परम्परागत कृषिमा सूचना प्रविधि थपिएपछि 'सुनमा सुगन्ध' भएको छ। 'प्रविधिको उपयोगले किसानका नियमित काम सजिलो, छिटो र छरितो हुन थालेको छ,' काभ्रेपलाञ्चोक जिल्ला विकास समितिका पूर्वसभापति कृष्णप्रसाद सापकोटा भन्छन्, 'यसरी काम हुन थालेपछि उत्पादन र आम्दानीसमेत वृद्धि भइरहेको छ।'
सापकोटाकै अग्रसरतामा देउपुर भेगका तीन र मण्डनक्षेत्रका चार गाविस सूचना प्रविधिको सञ्जाल (इ–भिलेज) मा जोडिएर कृषि प्रविधि, बजार तथा रोजगारीका सूचना, टेलिमेडिसिनलगायत कार्यक्रम सञ्चालनमा छन्।
यस्तै, 'क्रियटिभ स्माइल्स बिल्डिङ द नेसन' नामक संस्थाले सिन्धुलीमा कृषि सूचना केन्द्रमार्फत किसानलाई मोबाइलमा एसएमएस पठाएर कृषि उपजका बजारभाउको जानकारी दिन थालेको छ। केन्द्रमा नाम र मोबाइल नम्बर दर्ता गराएका किसानलाई हरेक १० देखि १५ दिनमा बाली अवधिभर आवश्यक पर्ने सूचना नियमित रूपमै पठाइरहने व्यवस्था छ।
क्षेत्रफल र बालीको प्रकार उल्लेख गरी एसएमएस पठाउने किसानलाई उक्त बालीका लागि आवश्यक मलखादको परिमाण एसएमएसमै दिने व्यवस्था मिलाइएको छ।
'रोग र कीराको महामारी भए तत्कालै सूचना पठाउँछौ। अन्य समयमा भने कृषकले लगाएको बालीमा नियमित गर्नुपर्ने काम स्मरण गराइरहन्छौं,' कार्यक्रमका संयोजक तथा आइटी इन्जिनियर शिब्जन चौलागाईंले भने।
उनीहरूले गाउँमै कृषि सूचना केन्द्र स्थापना गरी कृषि उत्पादनका विभिन्न तरिका र रोगबारे विज्ञहरूसँग भिडियोसहित 'स्काइप' मा वार्तालाप गर्दै आएका छन्। पछिल्लो कार्यक्रममा एसएमएस प्रणालीको विकास र उपयोग हुँदै आएको छ।
स्थानीय बजारमा कृषि उत्पादन किन्ने व्यापारी सीमित रहेकाले एकैपटक धेरै उत्पादन हुँदा वरिपरिका बजार खोज्न एसएमएस पठाए पुग्छ। सिन्धुलीको रातमाटा, सिन्धुलीमाढी, रामेछापको मन्थली, बनेपा र काठमाडौंको बजारभाउबारे एसएमएसबाटै जानकारी पाइन्छ।
व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को सहयोगमा पोखराको कृषि सूचना तथा अध्ययन परामर्श केन्द्रले पश्चिमाञ्चलका ६ ठाउँमा इ–कृषि टेलिसेन्टर स्थापना गरेको छ। टेलिसेन्टरले कृषकलाई कृषि प्रविधिबारे जानकारी दिने, सहकारीमार्फत उत्पादन भएका वस्तु उचित मूल्यमा बजारमा पुर्याउने तथा कृषिमा नयाँ प्रविधि भित्र्याउने कार्य थालेको छ।
तनहुँमा स्थापित टेलिसेन्टरले पोखरा, दमौली, मुग्लिङलगायत बजारको अध्ययन गरेर तनहुँमा उत्पादित कृषि उपजको मूल्य निर्धारण गर्न थालेको छ। यही संस्थाको सहयोगमा वालिङ–८, स्याङ्जाको त्रियासी कृषिउपज तथा बजार व्यवस्थापन सहकारी संस्थाले गाउँका काठमाडौं, पोखरा, बुटवललगायत बजार तथा विदेशको समेत कृषिजन्य वस्तुको मूल्य र बजारको सूचना दिन थालेको छ।
केन्द्रले लमजुङमा एग्रिकल्चर टेलिसेन्टर स्थापना गरेको छ। टेलिसेन्टरबाट किसानलाई चाहिने विभिन्न सूचना, बीउबिजन तथा प्रविधिबारे जानकारी दिन थालिएको छ।
केन्द्रको नोटिस बोर्ड सर्भिस (१६१८०६१५३३२२५) मा फोन गरेर लमजुङसहित तनहुँ, कास्की र काठमाडौंका प्रमुख तरकारी बजारको दैनिक भाउ थाहा पाउन सकिन्छ।
पछिल्ला वर्ष दूधमा समेत प्रविधिको प्रयोग हुन थालेको छ। दुग्ध उत्पादक सहकारीले पूर्ण सूचना प्रविधिमा आधारित अटोमेटिक मिल्क कलेक्सन सिस्टम (एएमसिएस) को प्रयोग गर्न थालेको छ। यसमा कम्प्युटरबाटै दूधको परिमाण जोख्ने, नाप्ने, फ्याट (घृतांश) र एसएनएफ (ठोस पदार्थ) जाँच हुने गरेको छ।
यस प्रणालीमा एक थान पिसी, एक थान प्रिन्टर, नेपाली भाषामा सफ्टवेयर, मिल्क एनालाइजर, डिजिटल तराजु, डिजिटल डिस्प्ले, युपिएससहित आउने गरेको छ।
नेपालमै पहिलोपटक रुपन्देहीको देवदह दुग्ध उत्पादक सहकारीले प्रयोगमा ल्याएको आकाशगंगा अटोमेटिक मिल्क कलेक्सन सिस्टम (एएमसिएस) बाट दूधमा सूचना प्रविधि भित्रिएको हो।
त्यसपछि चितवनको जानकी र मकवानपुरको मनकामना दुग्ध उत्पादक सहकारीले यो प्रणाली जडान गरेका हुन्। सुरुमा गुजरातस्थित कम्पनीबाट सोझै किनेर जडान भएको यो प्रणाली मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले नेपालका लागि डिलरसिप लिएपछि केही सस्तो भएको छ।
यस प्रणालीमा डिजिटल तराजुमा रहेको बाल्टिनमा किसानले दूध खन्याएपछि दूधको परिमाण डिजिटल डिस्प्ले र एएमसिएस सफ्टवेयरमा देखाउँछ। त्यसपछि दूधको नमूना लिएर अल्ट्रासोनिक क्लिनरको सेन्ट्रिफ्युजमा घोलिन्छ। त्यसपछि उक्त नमुनालाई फ्याट र एसएनएफ परीक्षण गर्ने मिल्क टेस्टिङ युनिटमा राखिन्छ। यो प्रक्रिया दुई मिनेटमै सकिन्छ।
'दूध बासी र अमिलो भए युनिटले फिर्ता गर्छ, कति पानी मिसाइएको छ भन्ने तत्काल देखाउँछ,' रानीटार दुग्ध उत्पादक सहकारी संस्था महादेवस्थान काभ्रेका प्रवन्धक शिवराम तिमल्सिनाले भने।
'प्रत्येक किसान आउनासाथ तत्काल परीक्षण गरेर दूधप्राप्तिको रसिद दिन्छौं। रसिदमा बिहान वा बेलुकी कुन समयको दूध हो, कति लिटर, कति फ्याट, कति एसएनएफ र मूल्य कति आयो भन्ने लेखिन्छ,' तिमल्सिनाले थपे, 'किसानले आफूसँग भएको १५ दिनको स्लिप जोडेर भुक्तानी लिन आउँदा डेरीमा भएको रेकर्डसँग दाँज्न पनि सक्छन्।'
ढिलो–चाँडो सबै दुग्ध व्यवसायीले सूचना प्रविधिको उपयोग गर्दै किसान तहसम्म पुग्न जरुरी भइसकेको केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष दीपकप्रसाद पौडेलको भनाइ छ।
गोरखाको च्याङलिङ–९ का किसान राजेन्द्रप्रसाद पन्तको फार्ममा विभिन्न प्रजातिका साढे २ सय दुहुना गाई छन्। गाई दुहुनका लागि उनले मेसिन प्रयोग गरेका छन्। 'प्रविधिले कृषि कर्म सजिलो बनाएको छ,' १८ वर्षदेखि गाईपालन गर्दै आएको पन्तको अनुभवले भन्छ।
कुखुरापालन व्यवसायमा पनि प्रविधि प्रयोगले व्यापकता पाएको छ। मुलुककै 'पोल्ट्री हब' मानिने चितवनले नयाँ–नयाँ प्रविधिमार्फत व्यावसायिक कखुरापालन, चल्ला उत्पादन तथा मासु प्रशोधनसमेत थालनी गरेको छ।
कुखुरापालनमा ख्याति कमाएका चितवनका ठूला फार्मले प्रविधिको व्यापक उपयोग गरेका छन्। पाँचवटा ब्रिडर फार्म (चल्ला उत्पादक) ले कम्प्युटरबाटै नियन्त्रण हुने वातानुकुलित खोरमा प्यारेन्ट स्टक (माउ कुखुरा) पालिरहेका छन्।
'प्रत्येक खोरमा जडान गरिएको सिसिटिभीबाट प्राविधिकले कन्ट्रोल रूममै बसेर खोरको अवस्था बु‰छन्, दानापानी र औषधि अर्डर गर्छन्,' नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका प्रमुख कार्यकारी अधिकृत शिव बरालले बताए, ‘अर्डरबमोजिमका सामग्री स्वचालितरुपमै कुखुरासम्म पुग्छ।'
चितवनका अविनाश ह्याचरी, दिव्य ह्याचरी, कञ्चन ह्याचरी, न्यू संगम ह्याचरी र कल्याण पोल्ट्री ब्रिडिङ एन्ड रिसर्च फार्मले यो प्रविधि अपनाइरहेका छन्।
पोखरास्थित भट्टराई पोल्ट्री प्रालिले पनि स्वचालित प्रविधि उपयोग गरेर व्यावसायिक कुखुरापालन गरिरहेको छ। फार्ममा रहेका ७० हजार लेयर्स (फूल पार्ने) का लागि आवश्यक दानापानी र औषधिलगायत सबै व्यवस्थापन कम्प्युटरबाटै गर्न थालिएको छ।
'नेपालमा अन्य कृषि व्यवसायमा भन्दा नयाँ प्रविधि उपयोग हुन थालेको पोल्ट्री उद्योगमै हो,' कुखुरा व्यावसायिक मञ्च पोखराका संयोजक जीवन बरालले जानकारी दिए।
व्यावसायिक प्रयोजनका कुखुरापालनबाहेक नेपालकै पहिलो ग्रान्ड प्यारेन्ट फार्म क्लब नेपालले देवभूमि बालुवा–८, नयाँगाउँमा अमेरिकाकै कुम्बरल्यान्ड कम्पनीको पोल्ट्री इक्विपेन्ट, क्लाइमेट कन्ट्रोल सिस्टम, फिड डेलिभरी सिस्टमका साथै अन्य सुविधा भएको अत्याधुनिक खोर निर्माण गरेको छ। कन्ट्रोल रूममा रहेको कम्प्युटरबाट अर्डर दिएपछि ग्रान्ड प्यारेन्ट रहेका सबै खोरमा आवश्यक कार्य स्वचालित रूपमा हुने गरेको छ।
काठमाडौंको भ्याली कोल्ड स्टोरले मुलुककै पहिलो स्वचालित कुखुराको मासु तयारी मेसिन जडान गरेको छ।
३२ वर्षदेखि बालाजु नयाँबजारमा हातैले कखुरा सफा गर्दै मासु उत्पादन गर्दै आएको कम्पनीले यतिखेर स्वचालित मेसिनबाट मासु उत्पादन गर्दै आएको छ। नवलपरासीमा स्थापना भएको नेपाल मिट प्रोसेसिङ कम्पनीले पनि स्वचालित मेसिन प्रयोगबाट प्रशोधित कुखुराको मासु उत्पादन गरिरहेको छ।
कुखुरापालनमा जमेका चितवनका व्यवसायीले सुलीको प्रशोधन प्रविधिबाट आधुनिक जैविक मल तयार गरेका छन्। अस्ट्रेलियन प्रविधि प्रयोग गरी स्थापना भएको एग्रो हेल्थ बायोटेक प्रालिले गन्धरहित दानादार जैविक मल उत्पादन गर्न थालेको हो।
अढाइ करोड रुपैंयाँ लगानीमा स्थापना गरिएको उद्योगले कुखुराको सुली प्रयोग गरी जैविक मल उत्पादन गरिरहेको सञ्चालक डा. तीलचन्द्र भट्टराई बताउँछन्। विदेशबाट आयातित कम गुणस्तरीय मल प्रयोग गर्दा क्षणिक उत्पादन बढेको देखिए पनि माटोको गुणस्तर बिग्रन गई दीर्घकालीन क्षति हुने भएकाले त्यसलाई न्यून गर्न जैविक मल उत्पादन थालेको उनले बताए।
'बोटबिरुवालाई आवश्यक पर्ने १६ प्रकारका पोषक तत्र्व, अन्य हर्मोन तथा इन्जाइम सुलीबाट उत्पादित जैविक मलमा उपलब्ध हुन्छ,' भट्टराईले भने।
खेती गर्न सूचना प्रविधिको सहारा लिएका किसान यतिखेर प्रविधिकै कारण अर्गानिक खेती र यसको व्यवसायमा जमेका छन्। यीमध्येका आशापुरी अर्गानिक फार्म, काभ्रेका सञ्चालक प्रेम लामा पनि एक हुन्। उनले सूचना प्रविधिको भरपूर उपयोगबाट अर्गानिक खेतीलाई व्यावसायिक बनाउँदै आएका छन्।
उनले व्यावसायिक रुपमै अर्गानिक खेतीमात्र नभई सूचना प्रविधिको प्रयोगबाट बढी मूल्य पाइने तरकारी र विश्व बजारमा बढी माग भएका तरकारीको खेती गर्न सिकेका हुन्।
सिंगापुरमा उनका उपभोक्ता छन्। बिहान पाँच बजे काभ्रे, साँगामा टिपेर प्याक गरिएका गाजर, प्याज, काउली, ब्रोकाउली, बन्दा, कुरिलो, लसुन, गोलभेंडा र रायोको साग काठमाडौं हुँदै सिल्क एअरको फ्लाइटबाट भोलिपल्ट सिंगापुर पुग्छन्। हप्ताको दुईपटक पठाइने अर्गानिक तरकारी र खाद्यवस्तुको माग निरन्तर बढ्न थालेको उनी बताउँछन्।
आशापुरीसहित फूलबारीस्थित अर्गानिक हिमालयन फार्म र पात्लेगाउँ अर्गानिक फार्ममा उत्पादित तरकारी पनि सिंगापुर निर्यात हुँदै आएको छ। यी दुवै फार्मले पनि इन्टरनेटको माध्यमबाट व्यवसाय विस्तार गरिरहेका छन्।
खेतीमात्रै नभई काभ्रेका अर्गानिक विज्ञले भारतको सिक्किमसम्म पुगेर अर्गानिक अभियानका पाठ्यक्रम तयार पारेका छन्। 'सन् २०१५ भित्र सिक्किमलाई अर्गानिक बनाउन समुदाय र स्कुल तहसम्मका लागि आवश्यक पर्ने पाठ्यक्रम तयार पार्न अनुरोध गरिएको थियो,' हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्र काभ्रेका प्रमुख गोविन्द शर्माले भने।
पछिल्ला वर्ष गाउँका महिलाले गोलभेडाको हाइब्रिड बीउ उत्पादन गर्ने प्रविधि सिकेर विपुंषीकरण (इमास्कुलेसन) प्रविधिबाट 'सिर्जना' जातको हाइब्रिड गोलभेंडाको बीउ उत्पादन गर्न थालेका छन्। उनीहरूले एचआरडी–१ जातको भाले फूलबाट पुंकेशर निकालेर एचआरडी–१७ जातको पोथी फूलमा विपुंषीकरण गरेर सिर्जना जातको हाइब्रीड बीउ निकाल्ने ज्ञान र सीप पाएका हुन्।
'यस सिजनका लागि बीउ व्यवसायीले ७७ हजार रुपैयाँको दरमा ४५ केजी बीउ किन्ने सम्झौता गरिसकेका छन्, किसानलाई प्रविधिबारे सीप र ज्ञान दिन सके उनीहरूको जीवनमै आमूल परिवर्तन आउन सक्ने देखिएको छ,' सिप्रेड तरकारी बीउ परियोजना काभ्रेका बजार व्यवस्थापक केशव पाण्डे भन्छन्।
सडक सञ्जाल नपुगेका गाउँमा उत्पादन हुने उन्नत जातका तरकारीको बीउले ग्रामीण किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याएको छ। तरकारीबाली तथा अन्नबाली बीउ उत्पादन प्रविधिलाई जिल्ला कृषि विकास कार्यालय र सिप्रेडले विस्तार गरिरहेका छन्।
स्थानीय बीउ उत्पादन प्रविधिले केही हदसम्म भए पनि जिल्लालाई बीउमा आत्मनिर्भर बनाउन सकेको वरिष्ठ कृषि विकास अधिकृत सहदेव हुमागाईं बताउँछन्।
बीउ उत्पादनमा अग्रणी रहेका किसानले जियोलाइट दाना (बिड्स) को प्रयोगबाट बीउमा पानीको मात्रा घटाउने प्रविधिसमेत उपयोग गर्दै आएका छन्।
'माडयुक्त (सिमी, चुकन्दर, पालुंगो, धानलगायत) र तेलीय (गोलभेडा, बन्दा, काउली, सूर्यमुखी आदि) बीउमा पानीको मात्रा बढी भइरहँदा ६ महिनापछि उमार शक्ति घट्दै जाने अनुसन्धानले देखाएको छ,' सिप्रेडका वरिष्ठ कृषि प्राविधिक रामदेव शाहले भने।
जिल्ला कृषि विकास कार्यालय काभ्रेले जाइकाको सहयोगमा किसानको खेतबारीमै पुगेर माटोको नमुना संकलन गरी सोको जाँच रिपोर्ट इमेलमार्फत किसानलाई पठाउने व्यवस्था मिलाएको छ।
बारा तथा पर्सा जिल्लाका कृषि विकास कार्यालयले स्रोत संरक्षण कृषि प्रविधि सुरु गरेका छन्। यस्तो प्रविधिमा न्यूनतम खनजोत वा खनजोत नै नगरी बीउ र मल एकैसाथ छरिन्छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमको प्रत्यक्ष रेखदेखमा तन्तु प्रजनन प्रविधिबाट पूर्व–मूल बीउ आलु उत्पादन (पिबिएस) गर्ने काम काभ्रे नालामा सुरु भएको छ। यसबाट पाँच वर्षभित्र आलुको गुणस्तरीय र रोगरहित बीउमा काभ्रेलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।
राष्ट्रिय आइपिएम कार्यक्रमको सहयोगमा कुशादेवीमा जैविक विषादी उत्पादन हुन थालेको छ। यहाँ खुम्रेकीरा मार्ने जैविक विषादी तयार भइसकेको छ। डढुवारोग नाश गर्ने ट्राइकोडर्मा, पुतलीको लार्भा मार्ने बिटीलगायत जैविक विषादी उत्पादन हुने क्रममा छ।
सरकारले काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादीको अवशेष पत्ता लगाउने प्रविधि (र्यापिड बायोएस अफ पेस्टिसाइड रेसिड्यु) भित्र्याएको छ।
काभ्रेको साँगामा रहेका लप्सी उद्योगबाट उत्पादित लप्सीका परिकार पनि सूचना प्रविधिकै माध्यमले विदेशमा चिनिन थालेको छ। 'इन्टरनेट र इमेलकै मद्दतले क्यान्डीलगायत लप्सीका विभिन्न परिकार भुटान, सिक्किम, गुवाहाटी, दार्जिलिङसम्म नियमित रुपमा निर्यात हुने गरेको छ,' बुद्ध पाउँ उद्योगका सञ्चालक राजाराम दुवालले भने।
काभ्रे, शारदाबतासे–१ का किसानले बिजुली नचाहिने प्रविधिमा आधारित 'जिरो इनर्जी' कोल्ड स्टोरमा सुन्तला तथा अन्य तरकारीको भण्डारण गर्न थालेका छन्।
सार्क डेभलपमेन्ट फन्ड भुटानको अनुदान सहयोगमा काभ्रे, कास्की, पाल्पा, प्युठान, जुम्ला र सिन्धुलीमा जिरो इनर्जी कोल्ड स्टोर खोलिएको छ। सिन्धुलीका किसानले यसपटक यही कोल्ड स्टोरमा भण्डारण गरेका जुनारबाट मनग्गे आम्दानी लिएका छन्।
प्रकाशित: ११ वैशाख २०७१ ०३:१७ बिहीबार