अन्य

मार्खेज नपढ्नेहरूलाई

मार्खेज ‘म्याजिकल रियलिज्म' अर्थात् जादुयी यथार्थवादकै कारण विख्यात छन्। ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड' उपन्यासमा फ्यान्टासी र कल्पनाको मिश्रण नै अन्ततः यथार्थपरक देखिन पुग्यो। ‘लिफ स्टोर्म'मा संग्रृहीत कथाहरू, ‘नो वन राइट्स टु द कोलोनेल' वा ‘द जनरल इन हिज लेबिरिन्थ' चाहिँ सामाजिक यथार्थवादसँग नजिक छन्। ती केही राजनीतिक पनि लाग्छन्।उनी स्टाइलका त गुरु नै थिए। ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड'को सुरुमा कथानायक कसैलाई मार्न गइरहेको हुन्छ। सिंगै कथा उसले गरेको हत्या–तयारीको पछि घुमिरहन्छ। कसरी मार्ने, के गर्ने योजना त्यहाँ बुनिएको छ। त्यसरी कथानक संरचना रच्ने क्षमता भनेको दुर्लभ हो। अन्तिममा के हुन्छ भन्ने पाठकलाई थाहा भइसक्दा पनि पुस्तक छाड्न मान्दैनन्। मार्खेज त्यसरी लेख्थे।

अधिकांश कृति उनकै देश कोलम्बिया वरिपरिको परिवेशमा लेखिएका छन्। अझ उनको गाउँ आराकाटका वरिपरि, जहाँ उनी जन्मे। उनी आजीवन समाजवादी रहे। पत्रकारसमेत रहेका उनले राम्रा गैरआख्यान पनि लेखे। कोलम्बियामा कुनै बेला चलेका अपहरण र कार्टेलिङजस्ता विषयमा उनका कलम चल्थे। उनी उपन्यासमा मात्रै सीमित थिएनन्।

धेरै नपढी कोही पनि लेखक बन्न सक्छ भन्ने मलाई लाग्दैन। जसले मार्खेज पढेका छैनन्, उनीहरूले आफ्नो ज्ञान र अनुभूति बढाउन अनिवार्य रुपमा पढ्नैपर्छ। बेला अझै बितेको छैन।

प्रकाशित: ६ वैशाख २०७१ ००:२४ शनिबार