अन्य

बाटोले फेरियो महिला दैनिकी

तमोर नदीकिनारस्थित माझी समुदायको बाक्लो बस्ती रहेको माझीटारको मुख्य आय डुंगा खियाउनु थियो। मानिस र सामान तारेर गुजारा गर्दै आएका उनीहरुको परम्परागत माछा मार्ने पेसाबाट कमाउनु निकै कष्टकर थियो। माछा मारेर मात्र भएन, बेच्न करिब १० किमी टाढाको पाँचथर सदरमुकाम फिदिमबजार पुग्नुपर्ने। पाँचथर र तेह्रथुम जोड्ने तमोर वारपार गर्ने झोलुंगे पुल विकल्पहीन थियो। माझीटार बटुवा विश्राम गर्ने, माछाका साथा चिया–चमेना गर्ने थलो थियो, स्थानीयले उनीहरूबाट उल्लेख्य आम्दानी गर्थे। 
चार वर्षअघिसम्म माझीहरूको जीवन गुजाराका लागि तमोर नदी मुख्य सहारा थियो। विशेषगरी पुरुषहरू तमोरबाट आम्दानी निकाल्थे। फिदिमको जोरसालबाट माझीटार हँुदै तमोर तरेर मध्यपहाडी लोकमार्ग तेह्रथुमतर्फ गएपछि र तमोर नदीमा पक्कीपुल सञ्चालनमा आएपछि स्थानीयले अनुमान गरेका थिए, अब डुंगा नचल्ने भए, किनकि बटुवाहरू गाडीमा हुँइकिने भए। माझीहरूका दिन झन् कष्टकर हुने भए। जब तमोरमा पुल बनेर माझीटारको आँगन चिर्दै मध्यपहाडी लोकमार्ग तेह्रथुम जिल्ला गएपछि माझीहरूका दैनिक बदलिएका छन्, उनीहरुको आर्थिक जीवन चौपट हुने आमधारणा पनि गलत साबित भएको छ। उनीहरू अहिले सडक र पुलसँगै आफैँलाई रुपान्तरण गर्दैछन्।
एकशब्दमा भन्नुपर्दा माझी समुदाय परिवर्तन आत्मसात गर्दै त्यसैलाई आयस्रोतको माध्यम बनाउन सफल भएका छन्।
माझीटारको दैनिकी अचेलबदलिएको छ।
हिजो डुंगा खियाउने हातहरु अहिले माछा तारिरहेका भेटिन्छन्। माछा मार्नेहरुले सदरमुकाम कुद्नु पनि पर्दैन, बजारबाट ग्राहक मोटरसाइकलमा हुइँकिँदै तमोर किनारसम्म आइपुग्छन्। तमोर तीरमा रेस्टुरेस्ट खुलेका छन्। आवातजातवत बाक्लिएसँगै व्यापारिक गतिविधि बढेको छ। 

मध्यपहाडी लोकमार्गले सतहमा देखिने यस्ता सामाजिक, आर्थिक परिवर्तनबाहेक मानिसका जीवनै कायापलट गर्ने थुप्रै सम्भवाना सिर्जना गरेको छ।
सडक सञ्जालबाट लाभान्वित माझीटारका महिला निकै लाभान्वित देखिन्छन्।
निर्माणाधीन भारतको सिक्किम सिमाना पाँचथरको चिवाभन्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको करिब ६ सय किलोमिटर लामो मध्यपहाडी लोकमार्ग आसपास बस्तीका महिलामा परिवर्तन र विकासले सुविधा मात्र थपेन, सिपको सदुपयोगबाट उनीहरुलाई आयआर्जन गराउँदै आत्मनिर्भर बनाउन थालेको छ। ग्रामीण महिलाहरूले डोको, नाम्लोबाट मुक्ति पाउन थालेका छन्। घाँस, दाउरा, पानी, पँधेरो र ढिकीजाँतोबाट उम्कनै नसक्ने विगतको कहर अहिले तीतो सम्झनामा परिणत हुन थालेको छ।
मोटर चलेपछि एक्लै टाढाटाढा यात्रामा निस्कन सहज भएको छ महिलाहरुलाई। यो स्वतन्त्रताले उनीहरुमा व्यावसायिक बन्न उत्सुकता बढाएको छ। बच्चा पाउन अस्पतालै जानुपर्छ भन्ने चेतनाले महिला र बालस्वास्थ्यमा सकारात्मक परिणाम दिन थालेका छन्।
एक वर्षअघि तमोरको पुलबाट गाडी आउजाउ गर्न थालेपछि माझीटार कसरी बदलियो? 
स्थानीय निर्मला माझी भन्छिन्, 'बाटो बनेपछि जेमा पनि पैसा आउने रहेछ, गिट्टी कुटे पनि, दाउरा काटे पनि, खर वा बालुवा चाले पनि, जताततै पैसै पैसा!' सडक भनेको अवसर हो भन्ने उनले यही एक वर्षबीचमा राम्ररी बुझिन्। 'जाँगर गर्नुपर्छ, काम गर्न लाज मान्नुहुँदैन,' निर्मलाले भनिन्, 'जताततै पैसा हुने रहेछ।'
दस किमी टाढा सदरमुकाम फिदिमबाट पिठ्युँमा चामलका बोरा ओसारेका दिन उनी भुल्न सक्दिनन्। 'अहिले त फिदिमका व्यापारीलाई सामान पठाइदेऊ भनेर मोबाइल गर्यो , गाडीवालाले घरमै ल्याइदिन्छन्,' उनले बाटोले हटाएको कहर सम्झँदै सुनाइन्। पहिले गाउँघरमै महिला सुत्केरी हुन्थे, अहिले गाह्रोसाह्रो पर्दा एम्बुलेन्स आइहाल्छ। 
तेह्रथुम, चुहानडाँडाकी गौरा प्रसाईंको अनुभवमा मोटर चलेपछि महिलाहरू एक्लै टाढाटाढा जानसक्ने भएको बताउँछिन्। 'जान्छौं भनेको ठाउँमा पनि एक्लै जान सक्दैनथ्यौँ, अहिले गाडी चढेर जताजतै जान सकिने भइयो,' गौरीले गर्वसाथ सुनाइन्, 'हामी महिला अहिले आत्मनिर्भर बन्दै गएका छौं, हिँडडुल गर्न र व्यवसायमा लाग्न यातायातले सहज बनाएको छ।' 
पूर्वमा वामपन्थी राजनीतिको उर्वर भूमि भनेर चिनिएको र २०१७ सालमै तेह्रथुम क्याम्पस स्थापना भएर शिक्षाकेन्द्र बन्न पुगेको चुहानडाँडाबाट बसाइँ सर्नेहरूको संख्या ठूलो छ। बसाइँसराइमा तेह्रथुम पूर्वी पहाडमै अगाडि छ। हुनेखानेहरू झापाको बिर्तामोड, विराटनगर र काठमाडौं झरेपछि बाँझा खेतबारी उत्तिस जंगल बनेका थिए। अहिले मध्यपहाडी लोकमार्गको चौडा ट्र्याकमा ट्रकहरू कुद्छन्, मूल्यहीन उत्तिस मूल्यवान भएको छ । मधेसबाट ग्यासका सिलिन्डर बोकेर आएका ट्रकहरू चुडानडाँडाका पाखाबाट उत्तिसका गोलिया बोकेर झापा झर्छन्। दाउरा बालेर नसकिने उत्तिस मूल्यवान बनेको स्थानीय बताउँछन्। 
प्रसाईंको विश्लेषण भने फरक छ। 'उत्तिसका मात्र दिन आएका छैनन्, बाटोले महिलाका दैनिकी नै फेरिदिएको छ,' उनले भनिन्, 'अब महिलाहरू दाउरा होइन, ग्यास स्टोभ चलाउन थालेका छन्।'
संक्रान्ति, पुरानागाउँकी नूना श्रेष्ठ बाटो आएपछि महिलाका काम सजिलो भएको सुनाउँछिन्। 'जंगलबाट भारी बोकेर दाउरा ल्याउनुपर्दथ्यो, अहिले ट्याक्टरले ल्याइदिन्छ,' श्रेष्ठले भनिन्, 'धान, मकै बेच्न २–३ घन्टा उकालो हिँडेर संक्रान्ति बजार पुग्नुपर्थ्यो, अहिले धान, गहुँ किन्ने व्यापारी घरमै आइपुग्छन्।' 
श्रेष्ठको अनुभवमा बाटोले महिलामा आर्थिक रुपले पनि निकै परिवर्तन ल्याएको छ। 'घरबारीका सागपात बेचेर पनि पैसा आउने भयो, बाख्रा, पाठा बेच्दा पनि पैसा आउने भयो,' उनले भनिन्, 'महिलाका हातमा पैसा पर्न थालेको छ।' 
सोक्माटार, ओखलढुंगाकी ८७ वर्षीया बाचीरत्न राई आफ्नो जमानाका दिन सम्झँदै अहिलेका महिलालाई बाटो र यातायातले धेरै सुविधा दिएको बताउँछिन्। 'बेसाहा (धान, चामल, मकैजस्ता अन्न किनेर ल्याउन) लिन ७–८ दिन पैदल हिँड्नुपर्ने थियो,' राईले भनिन्, 'अहिले तेल, नुन, चामल, तरकारी पनि गाडी चढेर आउँछन्।' राई आफू भने गाडीमा चढ्न चाहँदिनन्। जीवनमा पहिलोपटक सदरमुकाम ओखलढुंगा जाँदा जिप चढेकी उनलाई वाकवाकी लाग्ने र बूढो ज्यान नराम्ररी गल्ने भएपछि 'अब गाडी नचढ्ने' निधो गरेकी छन्। आफैं केही गर्छु भन्ने महिलाका लागि भने सडक अवसर बनेको उनको धारणा छ। 'पहिले हामीले गरेजस्तो दुःख छैन, अहिलेका छोरी, बुहारीलाई,' आफ्नो जमानीका दिन सम्झँदै राईले भनिन्, 'हाम्रा पालामा एक्लै टाढा जान सकिन्नथ्यो। अहिले जहाँ जान्छु भन्दा पनि हुन्छ, जस्तो व्यापार, व्यवसाय गर्छु भन्दा पनि हुन्छ।' 
पाचथर च्याङथापुकी कस्मेटिक पसले तारा सिवाकोटी बाटो खुलेपछि महिलाका लागि व्यापार व्यवसाय गर्न सहज भएको बताउँछिन्। उनका अनुसार बाटोमा गाडी चल्न थालेपछि व्यापारमा लाग्ने महिलाहरू बढिरहेका छन्। राणाकालीन बजार च्याङथापुमा तीन वर्षअघिसम्म सडक सपनाझैँ थियो। करिब ३० किमी टाढाको थुर्पुबाट सामान ल्याउनु–पुर्या्उनुपर्दाको पीडा सम्झँदै सिवाकोटीले भनिन्, 'पहिले पसलका सामान मानिसले डोकामा बोकेर ल्याउनुपर्दथ्यो, अहिले गाडीले ल्याउँछ।' गाडी चल्न थालेपछि अदुवा, अमि्रसोले बजार पाएको सुनाउँदै सिवाकोटीले भनिन् 'बारी, कान्लाका उत्पादन बिक्न थाले, महिलाका हातमा पैसा आउन थाल्यो।' 
बाटोसँगै गाउँगाउँमा बजार पुगेको छ। खोटाङ अर्खोले–७ की मोतीरुपा भट्टराई बिहानै स्कुल पढ्ने छोरीसँगै फापर र धनियाँको साग लिएर अखर्ोैलेबजार आइन्। छिनमै होटललाई साग र धनियाँ बेचिन्। तीन वर्षयता दित्ते्कल–घुर्मी बाटो चलेपछि अर्खोले यात्रु र चालकको बिसाउनी भएको छ, खाना, खाजा खाने होटल व्यवसाय सप्रिएको छ। बाटो चलेपछि मकै, कोदो रोप्ने बारीमा धनियाँ, आलु, लसुन, प्याजजस्ता तरकारी लगाएको भट्टराईले सुनाइन्। स्थानीय उत्पादनले होटलका माग पूरा हुने गरेको व्यवसायी बताउँछन्। 'हाम्रो जीवनमै धेरै परिवर्तन आएको छ,' उनले भनिन्, 'सागपात बेचेको पैसाले नुन, तेल, साबुन किन्छु, छोराछोरीलाई कापीकलम किन्न अरुसँग पैसा माग्नुपर्दैन, म पैसा खेलाउने भएकी छु।' 
(पाँचथर संवाददाता गिरिराज बाँस्कोटा र खोटाङका दमन राईको सहयोगमा)

प्रकाशित: ११ वैशाख २०७१ ०१:२५ बिहीबार