इलाम— केही महिनाको अन्तरमैं नेपालीमूलका चार युवती रैथाने पुरुषबाट बलात्कृत भएपछि पूर्वोत्तर भारतको सानो राज्य मणिपुरमा बस्ने नेपालीभाषी आन्दोलित छन्। पछिल्लोपल्ट एक १३ बर्षे किशोरी स्थानीय ६५ बर्षे पुरुषबाट बलात्कारको शिकार हुँदा मणिपुरका नेपालीभाषीको विरोध प्रदर्शनलाई भारतभरका गोर्खा संघ संगठनले सघाउँदैछन्।
बलात्कारीलाई कारवाही माग गर्दै निकालिएको प्रदर्शनमा दुई नेपालीभाषी युवकको मृत्यु भएको छ। आधा दर्जन घाइते छन्। पीडितलाई न्याय दिनुपर्ने, बलात्कार श्रृंखला रोकिनुपर्ने र गोर्खा समुदायको सुरक्षा हुनुपर्ने मागसहित राष्ट्रिय राजमार्ग बन्द गरी भइरहेको प्रदर्शनमा मणिपुर पुलिसले अश्रुग्यास छोड्दै रबरको गोली हानेको छ। प्रदर्शन जारी छ।पछिल्लोपल्ट १७ अप्रिलको लोकसभा चुनावका दिन इम्फालस्थित पावोमाइ कोलोनी बस्ने ६५ बर्षे ठेकेदार एस मापुनीले त्यहीं बस्ने ६ कक्षा अध्ययनरत १३ बर्षीया नेपालीभाषी किशोरीलाई बलात्कार गरेका थिए। दिल्ली बस्ने छोरीको नामबाट 'प्रोक्सी' मतदान गराउन स"गै लगेका उनले इम्फालभन्दा ८ किमी टाढा जंगलमा दुष्कर्म गरेका हुन्।
कोलोनीमा लामो समयदेखि सँगै बस्ने मापुनीले ती किशोरीलाई पहिल्यैदेखि गलत दृष्टिले हेर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बलात्कारको घटनापछि भागेका ठेकेदारलाई पुलिसले पक्रेको जनाए पनि गोर्खा समुदायले पत्याएका छैनन्। अल्पसंख्यक हुँदा सधैं थिचोमिचो सहनुपरेको भन्दै उनीहरुले यसपल्ट पीडकलाई कारवाही माग गर्दैछन्।
घटनाको विरोध गर्दै नेपालीभाषीले इम्फालमा प्रदर्शन जारी राखेपछि भारतीय गोर्खा परिसंघ अध्यक्ष एनोसदास प्रधानसहित धेरैले विरोध गरिरहेका छन्। 'अल्पसंख्यक गोर्खा समुदायमाथि यस्ता जघन्य घटना बन्द गरिनुपर्छ' प्रधानले फेसबुक पेजमा लेखेका छन्, 'बारम्बार दोहोरिइरहने यस्ता घटनाले भारतमा छरिएका गोर्खाहरु सधैं अन्यायमा पर्दैछन्।'
मणिपुरमा छोटो अवधिमै चार नेपालीभाषी बलात्कारको शिकार भएको उल्लेख गर्दै 'असमेली गोर्खा'ले यसप्रति कडा आपत्ति जनाएको छ । भारतभर छरिएका लाखौं गोर्खामध्ये पूर्वोत्तर राज्य असम, मेघालय, मणिपुर, नागाल्याण्डमा रैथानेबाट सधैं हिंसाको सताइनुपरेको भन्दै सरकार र अधिकारवादीले त्यसमा ध्यान नदिएको गुनासो गरेको छ।
प्रकाशित: ६ वैशाख २०७१ २१:२० शनिबार