अन्य

झलमल्ल पुनहिल

कोही हिमालतिर क्यामेरा ताकिरहेका। कोही खुशीका आँसु चुहाइरहेका। पुनहिल (३,२१० मिटर) मा हरेक बिहान सूर्योदय र हिमाल हेर्नेहरुको मेलै लाग्छ। त्यहाँबाट धौलागिरी, अन्नपूर्ण, हिमचुली, गंगापूर्ण र माछापुच्छे्र लगायत हिमाल देखिन्छ।घोडेपानीदेखि पुनहिलसम्म जंगल। गुराँस फुलेर डाँडै राताम्मे भैसक्यो। घोडेपानी मास्तिर वस्ती छैन। बिहान पुनहिलमा चिया/कफि पाइन्छ। घोडेपानीमा भने होटल/रेष्टुरेन्टको दुःख छैन। घोडेपानीबाट एक घन्टामा पुनहिल पुगिन्छ। 
सजिलो पदमार्ग मानिन्छ घान्द्रुक–घोडेपानी। घोडेपानी मगर वस्ती हो भने घान्द्रुक गुरुङ। वीरेठाँटीबाट घोडेपानी जाने दुई बाटा छन्। घान्द्रुक या उल्लेरी हुँदै। घान्द्रुक हुँदै जाँदा बेस। काठमाडौंबाट एकै दिनमा घान्द्रुक पुग्न सकिन्छ। पोखराको हरिचोकबाट घान्द्रुकको किम्चेसम्म बस/जिप चल्छ। दिउसो ४ बजेसम्म जिप पाइन्छ। किम्चेबाट एक घन्टा हिँडे घान्द्रुक। 
घान्द्रुकबाट घोडेपानी पुग्न ९ घन्टा। त्यसैले डेढ घन्टा वरै देउरालीमा बसे सजिलो हुन्छ। त्यहाँ वनवीर गुरुङको ‘देउराली याक होटल'मा चौंरी चिज, घ्यू र छुर्पी पाइन्छ। यात्रा खासै खर्चिलो छैन। तीन रात ४ दिन यात्रा गर्न ७ हजार रुपैयाँ। ख्याल गरौं है, पदयात्रा गर्दा हिँड्न सजिलो जुत्ता, माकल टोपी, ज्याकेट, पानी बोतल, टर्च लाइट लगायत सामान बोक्नु पर्छ। 
कसरी पुग्ने : काठमाडौँ–पोखरा बसमा ६ घण्टा। पोखराको हरिचोकबाट किम्चेसम्म जिपमा २ घण्टा ३० मिनेट। किम्चेबाट एक घन्टामा घान्द्रुक।

प्रकाशित: २८ चैत्र २०७० २२:२३ शुक्रबार