अन्य

अन्तिम दिन ९ पदक

काठमाडौं– नेपालले सातौं एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा अन्तिम दिन बुधबार ३ रजत र ६ कांस्य पदक जितेको छ।त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा नेपालको ब्वाइज जुनियर (१४–१६ वर्ष) र गर्ल्स जुनियर टिम इभेन्टको स्पाइरिङ र गर्ल्स सिनियर टिम स्पेसल टेक्निकलमा रजत पदक जितेको थियो। नेपालका पवन तामाङले व्यक्तिगत स्पाइरिङ ८५ केजीमाथिको तौल समूहमा कांस्य जिते। 
नेपालले गर्ल्स टिम (१६–१७ वर्ष) स्पाइरिङ, गर्ल्स जुनियर प्याटर्न, गर्ल्स जुनियर स्पाइरिङ, गर्ल्स सिनियर टिम प्याटर्न र सेल्फ डिफेन्स गर्ल्स जुनियरमा कांस्य जित्यो। 
प्रतियोगितामा उत्तर कोरिया सिनियर टिम च्याम्पियन भयो। उत्तर कोरियाले सिनियरमा २४ स्वर्ण र ४ रजत पदक जित्यो। दोस्रो स्थानको ताजकिस्तानले ३ स्वर्ण, १२ रजत र ७ कांस्य तथा तेस्रो स्थानको 
काजकिस्तान ३ स्वर्ण, ४ रजत र ५ कांस्य पदक जितेका थिए। 
जुनियरतर्फ ताजकिस्तान २६ स्वर्णसहित शीर्ष स्थानमा रह्यो। काजकिस्तान ८ स्वर्ण र तुर्कमेनिस्तानले २ स्वर्ण जित्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
सिनियर पुरुषमा उत्तर कोरियाका क्योङ हुम रा र महिलामा कोरियाकै मी ह्याङ पाक उत्कृष्ट खेलाडी भएका छन्। जुनियर पुरुषमा तुर्कमेनिस्तानका ओराजमिराट चारी र महिलामा ताजकिस्तानकी सिरिन्बोनु नइभेभ उत्कृष्ट भए। 
प्रतियोगितामा नेपालले कुल १ स्वर्ण, ७ रजत र १५ कांस्य जितेको छ। पहिलो दिन नेपालकी निस्मा बस्यालले १६ वर्षमुनि पहिलोदेखि तेस्रो डानतर्फको ४० केजी तौल समूहमा ताजकिस्तानकी निशोना फइजेभालाई हराउँदै स्वर्ण जितेकी थिइन्। दोस्रो दिन नेपालका पवनकुमार तामाङ, आस्मा श्रेष्ठ, तुलसा राजथला र मुना बमजन कांस्य जितेका थिए। 
इन्टरनेसनल तेक्वान्दो महासंघ (आइटिएफ नेपाल) को आयोजनामा भएको प्रतियोगिताका विजयी खेलाडीलाई खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पुरस्कृत गरेका थिए।

प्रकाशित: १० वैशाख २०७१ २२:४८ बुधबार