अन्य

कलामाथि अर्को किताब

काठमाडौं– ललितकला प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा अर्को किताब आएको छ। यामप्रसाद शर्माद्वारा लिखित ‘नेपाली पेन्टिङः अ क्रिटिकल एनालाइसिस' नामक अंग्रेजी किताबको विमोचन बिहीबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गरे।विमोचन समारोहमा नेता नेपालले विश्वमा कला र संस्कृतिको ठूलो महत्व र सम्मान भएको चर्चा गर्दे हामीकहाँ एकेडेमीको स्थापनापछि बल्ल त्यसको महत्व सुरु भएको बताए। कार्यक्रममा लेखक शर्माले नेपाली चित्रकलाको सुरुदेखि हालसम्मका पहिचानको व्याख्या, विश्लेषण गरिएको उल्लेख गरे। 
आधुनिक नेपाली चित्रकलामा आधुनिक पश्चिमी कला र भारतीय कलाको समेत प्रभाव पाइएकोले किताबमा आधुनिक पश्चिमी कलाका विभिन्न विधि, प्रविधि र शैलीको पनि विवेचना गरिएको उनको तर्क छ। 
चित्रकला विभागका प्रमुख प्राज्ञ शान्तकुमार राईले आधुनिक र समकालीन नेपाली चित्रहरुको व्याख्या र विश्लेषण विमोचित पुस्तकमा गरिएको बताउँदै प्रतिष्ठानले कलालेखनको अभिलेख सुरु गरेको चर्चा गरे।
विमोचित कृतिमाथि आफ्नो समीक्षात्मक मन्तव्य व्यक्त गर्दै अभि सुवेदीले यो कृतिले नेपाली चित्रकलाको इतिहासको प्रारम्भ गरेको बताए।

प्रकाशित: २७ चैत्र २०७० २२:०४ बिहीबार