अन्य

रहर हराएको सहर

जनकपुरमा अब गर्मी लाग्न थालेको छ। त्यसैले सडक बढार्ने काम घाम नलाग्दै सुरु भइसक्छ। पसलहरू भने बिस्तारै खुल्छन्। स्थानीय अखबारसमेत ७ नबजेसम्म सितिमिती पाइँदैनन्। ठूलो आकारका दैनिक विराटनगरबाट आइपुग्दासम्म बिहान ८ बजिसकेको हुन्छ। सायद त्यसैले होला, गोरखापत्र काठमाडौं एवं हिन्दुस्तान पटनाबाट मगाउने जमानाका पाठक अहिले पनि दैनिक अखबार बेलुकीपख नै पढ्ने गर्छन्।समाचारको तात्कालिकता एवं सन्दर्भको चिन्ताबाट मुक्त सहरको सुस्तता अनौठो भने लाग्दैन, किनभने जनकपुरको बिहानीसमेत आजभोलि उदासीले भरिएको हुन्छ।
सहरबासीको विरक्तताका कारण खोतल्न गाह्रो छैन। संगठित क्षेत्रको सबभन्दा ठूलो रोजगारदाता जनकपुर चुरोट कारखाना औपचारिक रूपमै बन्द भएको छ। ठूलो उद्योग बन्द भएपछि त्यसबाट प्रत्यक्ष लाभान्वित हुने श्रमिकको मात्र रोजगारी खोसिन्छ भन्ने होइन। कारखानामा आधारित ससाना व्यवसायी, आपूर्तिकर्ता एवं सेवा प्रदायकको कारोबार सँगसँगै समाप्त हुन्छ। आर्थिक गतिविधि मन्द भएपछि बजार साँघुरिन्छ एवं व्यापार स्वतः शिथिल हुन्छ। अन्ततः सामाजिक जीवनमा समेत सुस्तता आउँछ।
राजनीतिक परिदृश्य पनि कम्ती उदेकलाग्दो छैन। कुनै बेला महेन्द्रनारायण निधिको गान्धीवादी, सरोज कोइरालाको क्रान्तिकारी एवं रामनारायण मिश्रको समन्वयवादी राजनीतिको केन्द्र रहँदै आएको सहरका जनप्रतिनिधि अहिले हत्याका आरोपी भएर फरार छन्। प्रतिरोध गतिविधिका लागि कहलिएको स्थानीय रामस्वरुप रामसागर बहुमुखी (राराब) महाविद्यालयको जीवन्तता समाप्तप्रायः छ। अन्य सार्वजनिक शैक्षिक संस्थाजस्तै राराब उठ्नै नसक्ने गरी थला परेको छ। सबै खाले स्वखलनको दोष राजनीतीकरणलाई दिनेहरू के बिर्सने गर्दछन् भने राजनीतिक रूपमा राराबको विद्यार्थी संगठन सबभन्दा क्रियाशील भएका बेला विज्ञान एवं साहित्य अध्ययनका लागि यो शैक्षिक संस्था देशभरकै अब्बलमध्ये गनिन्थ्यो।
आर्थिक एवं राजनीतिक सुस्तताको असरबाट सामाजिक जीवन अछूतो रहन सक्दैन। मधेस विद्रोहपछि थुप्रै पहाडी परिवार पलायन भए। धनीमानी राजधानी लागे। मध्यमवर्गले इटहरी, हेटौंडा रोज्यो। अन्त कतै जान नसक्नेहरूसमेत लालबन्दी–बर्दीबासतिर लागे। काम भने बसाइँजतिको सहजतासँग सार्न सकिँदैन। शिक्षक, सरकारी कर्मचारी, वित्तीय कारोबारका व्यवस्थापक, सञ्चारकर्मी, यातायात सञ्चालक एवं गैसस व्यवसायमा अझै पनि पहाडी मूलका व्यक्तिहरूको उल्लेख्य उपस्थिति छ। बर्चस्व गुमाएको तुष एवं संघर्षबाट अधिकार हासिल गरेको अहंकारबाट ग्रस्त समुदायबीचको सम्बन्ध सामान्य हुने प्रक्रिया लामो नै हुने रहेछ। समयबाहेक अरु कुनै मल्हमले अविश्वासको घाउ निको पार्न सक्दैन।
संस्कृति समग्रमा आर्थिक, राजनीतिक, सामाजिक एवं बाह्य सम्बन्धबाट निरन्तर निर्माण भइरहेको हुन्छ। सायद त्यसैले होला, संस्कृति जोगाउने कुरासमेत एकप्रकारको कल्पनामा आधारित पुनर्निर्माणकै अभ्यास हो। मूलतः कृषि एवं धर्ममा चल्ने जीवनशैली क्रमशः राज्यनिर्देशित विकास, उद्यम एवं विप्रेषणबाट सञ्चालित हुन थाले। पछि संस्कृति त्यसको प्रभावबाट मुक्त रहनसक्ने कुरा भएन। चाडपर्वको सौम्यता सुस्तरी देखावटी र भव्यतामा परिवर्तित हुँदैछ। रामनवमीको सट्टा चैती छैठ वा चैते दसैं महŒवपूर्ण बन्दै जानु संस्कृति रूपान्तरणको स्वाभाविक गति हो। त्यसलाई सराप्न वा सराहना गर्न सकिन्छ। रोक्न भने सकिँदैन। घडीको सियोलाई नियतिबाहेक अरु कसैले उल्टो घुमाउन सक्दैन। विगत फर्काउन जरुरी पनि छैन।
निकट अतित
जनकपुरको ऐतिहासिकता खोतल्दै जाँदा त्रिपिटक एवं उपनिषदसम्बद्ध मिथकसम्म पुग्न सकिन्छ। विदेह गणराज्यको राजधानी मिथिला एवं त्यहाँका 'जनक’ भनिने प्रजापालकका गाथा किंवदन्तीमा समेत भेट्टाइन्छ। तर, मिथिलाको राजधानी कुनै सैनिक 'गद’ नभएर सौन्दर्यको 'पुर’ थियो भन्ने विवरण–चित्रण लोकप्रिय बनाउने श्रेय आम भाषामा काव्य रचना गर्ने विलक्षण कवि गोस्वामी तुलसीदासलाई दिइनुपर्दछ।
सीता के रामसँग अवध गइन्,
जनकपुरको श्री पनि उनीसँगै समयमा समाधिस्थ भयो।
सिम्रौनगढका कर्नाट शासकको पालामा स्वामी रामानुजु प्रवर्द्धित वैष्णव परम्पराले मिथिला क्षेत्रमा व्यापकता पाएको हुनुपर्छ। कर्नाट राज्य विखण्डित भएपछि पनि देवस्थान–महन्थ प्रचलनले गर्दा धर्मस्थलहरूको प्रभाव घट्न पाएन। कालान्तरमा मकवानपुरका सेन राजाहरूले समेत वैष्णव संस्कृतिलाई संरक्षण दिए। गोर्खालीहरूको बर्चस्व स्थापित भएपछि नाथ सम्प्रदायका योगीको प्रभाव विस्तार त भयो, तर स्वामी रामानन्दबाट नयाँ ऊर्जा पाएको वैष्णव पथ कमजोर हुन पाएन। देवशमशेरलाई धपाएर श्री ३ को श्रीपेच हत्याएका चन्द्रशमशेरको पालासम्म जनकपुरका सन्त निकै प्रभावशाली भइसकेका थिए। मन्दिर स्थापित गर्ने श्रेय सत्र हौं शताब्दीका सन्त सुर किशोर दासलाई दिइने गरिन्छ, त्यसमा टिकमगढकी महारानी वृषभानु कुवँरानीले सन् १९११ तिर ९ लाख रुपैयाँ लगानी गरेकी हुन्।
गढकी महारानी भए पनि वृषभानुले पुरलाई सुहाउने गरी महल शैलीमा मन्दिर निर्माण गराएकी थिइन्। जानकी मन्दिरको गर्भगृह देवालयजस्तो छ भने बाहिरी संरचना दरबार आकार–प्रकारको। उपयोग र संरचनाबीचको द्वन्रूबाट मन्दिर परिसर मुक्त छैन। भारतीय चिन्तक रामु गान्धीले बनारसका बारेमा कतै भनेका छन्, 'एउटा यस्तो सहर, जसको वास्तुकला स्वर्गको जस्तो, तर सरसफाइ नर्कतुल्य।’ जनकपुरका मठ–मन्दिर एवं पोखरीको अवस्था हेर्दा सहरको स्थापनाकालबारे झन्डैझन्डै त्यस्तै टिप्पणी गर्न मन लाग्नसक्छ। 
सन् ४० को दशकसम्म पनि जनकपुरमा कि साधुका कुटी थिए वा जमिन्दारका डयोढी (सामान्य मान्छेका घरभन्दा ठूलाबडाका घरको पिंढी र छतको उचाइ डेढ गुणा हुने हुँदा तिनलाई डयोढी भन्ने गरिन्थ्यो )। प्रतापशमशेर एवं रामशमशेरसँगै राजा मानबहादुर सिंह तथा राजा तारकबहादुर शाह जाडोयाममा मिथिला झर्ने गर्दथे। पिपराका बाबूहरू नजिकै बस्ने भएकाले तिनका घर भने डेरा कहलिन्थे।
जमिन्दार बस्ने भएपछि भाइ–भारदार, पुरेत–पण्डित, सैनिक–चाटुकार एवं व्यापारी–साहुकार पनि झुम्मिने नै भए। साहुहरूका हवेली मिल्स एरियातिर ठडिन सुरु भयो। त्यो जनकपुर रेलको नजिक भएकाले मालसमान ओसारपसार गर्न सहज थियो। ब्राह्मणहरूको बस्ती ब्रह्मपुरी कहलियो। मूल बजार त धेरै पछिसम्म पनि राम मन्दिर एवं जानकी मन्दिरबीचको क्षेत्रमा मात्र सीमित थियो।
जनकपुरमा पहिलो परिवर्तनको लहर श्री३ पद्मशमशेरको शासनकालमा सुरु भएको हुनुपर्छ। सेठ साहुकार एवं गुरु–पुरोहितका सन्तानलाई पढाउने आधुनिक विद्यालय सञ्चालन गर्न तत्कालीन बडाहाकिमले सहमति दिएपछि केही गन्यमान्य जमिन्दार तम्सिए। हजारौं बिघाका मालिक जुनसुकै राणा, शाह, सिंह वा उपाध्यायले सहजै आफ्नै खर्चमा विद्यालय निर्माण गराउन सक्दथे। तर, तिनका सन्तान कि त कलकत्ता–बनारस वा काठमाडौंमा बस्ने गर्दथे। त्यसैले रकमको जोहो गर्न राजा, गुरु र पुरोहितको झुण्ड स्थानीय व्यापारी साहु राम स्वरुपकहाँ पुगे।
सहरका धनीमानी एवं लब्धप्रतिष्ठित व्यक्ति साहुको ढोकामा पुग्दा उनी सादा धोती र गन्जी लगाएर दैनिक हिसाब मिलाउँदै थिए। स्कुल बनाउने प्रस्ताव सुनेपछि उनले तत्कालै एक गजिया (चलनचल्तीको 'बटुआ’ पोकाभन्दा ठूलो रकम राख्ने थैली) धन बेग्लै राखिदिए र सोधे, 'यति भए त पुग्ला।’ याचकहरूले भने, 'यसबाट काम सुरु गर्दै गरौं, पछि फेरि परिआए आऊँला।’ त्यसपछिको कथा किंवदन्ती भइसकेको छ। 
भनिन्छ, सरस्वती हाइस्कुल, सर्कल भवन कन्या विद्यालय, सार्वजनिक चिकित्सालय, पोखरीको पक्की डिल एवं कलेज निर्माण गर्दासम्म धर्मार्थका लागि छुट्ट्याइएको त्यस गजियाको धन कहिल्यै समाप्त भएन। त्यस अर्थमा गजियालाई परोपकारी मनको रूपमा पनि लिन सकिन्छ। भनिन्छ– यो त हाम्रो लागि साह्रै लाजमर्दो भयो भन्ने लागेपछि जमिन्दारहरूले नै सरस्वती हाइस्कुलको छात्राबास भवन बनाउन लगाएका थिए।
सन् ४० को मध्यदेखि सन् ५० को अन्तसम्म जनकपुरको आधुनिकीकरण नागरिक अग्रसरतामा भयो भने सोभियत सहयोगको चुरोट कारखाना जनकपुरमा बनाउने निर्णयले सहरको अर्थराजनीति पूरै बदलियो। कारखाना निर्माणका ठेकेदारहरूले गर्दा इँटाभट्टा बिस्तार गरे। ट्रक चल्न थाले। कारखानाकै जेनेरेटरबाट बिजुली बत्ती पनि बल्न थाल्यो। दुर्भाग्य, यो चरण लामो चलेन। शासक महेन्द्रको गाडीमा बम हान्ने घटनापछि जनकपुरका दुर्दिन सुरु भयो। दुर्गानन्द झा गणतान्त्रिक चेतनाका प्रथम सहिद हुन्। उनलाई मृत्युदण्ड दिन ब्राह्मणलाई नझुन्ड्याउने प्रचलन परित्याग गरिएको थियो। राज्यको कोष त्यसपछि जनकपुरप्रति यतिधेरै तीव्र भयो कि त्यहाँ अमर सहिदलाई सार्वजनिक श्रद्धाञ्जली अर्पण गर्ने साहस जनकपुरबासीले अझैसम्म जुटाउन सकेका छैनन्।
सन् ६० को दशकतिर भारत–चीन युद्धबाट उत्पन्न बाध्यताले गर्दा सीमा क्षेत्रको सामरिक पूर्वाधारमा भारतीय लागानी बढ्न थाल्यो। जनकपुर विमानस्थल, पूर्व–पश्चिम राजमार्ग एवं अन्तर्राष्ट्रिय सिमानासँग जोड्ने सडक तथा पुलहरूको स्तरोन्नति भारतीय लगानीमै भएको हो। त्यतिमात्र नभएर रेल्वे स्टेसनलाई विमानस्थलसँग जोड्ने स्थानीय सडकदेखि खानेपानीसम्म भारतीय सहयोगले गर्दा मात्र सम्भव भएको हो। सन् ६० को मध्यताका जनकपुरमा ठट्टा गरिन्थ्यो– 'माल अड्डा, भन्सार र प्रहरी चौकी नेपालको, बाँकी जम्मै जिम्मा कि राम स्वरुप साहु वा भारत सरकारको।’ 
चुरोट कारखाना सबभन्दा ठूलो रोजगारदाता त थियो, तर त्यसको व्यवस्थापनमा स्थानीयको पहुँच नगन्य थियो।
सन् ७० को दशकमा कृषि आयोजनामार्फत जापानले विकासका लागि सहयोग गर्न खोजेको हो। तर, माछापालनको प्रसारले सिमसार समाप्त भयो। सार्वजनिक पोखरीलाई व्यापक रूपमा निजीकरण गरियो। माग एवं जनसंख्याको अनुपातमा भौतिक एवं प्राविधिक लगानी बढ्न नसक्दा कृषिको आधुनिकीकरणले गति लिन सकेन। जनकपुर कृषि विकास आयोजना बन्द भएको दुई दशक भयो। खेतीपाती अहिले पनि आकाशे पानीकै भरमा चलेको छ जनकपुर वरिपरि। माछापालनमा समेत लगानीअनुरूप प्रतिफल नपाइने भएपछि पोखरी सुस्तरी वेबारिसे बन्दै गए। कतिपय खेत पुरिएर घडेरी भए। मिथिलामा कृषि विकासको जापानी सपना तुहियो।
मुलुकको अन्य भूभागमा जस्तै विकासको विकृति भने जनमतसंग्रह घोषणापछि देखिन थालेको हो। अनधिकृत आयात–निर्यात, सरपट्ट जंगल कटानी एवं राज्यप्रवर्द्धित भ्रष्टाचारले गर्दा सहरले धान्न सक्नेभन्दा बढी लगानी भित्रिन थाल्यो। जग्गाको मूल्य अकासियो। फलतः सार्वजनिक जग्गा अतिक्रमित हुन थाल्यो। मठ, मन्दिर एवं गुठीका जग्गामा पञ्च–कर्मचारी–अपराधी गठजोडको कुदृष्टि पर्योर। र, सहर उठ्न नसक्नेगरी थला पर्यो्।
सार्वजनिक जीवनको आपराधिकीकरण सुरु भएपछि त्यसबाट कुनै क्षेत्र अछूतो रहन सक्दैन। शैक्षिक स्तर खस्कियो। शिक्षा एवं स्वास्थ्यको तीव्र व्यापारीकरणले गर्दा राज्यबाट नागरिकले कुनै अपेक्षा राख्ने अवस्था रहेन। लामो कालसम्म निष्ठाको राजनीति गरेको नेपाली कांग्रेसका स्थानीय हर्ताकर्ता सन् ९० को दशकपछि पूर्व पञ्चहरूको फगत संशोधित स्वरुपमा रूपान्तरित भए। स्थानीय स्रोत र साधनको खुला लुट झन् बढ्दै गयो। सायद त्यसैले होला, राजा ज्ञानेन्द्रको शाही– सैनिक सत्ताको विरोधमा सबभन्दा पहिलो विशाल आमसभा जनकपुरमा भयो। त्यो जागृति पनि त्यत्तिकै खेर गयो।
मधेस विद्रोहताका जनकपुर सम्भवतः सबभन्दा संयमित थियो। विरोध प्रदर्शन अपेक्षाकृत सौम्य हुने गर्दथ्यो। अस्मिताको जागरणले जनकपुरका धरतीपुत्र गणतन्त्रका प्रथम नागरिक हुन पाए पनि सहरको सामान्य अवस्था बदलिएको छैन। 
भारतीय राजदूत विमल प्रसाद निजी भ्रमणमा कैयौं पटक जनकपुर भएर पटना जाने गर्दथे। विमानस्थलमा स्कुल, अस्पताल, सडक, पुल वा मन्दिर–मस्जिदसमेत बनाइपाऊँ भन्ने बिन्तीपत्र लिएर पुगेकाहरूको लाम लाग्दथ्यो। प्राध्यापक प्रसाद कूटनीतिक कम र शिक्षक बढी थिए। कैयनलाई सोझै हकार्थे, 'यस्तो अनुरोध तिमी आफ्नो सरकारलाई गर। म राजदूत हो, राजा होइन।’ उनीपछिका राजदूतहरू आवेदन सहायकलाई दिन्छन्। र, काठमाडौं फर्केपछि गुनासो गर्छन्–जनकपुरियाहरू कस्तो मगन्ते भएका!
सायद अरु कसैसँग कुनै अपेक्षा नभएर त्यसो भएको होला। गएको झन्डै दुई दशकदेखि भने भारतीय तिरस्कारको दंशसमेत जनकपुरले भोग्नुपरेको छ।
बृहत जनकपुर क्षेत्र विकासमा भारतीय सहयोगको अपेक्षा थियो। त्यो पूरा भएन। हुलाकी राजमार्ग अवरूद्ध छ। जनकपुर–भिट्ठामोड सडक होस् वा नगरायण जाने बाटो, काम कतै सञ्चालन भएको छैन। जनकपुर रेल्वेको विस्तार एवं आधुनिकीकरण कतै पुग्न सकेको छैन।
राज्यको बेवास्ता त जे छ छँदैछ। जनकपुर अस्पतालमा प्रसूति सेवाको चाप मुलुकका अन्य कुनै पनि सामान्य अस्पतालमा भन्दा बढी छ। आधुनिकीकरणको कुनै योजना छैन। नगर विकासमा सम्भवतः सबभन्दा कम लगानी गरिने सहर भएकाले होला, नगरपालिका भ्रष्टाचारका लागि कुख्यात भएको छ। कामको चापको तुलनामा अति न्यून स्रोत आवरण भएपछि थप उपाय पहिल्याउनुभन्दा बरु भएको बाँडेर खाने प्रवृत्तिले प्रश्रय पाउने रहेछ।
विप्रेषणको बाढीले गर्दा केही वर्षयता औसत पारिवारिक आय बढेको छ। त्यसैले जग्गाको भाउ झन् अकासिँदै जाँदैछ। निजी विद्यालय एवं अस्पताल खुलेका छन्। होटलको स्तरोन्नति भएको छ। रिक्सा एवं ट््याक्सी भाडा त काठमाडौंभन्दा महँगो छ। सार्वजनिक पूर्वाधार भने सन् ७० को दशकमा जे थियो, अहिले पनि झन्डैझन्डै त्यति छ, तिनका स्तरमा क्षति भएको छ। लाग्छ– जनकपुर आफंैसँग डराएको छ। त्यसले गर्दा बौद्धिक समूहको पलायन अझ तीव्र भएको छ।
न गढ (सैनिक छाउनी) न पुर (सुन्दर बस्ती), जनकपुर सुस्तरी नगर (सभ्य नागरिकहरूको बास) वा सहर (प्रभाव क्षेत्रलाई सेवा पुर्याीउने बजार) रूपी पहिचानसमेत गुमाउनुपर्ने अवस्थामा पुग्दैछ। नगरबासी भने आफ्नो इतिहासको बखानमै अझ मस्त छन्। भविष्यबारे सोच्न वर्तमानमा घोत्लिनु पर्ने हुन्छ। र, त्यो अत्यासलाग्दो भएपछि नियतिलाई सराप्नु अनौठो कुरा भएन।
पुनरोद्धारको प्रश्न
जनकपुर अझै हिन्दु आस्थाको केन्द्र हो। र, त्यो नौलखा मन्दिरले गर्दा मात्र होइन। धर्मस्थलमा कुनै अमूक स्थानको महŒव हुन्छ। पशुपतिनाथ होऊन् वा माईस्थान, शिव एवं शक्तिस्थलले गर्दा पावन मानिन्छन्। धामको भने हावा, पानी र माटो नै पवित्र हुन्छ। त्यहाँ खुट्टा टेके पुग्छ, मन्दिरमै दर्शन गर्न जानुपर्दैन। जनकपुर धाम हो, र नगरको त्यो परिचय पुनर्स्थापन गर्नका लागि चुरोट कारखाना बन्द भएर उब्जिएको अर्थ–राजनीतिक दुरवस्थालाई अवसरको रूपमा उपयोग गर्ने सिर्जनात्मकता चाहिएको छ।
महात्मा गान्धीले कतै भनेका छन्– सरसफाइ त स्वतन्त्रताभन्दा पनि महŒवपूर्ण कुरा हो। फोहोर एवं ढल व्यवस्थापन गर्न नसक्ने सहरले सभ्य भएको स्वाङ धेरैदिन धान्न सक्दैन। सुनिँदैछ, फोहोर फाल्ने प्रस्तावित जमिनमा मन्त्री विमलेन्द्र निधि विश्वविद्यालय बनाउन प्रतिबद्ध छन्। विश्वविद्यालय बनाउन जग्गामात्र भएर पुग्दैन। गान्धीवादी पिताका सुयोग्य पुत्रले आफ्नो सभ्यताप्रति संवेदनशीलता देखाउनेछन् भन्ने आस राख्न सकिन्छ।
ढल निकासको व्यवस्था एवं स्थानीय पोखरीको जिर्णोद्धार गर्ने काम भने जटिल बन्दै गएको छ। जग्गाको भाउ अकासिँदा मोल एवं घडेरी टुक्रिने प्रवृतिले सडास खाल्डो (सेप्टिक ट््यांक) मात्रमा भर पर्नसक्ने अवस्था रहेन। नजिकका नदी स–साना भएकाले प्रशोधन नगरी ढललाई सोझै खोलामा मिसाउनु जोखिमपूर्ण ठहरिन सक्छ। ढल निर्माण, व्यवस्थापन एवं प्रशोधन सुविधा सम्भवतः तत्कालका लागि सबभन्दा महँगो पूर्वाधार बन्न पुगेको छ। त्यो नगरेसम्म पोखरीको जिर्णोद्धार सम्भव छैन।
कम्तीमा अन्तरगृह परिक्रमा सडक क्षेत्रभित्रका सार्वजनिक एवं गुठी जग्गाको हरितकरण अर्को प्राथमिकताको कार्यसूची बनाइनुपर्छ। द्वितीय विश्वयुद्धताका वरविद्या गाछी बाह्रबिद्या मैदान भयो। तिरहुतिया गाछी पहिले बसपार्क भयो, अहिले थरिथरिका कार्यालय एवं बजारको ठाउँ भएको छ। धामको माटो, हावा एवं पानीको पवित्रता कायम गर्न रूख–बिरुवा संरक्षणमा सुनियोजित लगानी गर्नुको विकल्प छैन।
जल सुरक्षाका लागि आकाशे पानी संकलन, ऊर्जा सुरक्षाका लागि सौर्य शक्ति एवं आपतविपतका लागि सार्वजनिक तयारीजस्ता कुराबेगर भविष्यमुखी नगरको कल्पनासमेत गर्न सकिँदैन। जनकपुरको फैलावट अझैसम्म पनि लाम्चो नभएर वृत्ताकार नै छ। त्यसैले अधिकांश ठाउँमा पैदल पुग्न सकिन्छ। केही सडकमा सार्वजनिक यातायात चाहिएला। विद्युतीयबाहेकका सवारी साधनको प्रवेश कम्तीमा जानकी मन्दिर परिसर वरिपरि विस्तारै बन्द नै गरिनुपर्छ। प्रदूषण फैलाउने काम त्यसपछि स्वतः विस्थापित हुनेछ।
दक्षिण भारतको बैंग्लोरमा कुनै बेला नगरपालिकाको नियम थियो– नजिकको रूखभन्दा अग्लो हुने गरी घर बनाउन नपाइने। आधुनिकीकरणपछि त्यो नियम हट्यो। धामहरूमा भने त्यस्तो भूउपयोग नीतिको सान्दर्भिकता अझै छ। व्यापारिक नगरीमा ठडिएका सलाइका बट्टाजस्ता घर त्यति अस्वाभाविक लाग्दैनन्। धाममा भने महलभन्दा कुटी नै सुहाउँछन्।
कुनैबेला अमेरिकाको अन्तिम लोकबौद्धिक भनिएका लेविस ममफोर्ड (आजकल त्यो सम्मान कसैकसैले क्रिस्टोफर हिचेन्सलाई पनि दिन थालेका छन्) सहरलाई सामाजिक सम्बन्धको रंगशालाका रूपमा अर्थ्याउँछन्। हुन पनि सहर भनेकै सम्बन्धहरूको मञ्चन हो। मूलबासीले सहरलाई पहिचान दिन्छन्। गति र जीवन्तता आगन्तुकले ल्याउने हुन्।
सहर बन्ने नै अप्रवासीहरूको स्थानीयता ग्रहण गर्ने छनोटबाट हो। त्यस्तो अवस्थामा वर्ण, जाति, वंश वा परिवारजस्ता नाताभन्दा व्यापक अन्तरसम्बन्ध आवश्यक हुन्छ। मठहरू धार्मिक अन्तरसम्बन्धका स्थान थिए। विद्यालय एवं पाटी–पौवा तथा कीर्तनमण्डलीले सामाजिक–सांस्कृतिक सम्बन्ध बलियो पार्न सघाउँछन्। कारखाना, पसल, एवं बैंक–वित्तीय संस्थामा आर्थिक सम्बन्ध जोडिन्छ। दल एवं सरकार राजनीतिक सम्बन्धका आधार हुन्। पाश्चात्य संस्कृतिमा खेलकुद अखडा तथा प्रतियोगिता मञ्चनबाट जमघट प्रवृति (क्लब कल्चर) जन्मियो। तर, सहरबासीबीचको अन्तरसम्बन्ध त्यसभन्दा व्यापक हुनुपर्छ। रंगमञ्चको अन्तरसम्बन्धजस्तै सहरबासी नृत्यनाटिकाका पात्र भएर अन्योन्याश्रित भूमिकाप्रति प्रतिबद्ध बन्न सक्नुपर्छ। त्यो क्षमता साझा सपनाले मात्र दिन सक्छ।
यो आलेखको परिकल्पनामा सम्बन्धित सम्पादकको सिर्जनात्मक सल्लाह थियो– संस्मरणात्मक एवं सुझावमूलक रचना रुचिकर बन्न सक्छ। संस्मरणको समस्या नै के हो भने राम्रा अनुभव फूलको सुगन्धजस्तै कुनै प्रमाण नछोडी बिलाउँछन्। अमिला स्मृतिको छाप भने बासी दूधचियाको दागजस्तो जति धोए पनि मेटिँदैनन्। सायद त्यसैले होला, योजना कहर वा लहडको साटो रहर निर्देशित हुनुपर्ने रहेछ।
सन् ६० को दशकको मध्यताका हुनुपर्छ। एउटा बालक दशरथ तलाउबाट गंगा सागरसम्म काठको 'पहिया’ गुडाउँदै जाने गर्दथ्यो। र, कहिलेकाहीँ जनक मन्दिरको चौतारोनिर साथीका अगाडि गफ दिन्थ्यो– पारि दरभंगामा राजमहल छ। ठूलो अस्पताल छ। स्कुल पढ्ने विद्यार्थी छालाको जुत्ता लगाउँछन्। बम हानेकाले नेपालका राजा जनकपुरसँग रिसाएका छन्। केही छैन। कुनै दिन जनकपुरमा जानकी मन्दिरभन्दा भव्य दरबार हुनेछ। ठूला अस्पताल खुल्नेछन्। र, नुहाउनलाई पोखरीमा जानुपर्ने छैन। घर–घरमा हाते कल हुनेछ।
अन्तिम इच्छा सत्य भएको छ। त्यसैले नालाहरू बाह्रैमास गन्हाइरहेका हुन्छन्। र, लामखुट्टे तथा झिँगा रमाइरहेका हुन्छन्। गणतन्त्र नेपालको राजमहल जनप्रतिनिधिको सम्मेलनस्थल हुनसक्छ। सभ्यता–आधारित मिथिला होस् वा अस्मिता–अभिप्रेरित मधेस, प्रान्तीय राजधानीका रूपमा जनकपुरको पुनर्कल्पनाले सहरका बासिन्दामा ऊर्जाको सञ्चार गर्नसक्छ।
कोलकाता बन्दरगाहको भारवहन क्षमता घट्दै गएकाले नेपालका औद्योगिक नगर अब पश्चिम सर्दै भैरहवा–नेपालगन्ज पुग्नेछन्। हिन्दु धर्म भावप्रधान हुने भएकाले न अयोध्या मक्का हुनसक्यो, न जनकपुर कहिले जेरुसेलम हुनसक्नेछ। विशाल प्रभाव क्षेत्रको सेवा केन्द्रका रूपमा भने सहरको भविष्य छ।
सेवा केन्द्रमा शिक्षा, स्वास्थ्य एवं बैंकिङ तथा बिमाजस्ता सुविधाका साथै स्तरीय जीवनशैलीका लागि आवश्यक पर्ने खुला ठाउँ, स्निघ्न वातावरण एवं आत्मीयताको परिवेशजस्ता सहजै मापन गर्न नसकिने, तर अनुभव भने गर्न सकिने भौतिक एवं मानसिक पूर्वाधार चाहिन्छन्। त्यस्तो वातावरण निर्माण गर्ने प्राथमिक आधार सुरक्षा हो। खास गरेर वृद्ध, बालक एवं सबै उमेर समूहका महिलाको सुरक्षा सुनिश्चित नगरी सभ्य सहर निर्माण गर्न सकिँदैन।
आधुनिक प्रहरी तथा प्रशासन आन्तरिक सुरक्षाका निदानात्मक संयन्त्र हुन्। प्रतिरोधात्मक क्षमता बढाएर सुरक्षा सुनिश्चित गर्नका लागि फेरि पनि अन्तरसम्बन्धको रंगमञ्चलाई नै जिवन्त बनाउनुपर्नेछ। सुन्दा पश्चगामी लाग्नसक्छ, तर मौलवी, महन्थ एवं साधु–सन्त सामाजिक जागरणका सहयोगी पात्र हुनसक्छन्। पटकथा त लेखिएला। सक्षम निर्देशक पनि पाइएलान्। तर, कुनै पनि प्रस्तुतिको सफलताका लागि समर्पित पात्र एवं सुधी दर्शक नभई नहुने अवयव हुन्। जनता स्वयं नजागेसम्म कतै केही नहुने रहेछ। त्यो घडी कहिले आउने हो, कसैलाई थाहा हुन्न। तयारी भने निरन्तर भइरहनुपर्छ।

प्रकाशित: ११ वैशाख २०७१ ०२:५० बिहीबार