अन्य

गणेश लामा पक्राउ

काठमाडौं– हतियार देखाएर सर्वसाधारणलाई धम्क्याएको आरोपमा गणेश लामा पक्राउ परेका छन्। शनिबार बेलुका महानगरीय प्रहरी परिसरको प्रहरी टोलीले सिनामंगलमा उनलाई पक्रेको हो। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रहरीले दाबी गरेको छ।परिसरद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौ उपत्यकाभित्र गुण्डागर्दी गर्ने, साथमा हतियार लिई सर्वसाधारणलाई धम्काउने, विभिन्न पेसा व्यवसाय गर्नेहरुबाट जबर्जस्ती चन्दा माग गर्ने, चन्दा नदिए अपहरणसमेत गर्छु भनी त्रास देखाउने र आफ्ना गुण्डा सहयोगी परिचालन गरी विभिन्न सरकारी तथा गैरसरकारी ठेक्कापट्टामा ठेकेदारलाई धम्काई रकम माग गर्न सक्रिय रहेको आरोपमा उनी पक्राउ परेका हुन्।
सर्वसाधारणलाई आतंकित तुल्याउने गरेको भन्ने पीडितद्वारा प्राप्त सूचनाका आधारमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय बबरमहलबाट केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दामा म्यादथप अनुमति लिई हिरासतमा राखिएको परिसरले जानकारी दिएको छ। 
लामाविरुद्ध आपराधिक गतिविधीवाट अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको छ। संविधानसभाको दोस्रो निर्वाचनमा लामा फोरम लोकतान्त्रिकबाट काभ्रेमा प्रत्यक्षतर्फ उम्मेदवार बने पनि पराजित भएका थिए।

प्रकाशित: २३ चैत्र २०७० २०:१७ आइतबार