अन्य

तेक्वान्दोको खेलाडी छनोट

काठमाडौं– माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका लागि बुधबार १५ पुरुष र १२ महिला खेलाडी छनोट भएका छन्। च्याम्पियनसिप वैशाख २० देखि काठमाडौंमा हुने भएको छ। छनोट खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने आयोजक नेपाल तेक्वान्दो संघले जनाएको छ। बन्द प्रशिक्षणमा खेलाडीले गरेको प्रदर्शनका आधारमा च्याम्पियनसिपमा नेपालको 'ए', 'बी' र 'सी' टिम सहभागी गराइने भएको छ। 
बुधबार पुरुष ६८ केजीमुनि निश्चलमान श्रेष्ठ र आशिष महर्जन, ८० केजीमुनि विक्रम गुरुङ र भीमबहादुर खड्का छानिए। ८७ केजी माथि पूर्णसिंह गुरुङ, ६३ केजी मुनि सुजन जोशी र सदम थापामगर, ५४ केजीमुनि सुरेन्द्र खड्गी र चन्द्र रानामगर, ७४ केजीमुनि अनुज पुजारी र सक्षम कार्की, ८७ केजीमुनि गोपाल पुटुवार र लक्ष्मण महर्जन तथा ५८ केजीमुनि प्रदीप लामा र विशाल श्रेष्ठ छनोट भएका छन्।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्ना छनोट प्रतियोगिताबाट महिला ४६ केजीमुनि राखी शर्मा र सरिता श्रेष्ठ, ४९ केजीमुनि रेश्मा थापा र लक्ष्मी राणा छनोटमा परे। ५३ केजीमुनि सीता तामाङ र तारा जिसी तथा ५७ केजीमुनि अनिता घले र नम्रता तुलाधर छानिए। 
६२ केजीमुनि दीपशिखा राई र रेखमाया गुरुङ तथा ६७ केजीमुनि मीरा काफ्ले र आयशा शाक्य छनोट भए। 
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत भएको राष्ट्रिय तेक्वान्दोका स्वर्ण विजेतालाई 'ए' टिममा राखिएको छ। बुधबार भएको एकदिने छनोट प्रतियोगितामा ३१ पुरुष तथा २६ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ३ वैशाख २०७१ २०:३४ बुधबार