अन्य

के के गर्‍यौ गावो?

‘कुन पुस्तक पढ्दै हुनुहुन्छ?' ‘मार्खेजको वान हन्डे्रड इयर अफ स्यालिच्युड।' नेपालमा यसरी कुरा सुरु भो भने कुरा चंगाको धागोझैँ लम्बिँदै जाने खतरा हुन्छ। कुनै रेस्टुराँको कुर्सीको भाडास्वरुप स्वाद गुमाउँदै गएका चियाका चुस्कीहरु बढ्न सक्छन्।‘मैले त पढ्न सुरु गरेको बीचैमा छाडेँ।' 
‘मलाई त पात्रहरुका नामले अल्मलायो। बीचतिर गएपछि त मेसो नै पाइनँ।' 
म पनि यस्ता गफहरुको कयौँपल्ट साक्षी बसिसकेको छु। नेपाली साहित्य सर्कलमा मार्खेजका बारे कुरा भो भने सिलसिला लामै चल्छ, तर कुनै निष्कर्ष निस्किँदैन। 
के मार्खेज साँच्चिकै जटिल लेखक हुन् त? के मार्खेजको लेखन बुझ्न एकजुनी काफी छैन?
म यी प्रश्नमा अहिले पनि गम्भीर छु। 
जसलाई सोध्यो– उसले भन्छ, मार्खेजको लेखन जटिल छ। तर पनि नेपाली अखबारका शनिबारीय पृष्ठहरुमा मार्खेज पढिरहेका कुरा उल्लेख भइरहन्छन्। र, साहित्यिक सल्लाहकारहरु नयाँ बुकवार्महरुलाई दुइटा सल्लाह दिइरहन्छन्। १. पाउलो कोयलो पढेर समय खेर नफाल्नू २. मार्खेज पढ्ने आँट नगर्नू। 
यस्ता सल्लाहको भुक्तभोगी म आफैँ पनि हुँ। 
मैले पहिलोपल्ट मार्खेजको नाम कहाँ सुनेँ? कहाँ पढेँ? ठ्याक्कै शुभदिन थाहा छैन। न्युरोडको कविकुनामा नारायण ढकालले मार्खेजको नाम दोहोर्‍याएको चाहिँ सम्झना छ। त्यसैले नारायण ढकाल मेरा लागि मार्खेजका ब्रान्ड एम्बेसडर हुन्। त्यसैले विमल निभाले ढकाललाई ‘मार्खेज ढकाल' भनेका होलान्। 
कैलाली छँदा कमिक्स, अनि हिन्दी जासुसी उपन्यास पढ्नबाट म युधीर थापा र प्रकाश कोविदका उपन्याससम्म आइपुगेको थिएँ। काठमान्डु आइपुगेपछि, मनु ब्राजाकी, धच गोतामे, धु्रवचन्द्र गौतम, नारायण ढकाल, नयनराज पाण्डे, विमल निभा, पारिजात, शंकर लामिछानेसम्म पुगेँ।
त्यसपछि, हिन्दीमा कमलेश्वर, निर्मल बर्मा, राही मासुम रजा, मनोहरश्याम जोशी, उदय प्रकाशसम्म। 
यति पढिसकेपछि मलाई पठनको एउटा गोरेटो टुंगिसकेजस्तो लागेको थियो। नेपाली र हिन्दीका प्रायः आख्यान पढिसकेजस्तो। 
अंग्रेजी त लोककथाको लामो दाह्रा र नंग्रा भएको भूतजस्तो लाग्थ्यो। लामो समय अंग्रेजी किताब यसो सुम्सुम्याउँदै कुनै दिन अंग्रेजी जानिएला र पढौँला भन्ने आशा लागिरह्यो। म कल्पना गर्थेँ, राति निन्द्रामा कसैले जादुको छडीले मेरो निधार छुनेछ र बिहानपख म फररर अंग्रेजी भट्याउने भइसक्नेछु। तर, म अभागीको निधार कसैले जादुको छडीले छोएन। अझ भनौँ, ठ्याक्कै निधारको त्यो ठाउँमा छोएन जहाँनेर आमाले टीका लगाइदिनुहुन्छ। 
तर, अंग्रेजी साहित्य पढ्ने तिर्खा झन् बढ्दै गयो। 
भाषा कुनै दिन अचानक सिकिँदैन– कोसिस गर्नुपर्छ भनेर एकदिन ज्ञानआर्जन गरेपछि पुस्तक पसलका र्‍याकहरुबाट अंग्रेजी किताब बाहिर तान्न थालेँ। पाउलो कोयलो, हारुकी मुराकामीको आख्यान संसारभित्र पसेँ। त्यसपछि बाहिर निस्किनँ। 
बल्ल थाहा पाएँ, भाषा सिक्न र प्रेम गर्न एकैपल्ट पारंगत भइँदोरैनछ। 
एकदिन काँपिरहेका हातले मार्खेजको ‘वान हन्ड्रेड इयर अफ स्यालिच्युड' समाएँ। संयोगबस, हिन्दी अनुवाद रहेछ– सौ बरसका एकान्त। 
हिन्दी मलाई सहज भाषा लाग्छ। हिन्दी पढ्न र बोल्न गाह्रो लाग्दैन। तीन वर्षअघि मार्क टलीले मलाई सोधेका थे, ‘यस्तो राम्रो हिन्दी बोल्न कसरी सिक्यौ?' 
‘म जहाँ हुर्केँ, त्यही छेउमा भारतको सीमा थियो। हिन्दी कमिक्स आउँथे, कमिक्स पढ्दापढ्दै हिन्दी सिकेँ।' मैले भनेको थेँ, ‘अहिले सोच्छु, त्यो सीमामा भारत नभएर अमेरिका भएको भए, अंग्रेजी कमिक्स आउँथे र म अंग्रेजी सिक्थेँ।' 
उनी मज्जाले हाँसेका थे। 
तर आफूलाई सहज लाग्ने भाषामा पनि मार्खेज जटिल लागे। पढ्दै गयो– केही मेसो नपाइने। लुगा सुकाइरहेकी आइमाई अचानक उडेर आकाशमा गायब हुने। खै के हो, के हो? 
किताब कतै कुनातिर मिल्कियो। 
एकदिन लाग्यो– मार्खेजका अरू पुस्तक सजिला छन् कि? ‘लभ इन दि टाइम अफ कोलेरा' ट्याप्प समाएँ र फ्याट्ट पढ्न सुरु गरे। 
यो पुस्तक अलिक सहज लाग्यो। पुस्तक प्रेमका विषयमा थियो। तर मैले पढेका प्रेमकथा भन्दा एकदमै अलग। आदर्श प्रेममा परेको नायक नायिकालाई प्रेमपत्र लेखिरहन्छ। नायिकाको बिहे डाक्टरसित भए पनि नायक आफ्नो कुमारत्व प्रेमका लागि जोगाइरहन्छ। एकदिन पानीजहाजयात्रामा नायकले आफ्नो कुमारत्व गुमाउँछ। तर, कसले आफ्नो कुमारत्व हरण गरेको हो– थाहा पाउँदैन। किनभने, कसैले स्वात्त हात समाएर अँध्यारो कोठामा तानेको हुन्छ। नायकको सोच र जीवनशैली फेरिँदै जान्छ। र, उसले रक्सीको चुस्कीमा आफूले ४ सयभन्दा बढी युवतीसित सम्भोग गरेको पनि स्विकार्छ। 
बुढेसकालमा नायिकाको डाक्टर लोग्ने दुर्घटनामा बितेपछि, ऊ फेरि प्रेमिकाको जीवनमा प्रवेश गर्छ र पुस्तकको सुखद अन्त्य हुन्छ। 
यो पुस्तक पढेपछि लाग्यो– मार्खेज जटिल रैनछन्। उनका किताबका कथा सररर हेरिसकेको फिल्मको कथा सुनाएजसरी सुनाउन सकिने रैछ– जसरी भर्खरै मैले सुनाएँ। तर, उनको लेखनशैली, वाक्य गठन, बिम्ब र प्रतीकको प्रयोग चामत्कारिक हुनेरैछ। भनौँ, उनले आख्यान होइन, महाकाव्य लेखेका हुन्। 
मलाई लाग्छ– कहिलेकाहीँ लेखकको जीवनशैली, उसको जमिन र उसको संस्कृति थाहा नपाई पुस्तक बुझिँदैन। राहुल सांस्कृत्यानको पुस्तक ‘वोल्गा से गंगा' को भूमिकामा भदन्त आनन्द कौसल्यान लेख्छन्, ‘पुस्तक मन पर्नु र मन नपर्नु भनेको आफ्नो आफ्नो रुचिको मात्र कुरो होइन, योग्यता पनि हो।' 
मैले योग्यता बढाउन गुगलमा मार्खेजको नाम लेखेँ र ‘आएम फिलिङ लक्की' बटन दबाएँ। 
आफ्नै प्रिय मित्र मारियो भर्गास लोसाको मुक्काले आँखाको कटौरी निलै भएका मार्खेज भेटिए। आधा घन्टाको अन्तर्वार्ता दिँदा ५० हजार डलर पारिश्रमिक पाउने र अधिकांश अन्तर्वार्ता नदिने मार्खेज त्यहीँ भेटिए। 
मार्खेज कत्ति पनि आफ्नो नामजस्तो तिलष्मी थिएनन्। ग्रावियल ग्रासिया मार्खेजका ‘ग'हरुमा तेस्रा छड्के लौरा जोडिएका मार्खेज सोचेजस्ता भयानक लागेनन्। उनी त सहज तरिकाले भनिरहेका थे, ‘म धेरै वेश्याहरुसित सुतेँ, किनभने मलाई एक्लै सुत्न डर लाग्थ्यो।' 
संघर्षकालमा मार्खेज पत्रिकामा स्तम्भ लेख्थे। सधैँ एउटा बिफ्रकेस बोक्थे जसमा आधा लेखिएको उपन्यास ‘होम' को पाण्डुलिपि रहन्थ्यो। बिफ्रकेस पनि सहरमा हुलदंगा हुँदा पसलबाट झ्याप पारेका रैछन्। 
एकदिन ट्याक्सीमा बिफ्रकेस छुट्यो। मार्खेज तनावमा गए। किनभने, उपन्यास ‘होम' को आधा लेखेको पाण्डुलिपि त्यहीँ थियो। उनको तनाव देखेर सम्पादकले त्यही हप्ताको उनको स्तम्भमुन्तिर एउटा पुच्छर गाँसिदिए, ‘यस्तो बनोट र रंगको बिफ्रकेस हराएको छ, त्यसभित्र पाण्डुलिपिबाहेक केही छैन। कृपया भेट्नेले बिफ्रकेस राख्नुहोला, पाण्डुलिपि फिर्ता गरिदिनुहोला। संयोगबस, ब्रिफकेसको मालिक र यो स्तम्भको लेखक एउटै व्यक्ति हो।' 
तीन दिनपछि ट्याक्सी ड्राइभरले पाण्डुलिपि फिर्ता गरिदिएछ। रमाइलो कुरा के भने उसले तीन ठाउँमा भाषा पनि मिलाइदिएको रैछ। 
म पनि व्याकरण र शुद्धाशुद्धीमा कमजोर थिएँ। मार्खेजको यो प्रसंग दिमागमा ट्याटु खोपेजसरी बस्यो। 
यसरी मार्खेजको चैन हरेको उनको उपन्यास ‘होम' छापिएन। किनभने, मार्खेजले होमको विषयवस्तुलाई फेरि नयाँ शैलीमा लेखे, जुन पुस्तक अमर भयो– वान हन्ड्रेड इयर अफ स्यालिच्युडका नाममा। मार्खेजकी हजुरआमा मरेका पूर्वज, भूत र प्रेतात्माका कथाहरु आफ्नै आँखाले देखेजसरी सुनाउँथिन्। मानौँ, ती सबै करेसामा नाचिरहेका छन्। यस्तो जादुवी शैलीबाट प्रभावित मार्खेजले यो उपन्यास लेखेका रहेछन्। त्यही शैलीले उनलाई अमर बनायो। 
यति पढिसेकपछि मैले बल्ल मार्खेजको लेखनको थोरै भए पनि मेसो पाएँ। लुगा सुकाइरहेकी आइमाई अचानक आकाशमा उडेर गायब हुने कुरा त बिम्ब पो रैछ। हाम्रोमा पोइल गएकी छोरीलाई ‘त्यो मेरालागि मरी' भनेजस्तै।
यसरी मार्खेजलाई अलिकति बुझेपछि भने मलाई उनी भयानक लागेनन्। हामीजस्तै। हाम्रा लेखकजस्तै। र, लाग्यो– मार्खेजका आख्यानलाई आख्यान भनेर पढेपछि नबुझिने रैछ, उनको आख्यानलाई त कविता भनेर पढ्नुपर्ने रैछ। 
सानो कद, रुईजस्ता कपाल, बालकको जस्तो निर्दोष हाँसो, मोटा आँखीभौँ, बाक्ला जुँगा, बोल्दा चिम्सा हुने आँखा, बोल्दा नृत्यरत हात– मार्खेज हाम्रै चौतारीमा गफ लडाइरहेका हजुरबाजस्ता लाग्न थाले। 
पछिल्लो समयमा गायिका साकिरालाई प्रसन्न मुद्रामा अँगालो मारेर तस्बिर खिचाएका मार्खेज नयाँ उपन्यास लेख्न चाहन्थे। तर, उनको रहर पूरा भएन। एक त उनलाई आफूले लेखेको कत्ति पनि चित्त बुझ्दैनथ्यो। भन्थे, ‘म दिनभरिमा एक अनुच्छेद मात्र लेख्छु र भोलिपल्ट त्यसलाई पनि केरिदिन्छु।' सायद उनले सबै हरफ लेखिसकेका थिए, लेख्नलाई कुनै हरफ बाँकी थिएन। 
उनी, साहित्य मात्रै पढ्ने पवित्र विचार छाडिसकेको छु, भन्थे। तर, हात परेका सबै अखबार र म्यागेजिन पढ्थे। एकदिन श्रीमतीले अनौठो खबर सुनाइन्। ‘कहाँ पढेको?' भनेर सोध्दा उनले ब्युटिपार्लरमा भेटेको पत्रिकामा पढेको भनिन्। त्यसपछि उनले ‘गृहलक्ष्मी' टाइपका पत्रिका पनि पढ्न थालेका थिए। 
अर्को उनी विस्मृत हुँदै गएका थिए। आफैँले रचेका जादुवी संसारका पात्रजस्तो। 
८७ वर्षको उमेरमा मार्खेज यो संसारबाट हिँडे। सायद उनका आख्यानमा पाइने जादुवी स्वादको संसारमा पुगे होलान्। 
ईश्वरले सोध्लान्, ‘के के गर्‍यौ गावो?' 
मार्खेजको लामै लिस्ट सुनाउनेछन् र ईश्वरलाई ‘वान हन्डे्रड इयर अफ स्यालिच्युड' को एक प्रति दिनेछन्। ईश्वरले आफू छेउछाउका देउतालाई पुस्तक पढ्न सिफारिस गर्नेछन्।
किनभने ईश्वरलाई आफूले रचेको सृष्टि र मार्खेजले रचेको आख्यान उस्तै लाग्नेछ।

प्रकाशित: ६ वैशाख २०७१ ००:४३ शनिबार