अन्य

बिग्रियो, बन्दैछ विराटनगर

विराटनगरको शतवार्षिकी कार्यक्रममा गएको हप्ता राष्ट्रपति लगायत आधा दर्जन मन्त्री र डेढ दर्जन सभासद सहिदमञ्चमा बसेका थिए। ऐतिहासिक सहिद रंगशालाभित्र स्कुलका केटाकेटी र पोसाकधारी कर्मचारीबाहेक सर्वसाधारणको उपस्थिति अत्यन्त न्यून थियो।कार्यक्रम फ्लप भयो, सहभागिताका दृष्टिबाट। फ्लप कार्यक्रमका लागि दोषी को? प्रशासनिक र राजनीतिक तहमा दोषारोपण चल्दैछ, नगरबासी भने दुवै पक्ष दोषी भनी आरोप गर्छन्। नगरबासीले दुवै पक्षलाई दोष दिने ठोस आधार छन्।
विराटनगर यतिखेर विचित्रको सहर भएको छ। सहरको भविष्यबारे लेख्ने काम जाखिमपूर्ण छ र रोचक पनि। सहरको वर्तमान अवस्था हेर्दा मृत र रुग्ण देखिन्छ भने भविष्यको सम्भावनातर्फ ध्यान दिँदा अनेकन अवसर र उज्यालो मात्र देखिन्छ। त्यस्तै, राजनीतिक नेतृत्वप्रति आँखा घुमाउँद निराशा र उदेक लाग्छ। तर जनताको उत्साह र ऊर्जा हेर्दा विराटनगर बिग्रेको भन्नै सकिन्न।
विराटनगरको समाज र संस्कार
आधुनिक विराटनगरको जग वीरशम्सेर र चन्द्रशम्सेरको दरबारमा प्रभाव र पहुँच भएका बाहुन र नेवारले आजभन्दा सय वर्ष अगाडि राखे। सय वर्षअगाडि अहिलेको झापा, मोरङ र सुनसरीको सदरमुकाम रंगेलीबाट सरेर विराटनगर आवाद हुनुपर्ने प्रमुख कारण भारतको रेलसेवा थियो। विराटनगर मात्र होइन, तराईका अधिकांश सहर भारतीय रेल्वे सेवाको नगिच आवाद भए। सतवार्षिकी मनाइरहेको विराटनगरले आजभन्दा बैसट्ठी वर्षअगाडि नगरपालिकाको पहिचान पायो।
नगरपालिकाबाट उपमहानगरपालिका भएको पनि दशक बित्यो। यसबीच सहरको जनसंख्या अत्यन्त सुस्त गतिमा बढेर सवा दुई लाख हाराहारी पुगेको छ। झन्डै ४५ हजार परिवार र एक लाख जति मतदाता भएको यो सहरमा आधा जनसंख्या नेपाली भाषीको छ। नेपाली भाषी पछि मैथली, उर्दु, मारवाडी, राजवंशी र थारू गरी ४० हजार छन् मतदाता। यिनै विराटनगरको भाग्यविधाता र निर्णायक समूह मानिन्छन् लोकतन्त्रमा। राजवंशी र थारुलाई विराटनगरको सन्दर्भमा आदिबासी भन्न सकिन्छ, भन्नुपर्छ। दुवै आदिबासीको सहर मतदाता संख्या साढे तीन हजारभन्दा केही बढी छ। यिनको न्यून उपस्थितिले राजनीतिक र सामाजिक रुपले यी आदिबासी निर्णायक हुने सम्भावना छैन। अर्थात् विराटनगर अमेरिकाजस्तो भएछ, अमेरिकामा रेड इन्डियन अल्पमतमा छन् विराटनगरमा राजवंशी र थारु। 
पारिवारिक र मतदाता संख्यालाई अगाडि सारेर मात्र विराटनगरको अर्थराजनीतिको प्रभाव बुझ्न सजिलो होला भनी माथि उद्धृत गरिएको हो। राजवंशी र थारुको बसोवासपछि आएका प्रभावशाली बाहुन र नेवार जातिले विराटनगरमा नयाँ संस्कृति र सभ्यता विकास गरे। त्यो नयाँ संस्कृति र सभ्यता भनेको शिक्षा, स्वास्थ्य, यातायात र जीवनका अन्य सुविधा जुटाउने कार्य थियो। र, सबैभन्दा प्रमुख कार्य भनेको काठमाडौं र विराटनगरबीच सिधा सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध विकसित भयो। स्यामुल पि हन्टिङ टनको शब्दमा आधुनिक सभ्यता विकासको प्रारम्भिक चरणमा आउने तिनीहरु विराटनगरका 'बासिन्दा' अर्थात सेटलर भए। कुनै पनि सहरको विकासमा सेटलरहरुको भूमिका रचनात्मक र सृजनशील हुने हन्टिङ टन मान्छन्। 
विराटनगरमा स्कुल, अस्पताल, मन्दिर, जोगवनीसम्मको रेललाइन अनि भाषा, चाडपर्व, रहनसहन, भेषभूषा, आदि यही बेला यिनै सेटलरले निर्माण गरे। केही पछि कलेज, एयरपोर्ट, बसस्ट्यान्ड, सिनेमा हल र एलिट क्लब अनि टाउन क्लब जस्ता केन्द्र पनि यिनै सेटलर र तिनको आफन्तको पहलबाट निर्माण भयो। बिस्तारै राज्यका सबै अंग अदालत, सुरक्षा निकाय अनि प्रशासन पनि आयो। यी माथि उल्लेख गरिएभन्दा स्थिर र सुदूरकालसम्म प्रभाव पार्नेे सामाजिक ढाँचा विक्रम संवत १९६०, ८० र ९० को जग्गाको नापीले निर्माण गर्‍यो। अर्थात जग्गाको स्वामित्व हस्तान्तरणको यो समय विराटनगर निर्माणको ऐतिहासिक काल थियो। वि.स. १९९० को आसपास विश्वव्यापी मन्दीले राजधानीका शासकमा पैसा अभाव भयो। यहीबेला कौडीको मोलमा विराटनगर र आसपास सरकारी जागिरमा रहेका खरिदार, बहिदार, मुखिया र सुब्बाले तिनको जग्गा किने। नेपालको तराईभर यहीबेला सरकारी जागिरेले सबैभन्दा बढी जग्गा किनेको अनुमान गरिन्छ। अनि तराईको सामाजिक ढाँचामा भूस्वामित्वमा भएको हस्तान्तरण प्रक्रियाले सबै पक्ष प्रभावित काल पनि यही हो, विराटनगर आजसम्म त्यो प्रभावबाट मुक्त छैन। 
जोखिम र साहस उठाएर औलोको पर्वाह नगरी पूर्वी तराई आउने बाहुन र नेवारले विराटनगरलाई नयाँ संस्कृति र सभ्यता दिए। ती साहसी घुमन्ते यात्रुझैं विराटनगर आए र यहाँको विषम प्राकृतिक अवस्था र जलवायुसँग जुधे र जिते। यो बेग्लै कुरा हो, तिनले यहाँको आर्थिक स्रोतमाथि नियन्त्रण गरे अनि राजनीतिक र सामाजिक हैकम चलाए, चलाइनै रहेका छन्। त्यस्तै, जोखिम उठाएर मारवाडी समुदाय बिहार, बंगाल हुँदै विराटनगर प्रवेश गरे। विराटनगर हुँदै नेपालको अर्थतन्त्रमाथि कब्जा जमाए र अहिले विश्वव्यापी रुपमा सबैभन्दा उद्यमशील जाति भनी ती चिनिए। विराटनगरको कोइराला निवास भएको वडा नम्बर ९ सम्भवतः मारवाडी जाति बहुमतमा भएको नेपालको एकमात्र ठाउँ होला। यसैबाट बुझ्न सकिन्छ, राजनीतिक शक्ति र आर्थिक शक्ति खासै टाढा बस्न सक्तैनन् भनी। 
विराटनगरका बासिन्दाले सबैलाई समान अवसर हुने सामाजिक पूर्वाधार निर्माण गरे। ती सामाजिक पूर्वाधार अझै छन्, तर जनतामा तिनको आकर्षण न्यून छ, अप्रभावकारी छ। उदाहरणका लागि कोसी अञ्चल अस्पताललाई लिन सकिन्छ। पिताजी कृष्णप्रसाद कोइरालाको अगुवाइमा खुलेको यो अस्पताल अहिले कोसी अञ्चलको जनताका लागि होइन, विराटनगरका मध्यम र निम्नमध्यमवर्ग पनि जान छाडिसके।
प्रजातन्त्र स्थापनासँगै ऐतिहासिक धरोहर बोकेका सामाजिक संस्था धरासयी र आकर्षणहीन हुने क्रम तीव्र भयो । यही अवसरमा विराटनगरमा सामाजिक सेवामा निजी क्षेत्रले नेतृत्व लिन अग्रसर भयो, देशको अन्य भागमा भएजस्तै। निजी अस्पताल र कलेजले गुणस्तरीय उपचार र शिक्षा प्रदान गरी जनताको भरोसा र विश्वास जिते। यी महँगा छन् तर सेवासुविधा समयमा पाउँदा जीवन बाँच्छ, समय पनि कम लाग्छ भन्ने बुझेका नगरबासी छन्। भर्खरै झोराहाट निबासी ५० वर्षे गुरागाईंले मुटुको शल्यक्रिया सफलतापूर्वक निजी अस्पतालमा चारलाख खर्चेर गरे, तिनले नयाँ जीवन पाए। तर परिवारका सबै सदस्यमाथि ऋण लाग्यो। परिवारका सबै सदस्य आफ्ना स्वजनको जीवन बाँचेकोमा खुसी हुनुभन्दा चारलाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले छटपटिएका छन् अहिले। एकमात्र पूर्वाञ्चल विश्वविद्यालयको दुई दशकको यात्रामा यसका पदाधिकारी भ्रष्टाचारमा मुछिएका छन् र सस्पेन्ड भएको लाजमर्दो अवस्था छ। सम्बन्धन दिने र पैसा कमाउने 'क्यासिनो' जस्तो थियो यो विश्वविद्यालय । 
विराटनगरलाई प्रजातन्त्र राम्रै गरी आएको हो, तर विकास फिट्टी आउन सकेन। २०४७ सालपछि विराटनगरका नेताले ०६५ सालसम्म राजधानीमा एकछत्र शासक हुने अवसर पाए। तर दाजु, काका, मामा र दिदी भन्दै कोइराला निवासको बरन्डामा खुट्टा हल्लाएर सबै विकासका अवसर गुमाए विराटनगरबासीले। केन्द्र र नगरपालिकामा पहुँच र स्रोतसाधन भएर पनि विराटनगर सहरमा एउटा पार्क बन्न सकेन। मानसिकता कस्तो देखियो भने 'मूर्दाघाट' बनाउन भने विराटनगरबासीबीच टोलटोलमा प्रतिस्पर्धा नै हुन्छ। 
तर पनि खुसीको कुरो, विभिन्न परियोजनाबाट विराटनगरको भविष्य बन्ने अड्कलबाजीहरु कागजी रुपमा अगाडि आएका छन्। यसै हप्ता राजधानीबाट आएका एकजना पेसाकर्मी विराटनगर इटहरी राजमार्गको केही भित्र पर्ने जग्गा बेच्न चाहन्थे तर आधुनिक चार लेनको बाटो र ढल प्रणालीको काम धमाधम भएको देखेर पछि जग्गाको भाउ बढ्ने अनुमानले नबेची फर्के। एसियाली विकास बैंकको सहयोगमा बाटो चौडा र ढलको आधुनिकीकरण गर्न २ अर्ब ७२ करोडको परियोजना विराटनगरमा चालु छ। यो परियोजनाको कामको प्रकृति, प्रभाव र कार्यक्षेत्र भन्दा पनि परियोजनाबाट कमिसन र ठेक्का कसले कति कुम्ल्यायो भन्ने चर्चा सहरमा छ। यत्रो मेघा परियोजनाबारे जनतालाई जानकारी दिने, जनताको सहभागिता बढाउने र यहीँको गैरसरकारी संस्थालाई सामुदायिक विकास कार्यक्रमको जिम्मेवारी दिने जस्ता कुरामा परियोजना अधिकारीले पनि पटक्कै रुचि दिएको देखिँदैन। 
विराटनगर सतवार्षिकी कार्यक्रमको फ्लप सो यस्तै सोच र परियोजनामुखी शैलीबाट भएको हो। जोखिम उठाएर विराटनगरलाई आधुनिक सहरको रुप दिनेहरु समाजसँग र सरकारसँग संयुक्त भएर सहरको विकास गर्थे। अहिले व्यक्ति र कर्मचारी मिलेर नाफा कमाउन सामाजिक क्षेत्र छानेका छन्। विराटनगरको समाज र संस्कार फेरिएको छ। 
उद्योग व्यापार र विराटनगर
विराटनगरको कुरा गर्दा उद्योग व्यापारकोे कुरा गर्नेपर्ने हुन्छ। उद्योग व्यापारको कुरा गर्दा केही ऐतिहासिक तथ्य अगाडि आउँछन् नै। विराटनगरमा जग्गाको भूस्वामित्वले सामाजिक र राजनीतिक बनोट निर्धारण गर्‍यो भने अर्कातिर प्रारम्भदेखि नै मारवाडी समुदायले उद्योग र व्यापारमा वर्चश्व कायम गरे। राणा र राजाको आशीर्वादले भारतीय उद्यमीलाई विराटनगरमा उद्योग खोल्ने प्रेरणा मिल्यो, मिल्स एरिया बन्यो सात दशक अगाडि। यही क्रममा उद्योग र व्यापारमा मारवाडी समुदाय अगाडि आयो। मारवाडी समुदायले उद्योग र व्यापारसँगै विराटनगरमा सामाजिक दायित्व पनि निर्वाह गर्थे। धर्मशाला, मन्दिर, पाठशाला र अस्पताल निर्माणमा सहयोग गरी सामाजिक पहिचान र इज्जत कमाउँथे मारवाडीका पुराना पुस्ता। अहिले समय फेरियो। पुराना मूल्यमान्यताका मारवाडी अब रहेनन्। सबै लेनदेनबाट अगाडि बढेका छन्। नेता र कर्मचारीलाई घुस दिने र आफ्नो काम लिने संस्कार युवा मारवाडी समुदायमा भएको जनगुनासो छ। सभासद बन्न करोडौंको चलखेल मारवाडी समुदायबाट हुँदा यिनको सामाजिक साख विराटनगरमा अत्यन्त तल पुगेको छ। 
सय वर्षअगाडि चामल उद्योगबाट सुरु भएको विराटनगरको औद्योगिक यात्रा जुट, चिनी, टेक्सटायल र सलाई हुँदै अहिले फर्मास्युटिकल, जस्तापाता, बिस्कुट र चाउचाउसम्म पुगेको छ, सबैमा मारवाडी छन्। निजी क्षेत्रको अगुवाइमा सैकडौं उद्योग विराटनगर इटहरी र देवकोटा चोक रंगेलीबीचमा खुलिरहेका र बन्द पनि भइरहेका छन्। तिनलाई सघाउन निजी बैंकहरु आक्रामक शैलीमा लगानी गर्छन्। निजी क्षेत्रबाट आधा दर्जन जुटमिल अहिले सञ्चालित छन्, तर विडम्बना सनपाटको खेती भने मोरङ झापामा छैन, अर्थात कच्चा पदार्थ भारत र बंगलादेशबाट झिकाउँछन्। 
प्रथम विश्वयुद्धपछि र दोस्रो विश्वयुद्ध समाप्तीको समय अर्थात अढाइ दशकको समय विराटनगरका लागि 'टर्निङ प्वाइन्ट' थियो, राजनीतिक रुपले र औद्योगिक रुपले। यही समय उद्योग र व्यापार यहाँ फस्टायो। हज्जारौ मजदुर एउटै छानामुनि काम गर्ने प्रथाको सुरुआत नेपालमा विराटनगरबाट भयो। जुटमिल खुलेदेखि ००७ को क्रान्तिकाललाई विराटनगरको स्वर्णिमकाल भन्दा हुन्छ र विराटनगरको पहिचानका लागि यही समय नियतिले निर्धारण गरेको देखिन्छ।
राम्रो मात्र भनेर विराटनगरको उद्योग र व्यापार क्षेत्रमा रहेको कमजोरी र विसंगतिको चर्चा नगर्नु अन्याय हुन्छ। सबैभन्दा ठूलो खडेरी औद्योगिक र व्यापारिक क्षेत्रमा न्यूनतम इमानदारीको छ। जस्तो च्याउझैं उम्रेका बिस्कुट उद्योगमा पाम तेल र गुणस्तरहीन घिउ प्रयोग गरिन्छ, चर्चा छ। सरकारको अनुगमन छैन। उद्योगपतिहरुमा जनताको जीवनमाथि खेल्नु हुँदैन भन्ने इमान रहेन। यस्ता कैयन उदाहरण छन् जसले विराटनगरमा भएका उद्योगको नकारात्मक छवि बस्न सक्छ। जुन पंक्तिकारको उद्देश्य होइन, तर नाफाका नाममा जनताको स्वास्थ्यसँग खेलबाड भइरहेका उद्योगमा तत्काल सुधारको जरुरत छ, इमानदारीको जरुरत छ। करिडरमा उत्पादित कैयन सामानको गुणस्तर कमसल छ तर सरकारी कर्मचारीसँगको लेनदेनले ती सबै कुरा दबेका छन्। विराटनगरलाई निजी क्षेत्रको उद्यमशीलता र नेतृत्वले चलाइरहेको छ, अगाडि बढाइरहेको बुझ्न सकिन्छ। 
उद्योगपछि व्यापारको कुरा। व्यापारमा तस्करी प्रभावशाली छ। यही तस्करीको स्रोतबाट विराटनगरको राजनीतिकर्मी पनि मोटाएका छन्। नेपाल सरकारको गलत भन्सार नीतिका कारण विराटनगर बजार गुल्जार हुन सकेको छैन। अर्थमन्त्री रामशरण महतसँग विराटनगरलाई भारतको जोगवनी बजारभन्दा सस्तो वा समान स्तरको पार्ने नीति निकाल्ने उपाय खोज्नुको विकल्प छैन। अन्यथा नेपालको तराईमा कुनै सहर पनि गुल्जार हुने सम्भावना समाप्त हुँदैछ। सहर समाप्त हुन समय लाग्ला तर विराटनगरका मध्यम र निम्न मध्यमवर्ग चार वटा साबुन र दुई किलो चिनी किन्न पनि जोगबनी जान्छन्, साडी चोलो र भाँडावर्तन पनि त्यहीँ किन्छन्। ५ करोडको न्यूनतम बिक्री जोगबनीमा प्रतिदिन नेपालीका कारण हुन्छ। यो क्रममा प्रत्येक दिन भन्सार कार्यालय र एजेन्टबाट विराटनगरबासी अपमानित र प्रताडित हुनुपर्ने बाध्यता र तिक्तता उदेकलाग्दो छ। 
सय वर्ष अगाडि जतिखेर विराटनगरको गर्भाधान हँुदै थियो, संयोगले त्यही समय बिपी कोइराला बनारसको कुनै अस्पतालमा जन्म लिँदै थिए। विराटनगरको परिचय स्थापना समय, बिपीको जन्म र प्रथम विश्वयुद्धको घोषणा संयोगले एकै समय जस्तो भयो। यी तिनै कुराको विराटनगरसँग सिधा सम्बन्ध छ। राजनीतिक, आर्थिक र सामाजिक सम्बन्ध छ। अब ती पुराना सम्बन्धले मात्र आधुनिक विराटनगर बन्दैन, नयाँ सन्दर्भ अगाडि आएका छन् त्यसलाई समातेर अगाडि बढ्नुको विकल्प छैन। 
विराटनगर बिग्रेको छ, विराटनगर बन्दैछ। कुन कुरा छान्ने, कसले विराटनगरको अपनत्व लिने भन्ने कुरा मूल प्रश्न भएर अगाडि आएको छ। राजधानी बसी विराटनगरको भावना बेचेका छन् एकथरिले, विराटनगर बसी यसको अपनत्व गर्ने राजनीतिकर्मीले नगरबासीलाई साथै लिएर अगाडि बढ्नु र विराटनगरको विकास गर्नुको विकल्प छैन।

प्रकाशित: ११ वैशाख २०७१ ०१:५७ बिहीबार