अन्य

भारत टिम च्याम्पियन

काठमाडौं– लिला अधिकारी, सुशीला अधिकारी र राजन जोशीले आइतबार सम्पन्न सातौं दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिपमा रजत पदक जितेका छन्। पहिलो दिन सुनीता बोहराले नेपालको लागि एकमात्र स्वर्ण पदक जितेकी थिइन।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा ४८ केजी भन्दा कम तौल समूहको फाइनलमा  आर्मीकी लिला पाकिस्तानकी हुमाइरा मासीसँग पराजित भइन्। सो तौल समूहमा तीन खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
भारतकी रजनी बालालाई पराजित गरेकी लिला हुमाइरासँगको खेल झिनो अन्तरले मात्र गुमाएको भएपनि स्वर्ण जित्ने सम्भावना रहन्थ्यो। तर लिला काउन्टर अट्याकमा नकआउट हुँदा रजतमा सीमित भइन्।
स्वर्ण जित्ने मौकाबाट चुकेपछि लिलाले प्राविधिक जानकारी नहुनु दूर्भग्जयनक रहेको बताइन्। 'मेरो लागि आज दूर्भाग्यजनक रहेछ। समयमै प्राविधिक जानकारी नपाउँदा स्वर्ण जित्ने मौका चुक्यो,' उनले भनिन्,'कम स्कोरले हारे पनि स्वर्ण जित्ने सम्भावनाबारे जानकारी हुन्थ्यो भने रक्षात्मक खेलेर सफलता पाउने थिए।'
आइतबार ७ मध्ये भारतले ४ र पाकिस्तानले ३ स्वर्ण पदकमा कव्जा जमाए। च्याम्पियनसिपमा भारत १० स्वर्ण जित्दै टिम च्याम्पिनय बन्यो। पाकिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहयो। नेपालले प्रतियोगितामा १ स्वर्ण ५ रजत र ८ कास्य जित्यो।
६६ केजी भन्दा कम तौल समूहमा भारतका सन्जुसिंह इरोमले अफगानिस्तानका जाकी मोहसिनलाई हराउँदै स्वर्ण जिते। नेपालका रमेश मगर र पाकिस्तानका मोहम्मद यासिर खानले संयुक्त रुपमा कंास्य जिते। ९० केजी भन्दा कम तौलमा भारतका अवतार सिंहले पाकिस्तानका अफजल बासिर मोहम्मदलाई हराउँदै स्वर्ण जिते। नेपालका श्रीराम मकाजु र अफगानिस्तानका मोहमदी तावाब अलिमाले कांस्य प्राप्त गरे।
१ सय केजी तौलमा पाकिस्तानका साह हुसैनले स्वर्ण, भारतका खादिन सिंहले रजत, अफगानिस्तानका रुवान जयवद्धने र मोहद ताफिक सिंहले कांस्य जिते। १ सय केजीभन्दा बढि तौल समूहमा पाकिस्तानका अहमद सेजाद भुटले नेपालका राजन जोशीलाई हराउँदै स्वर्ण प्राप्त गरे। श्रीलंकाका थाराङगा विमाल्सनाले कांस्य जिते।
नेपाल जुडो संघले गरेको प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। दुई दिने प्रतियोगितामा नेपालबाट ८–८ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जुडो संघले तेस्रो पल्ट काठमाडौंमा दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिप गरेको हो।
राष्ट्रिय टोलीका प्रशिक्षक ऋषिराम प्रधानले दक्षिण एसियामा स्वर्ण जित्न नेपालले घरेलु प्रतियोगिता र अन्तराष्ट्रिय सहभागितामा जोड दिनु पर्ने बताए। उनले भने, 'भारतलाई हराए हामी स्वर्ण जित्न सक्छौं। विगतलाई हेर्दा हामीले भारत सहभागी नभएको तौल समूहमा स्वर्ण जितेका छौं। यसका लागि खेलाडीलाई प्रशिक्षण र आर्थिक रुपमा सहयोग पुग्ने कार्यक्रम ल्याउनु पर्छ। खेलाडीले ढुक्क भएर खेल्ने अवस्था नभएसम्म स्वर्ण जित्न गार्‍हो छ।'
प्रतियोगितामा एउटा स्वर्ण जिते पनि नेपालको प्रर्दशन सन्तोषजनक रहेको प्रधानले बताए। 'हामीले तयारी गरे अनुसार खेलाडीले राम्रो खेले। हामीले आफ्नो स्तरअनुसार प्रर्दशन गरेका छौं। राम्रो नतिजाको लागि ब्यवस्थापनमा हामीले धेरै सुधार गर्न आवश्यक छ,' उनले सुझाए, 'खेलाडी, प्रशिक्षक र व्यवस्थापनले आ–आफ्नो पक्षबाट मेहनत गर्नु जरुरी छ। प्रतियोगिता अघिमात्र प्रशिक्षणमा जोड दिएर हुदैन। दीर्घकालिन योजना आवश्यक छ।'


प्रकाशित: ३० चैत्र २०७० २१:०१ आइतबार