अन्य

एसियाली आइटिएफमा चार कांस्य

काठमाडौं– सातौं एसियाली तेक्वान्दो (आइटिएफ) च्याम्पियनसिपमा मंगलबार नेपाली खेलाडीले चार कांस्य पदक जितेका छन्। कांस्य जित्नेमा पवनकुमार तामाङ, आस्मा श्रेष्ठ, तुलसा राजथला र मुना बमजन थिए। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पवनले १८–३९ वर्षको पहिलोदेखि चौथो डानको ८५ केजीभन्दा माथि स्पाइरिङमा कांस्य जिते।उनीसँगै संयुक्त अर्को कांस्य जित्ने कम्बोडियाका चान्ला चिए थिए। 
उक्त स्पर्धामा उत्तर कोरियाका चुङ रिओल हामले स्वर्ण र काजकिस्तानका इभगेनिए साईमले रजत जिते। 
मुनाले सिनियर १८–३९ वर्ष (६३ केजीभन्दा कम तौल) मा कांस्य जितिन्। 
उक्त समूहमा उत्तर कोरियाकी मि ह्याङ पाकले स्वर्ण र ताजकिस्तानकी नोदिरा इसाभाले रजत र हङकङकी पुइ चि सोले कांस्य जितेका थिए। 
५७ केजीभन्दा कम तौलमा तुलसाले कांस्य जितिन्। उत्तर कोरियाकी हिइ रा ओमले स्वर्ण, भारतकी भनिथा एमले रजत र ताजकिस्तानकी गन्जिना खाबिबुलले कांस्य जितेका छन्।
५१ केजीभन्दा कम तौलमा उत्तर कोरियाकी सु योङ ह्वाङले स्वर्ण, ताजकिस्तानकी जुहरो खोलोभोले रजत, नेपालकी आस्मा र मंगोलियाकी ओटगोन टेसटेसिग बी ले कांस्य जिते। 
मंगलबार जितेको चार पदकपछि नेपालको पदकसंख्यामा १ स्वर्ण, ३ रजत र १५ कांस्य पुगेको छ। 
सोमबार नेपालकी निस्मा बस्यालले स्वर्ण पदक, रिना धिमाल, सिर्जना राई र वसन्ती बुढाले स्पाइरिङमा रजत तथा गोपाल चन्द, विराज बुढामगर, सचिन्द्र तामाङ, सीमा थापा सारु, प्रशंसा रेग्मी र जुनियर स्पाइरिङ टिमले कांस्य जितेका थिए। प्रतियोगिताको तेस्रो दिन उत्तर कोरियाले १८ स्वर्ण, ताजकिस्तानले २, मलेसिया र काजाकिस्तानले १–१ स्वर्ण जितेका छन्।

प्रकाशित: ९ वैशाख २०७१ २०:३३ मंगलबार