्षेत्रमा परिवर्तन आएको छ। वैदेशिक रोजगार र सञ्चार प्रविधिमा भएको परिवर्तन भने युगान्तकारी र कल्पनातीत देखिन्छ। सूचना, सञ्चार र मनोरन्जन अभूतपूर्व विस्तार भएकाले गाउँको यो घटना अपत्यारिलो लाग्न सक्छ। अहिले हातहातमा मोबाइल, इन्टरनेट र तार–बेतारका टिभी प्रसारण पुगेका छन्। विद्युत सुविधा नपुगेका क्षेत्रमा सौर्य ऊर्जाबाट सुविधा प्राप्त भइराखेको छ। अविकसित नेपालका गाउँगाउँमा पुगेको प्रविधिले विकसित संसारसँग जोडिन सहयोग पुगेको छ।
३०/४० वर्षअगाडिका यथार्थहरू नयाँ पुस्तालाई दन्त्यकथाजस्ता लाग्न सक्छ। तर एउटा व्यक्ति वा समुदायले भोगेको समय उसको जीवनपर्यन्त र त्यसपछि सन्तान दरसन्तानले कथाजस्तै भए पनि लामो समयसम्म सम्झिइरहनेछन्। हामी पछिपछि हिँड्छौ, समय द्रुतगतिले अघिअघि बढिरहन्छ।
प्रकाशित: १३ वैशाख २०७१ ०३:५८ शनिबार