अन्य

एकसाथ चार कला–पुस्तक

काठमाडौं– नेपाली लोककला र संस्कृतिमा आधारित चारवटा पुस्तक एकसाथ सार्वजनिक गरिएको छ। बुधबार संस्कृतिमन्त्री भीम अचार्यले ‘पौराणिक नेवार लोककला पुंज्या', ‘तराई नेपालका लोककला', ‘जातीय पहिचानको लोककला' र ‘प्रसिद्ध नेपाली पौवाः कलाकार' नामक पुस्तकहरु विमोचन गरे।‘पौराणिक नेवार लोककला पुंज्या'लाई शारदा चित्रकार, ‘तराई नेपालका लोककला' जीतबहादुर रायमाझी, ‘जातीय पहिचानको लोककला' विपना शर्मा, निमा लामा, ताराप्रसाद ओझा, अशोक थारु, विक्रम त्रिपाठी र सोमबहादुर धिमाल तथा ‘प्रसिद्ध नेपाली पौवाः कलाकार' ज्ञानेन्द्र विवशले लेखेका हुन्। 
पुस्तकलाई नेपाल ललिलकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागले प्रकाशन गरेको हो। ‘पुस्तकले विभिन्न कलालाई जीवन्त राख्ने काम गर्ने हुँदा अन्य छुटेका कलाहरुलाई पनि पुस्तकमार्फत् संरक्षण र प्रवर्द्धन गर्ने काम गरिनुपर्छ। यसले नयाँ पुस्तालाई नेपालमा पाइने कला र संस्कृतिबारे जानकारी समेत मिल्छ। सरकारले समेत यस्ता कलाहरुको अनुसन्धानका लागि काम गरिरहेको छ,' मन्त्री अचार्यले भने। 
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले यी पुस्तकले विभिन्न जातीय पहिचानको चित्रण गरिएको बताए। 
‘पौराणिक नेवार लोककला पुंज्या'की लेखिका शारदा चित्रकारले अनुसन्धानपछि पुस्तक सार्वजनिक गरेको जानकारी गराइन्। ‘पुस्तकका लागि नेवार समुदायको अनुसन्धान गर्न मलाई समस्या भयो। विभिन्न पक्षलाई एकैसाथ केलाउनुपर्ने हुँदा गृहकार्य धेरै गर्नुपरेको थियो,' उनले भनिन्।

प्रकाशित: २६ चैत्र २०७० २२:०० बुधबार