केही अघिसम्म गुजाराका लागि जागिर खोज्ने या विदेश जान मरिहत्ते गर्ने पश्चिमेली युवा अचेल धमाधम उद्योगमा लगानी गर्न थालेका छन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार २०६९ सालमा २ सय ९७ नयाँ उद्योग दर्ता भएको बाँकेमा २०७० मा त्यस्तो संख्या ३ सय ३६ रह्यो। २०७० सालमा खुलेका उद्योगमा करिब ५० करोड रुपैयाँ लगानी भएको कार्यालयको अनुमान छ। 'पछिल्लो तीन–चार वर्षयता बाँकेमा हरेक वर्ष उद्योग बढिरहेका छन्,' घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शिक्षक ऋषि पोखरेल भन्छन्, 'यो युवामा केही गर्नुपर्छ भन्ने भावना पलाएको परिणाम हो।'
कार्यालयका अनुसार बाँकेमा हालसम्म विभिन्न खाले २ हजार ३ सय ८० उद्योग दर्ता छन्। तीमध्ये ९५ प्रतिशत जति सञ्चालनमा रहेको पोखरेल बताउँछन्। यहाँका ठूला, मझौला र साना उद्योगमा करिब ४ अर्ब रुपैयाँ लगानी भएको अनुमान छ। 'सानामात्र करिब २ अर्ब लगानी पुगेको छ,' पोखरेलले भने, 'ठूला र मझौलाको विवरण विभागमा हुन्छ।'
पछिल्लो समय बाँके र आसपास जिल्लामा उद्योग खोल्ने क्रम किन ह्वात्तै बढ्यो त? व्यक्तिपिच्छे फरकफरक जवाफ छ। नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव विष्णु लामिछाने नेपालगन्ज र आसपास इलाकामा एक्कासि उद्योग संख्या बढ्नुको मुख्य कारण सस्तो जमिनलाई ठान्छन्। 'अन्यत्रको तुलनामा नेपालगन्ज र आसपासमा जमिन सस्तो छ,' लामिछानेले भने, 'यसले लगानी घटाउने हुँदा धेरैको आकर्षण बढेको छ।'
नेपालगन्जका कतिपय उद्योगी लोडसेडिङ नहुनुलाई मुख्य कारण ठान्छन्। देशको राजधानीलगायत अधिकांश सहर घन्टौं लोडसेडिङको चपेटा परेका बेला नेपालगन्जमा बिजुली आइरहन्छ। ३० वर्षदेखि भारतबाट आयातीत बिजुलीले नेपालगन्जलाई लोडसेडिङको अँध्यारोबाट मुक्त परै राखेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालगन्जमा भारतबाट १२ मेगावाट बिजुली आपूर्ति भइरहेको छ। प्राधिकरणका एकजना अधिकारी पुष्पराज पन्त नेपालगन्जको आवश्यकता १५ मेघावाट भए पनि औद्योगिक क्षेत्रमा सहज आपूर्तिको व्यवस्था मिलाइएको बताउँछन्। 'औद्योगिक क्षेत्रका लागि छुट्टै फिडरको व्यवस्था गरेका छौं,' पन्तले भने।
सस्तो जमिन र अखण्ड ऊर्जा आपूर्तिको अलावा उद्योगमा लगानी आकर्षित गर्ने अर्को तŒव सीमावर्ती भारतीय सहरलाई ठान्नेहरू पनि निकै छन्। यती र स्टार सिमेन्ट उत्पादन गर्दै आएको जयमंगलम् सिमेन्टस् प्रालिका प्रबन्ध निर्देशक सञ्जय अग्रवालको बुझाइमा मध्य र सुदूर पश्चिमलाई आवश्यक पर्ने वस्तु टाढाबाट ढुवानी गर्दा लाग्ने चर्को भाडा पनि यस क्षेत्रमा उद्योग स्थापनाको गति बढ्नुको कारण हो।
'अन्यत्रका कारखानाबाट उत्पादित सामान पश्चिम ल्याउँदा ढुवानीमा निकै खर्च हुन्छ,' उनले भने, 'त्यो खर्च जोगाउन लगानीकर्ताले पश्चिमलाई चाहिने वस्तु उत्पादन गर्न यतै उद्योग खोलेका हुन्।' नेपालगन्जका एक उद्योगी अग्रवालकै भनाइमा सही थाप्छन्। 'सिजी फुडस्ले बर्दियामा नयाँ कारखाना लगाउने तयारी गर्नुको मुख्य कारण ढुवानी खर्च घटाउन प्रणस नै हो।'
नेपालगन्ज र आसपास क्षेत्रमा देशका अन्य भागमा रहेका ठूला उद्योगका शाखा खोल्ने र ठूला उद्योग थपिने क्रम बढेको छ। दाङको सोनापुर र घोराही सिमेन्ट उद्योगले उत्पादन सुरु गरिसकेका छन्। नेपालगन्ज र दाङमा तीनवटा सिमेन्ट उद्योग सञ्चालन तयारीमा छन्। दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमताको जयमंगलम्का प्रबन्ध निर्देशक अग्रवाल पश्चिममा धमाधम उद्योग थपिनुको अर्को कारण बढ्दो बजारलाई मान्छन्।
मध्य तथा सुदूरपश्चिमको व्यापारिक केन्द्र नेपालगन्जमै भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बनाउने तयारीले बाँके र आसपास जिल्लालाई लगानीमैत्री क्षेत्रमा रुपान्तरण गर्दैछ।
यहाँ स्थापित कतिपय उद्योगले स्थानीय आवश्यकता पूरा गरी आफ्ना उत्पादन जिल्लाबाहिर पठाइरहेका छन्। जयमंगलम् सिमेन्टस्, विनोद मेटल, लक्ष्मी प्लास्टिक, शिखर तथा गणपति प्लाइउड उद्योग, वागेश्वरी आइरन, केएल दुगडको सौरभ आयल मिल र विकास फ्लोर मिल, पूजा दाल मिल तथा पानस फर्मास्युटिकलले आफ्ना उत्पादन देशका विभिन्न भागमा पठाइरहेका छन्।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव विष्णु लामिछाने उद्योग स्थापनाको गति हेर्दा अबको दुई–तीन वर्षमा बाँके, बर्दियालगायत जिल्ला अर्कै रुपमा देखापर्ने अनुमान गर्छन्। 'त्यतिबेला यहाँ प्रशस्त आर्थिक विकास भइसकेको हुन्छ,' उनले भने।
यवसायीका अनुसार बाँके जिल्ला शुद्ध पानी उत्पादनमा आत्मनिर्भर छ। स्थानीय स्तरमै अत्याधुनिक प्रविधिबाट उत्पादन हुन थालेपछि भारतबाट सिमेन्ट आयात निक्कै घटेको छ। भौगोलिक वनावट र पश्चिमका धेरै जिल्लालाई पायक पर्ने अवस्थितिले पनि नेपालगन्जलाई औद्योगिक नगरीमा रुपान्तरण गर्दैछ। भारतसँग सीमा जोडिएका कारण उद्योगलाई चाहिने कच्चा पदार्थ आयात गर्न सहज छ।
उद्योगी व्यवसायी बाँकेमा उद्योग विस्तारको सम्भावना व्यापक देख्छन्। तर सरकारबाट पर्याप्त सहयोग नहुँदा आवश्यक मात्रामा उद्योग खुल्न नसकेको र खुलेकाले पनि यथेष्ट फाइदा लिन नसकेको उनीहरुको गुनासो छ। '४० वर्षअघि स्थापना गरिएको औद्योगिक क्षेत्र साँघुरिइसकेको छ,' एक उद्योगीले भने, 'सरकारले उद्योग स्थापनाका लागि जमिन उपलब्ध गराउन सके कैयौं उद्योग थपिन्छन्।'
उद्योग वाणिज्य संघका महासचिव लामिछाने केही वर्षदेखि नेपालगन्जमा औद्योगिक करिडोर स्थापना गर्ने प्रयास भए पनि सरकारी निकायले चासो नदिँदा त्यो योजना कल्पनामै सीमित भइरहेको बताउँछन्। 'भौगोलिक वनावट र विभिन्न सुविधाले थुप्रै उद्योग स्थापना गर्न सकिने सम्भावना छ,' उनले भने। व्यवसायीका अनुसार नेपालगन्जका उद्योग कम्तीमा पाँच हजार मजदुर र तिनका आश्रितको रोजीरोटी स्रोत बनेका छन्।
पर्याप्त मात्रामा उर्वर जमिन रहेको बाँकेमा केही समययता कृषिजन्य उद्योग पनि थपिन थालेका छन्। २०६९ सालमा २६ कृषि र वनजन्य उद्योग दर्ता भएको यो जिल्लामा २०७० सालमा त्यस्ता ४० उद्योग दर्ता भए। गाउँगाउँमा व्यावसायिक गाईपालन बढ्दा गत वर्षदेखि बाँके दूधमा आत्मनिर्भर बनेको जिल्ला पशु चिकित्सक जनकराम भण्डारीले जानकारी दिए। अहिले बाँकेमा ३९ भैंसी फार्म छन्। उन्नत जातका गाई पालिएका फार्म संख्या पाँच दर्जन नाघेको (६३) छ । बाँकेमा वार्षिक ७० हजार मेटि्रक टन जति दूध उत्पादन भइरहेको पशु सेवा कार्यालयको तथ्यांकले देखाउँछ।
प्रकाशित: ११ वैशाख २०७१ ०१:१४ बिहीबार