प्रहरीले शंका लागेका १५ वटा गाडी नियन्त्रणमा लिएर जाँच गर्दा बा११च ६१२, बा७च ३४१९ को महेन्द्र जायलो र बा८च ६४३४ नम्बरको टाटा सुमोमा विदेशी मुद्रा फेला परेको थियो। त्यसपछि ती गाडीमा रहेका ११ महिला र ३ पुरुष पक्राउ परेका थिए।
अपरेसनमा संलग्न प्रहरी अधिकारीका अनुसार तीनवटा गाडीमा रहेका चिनियाँसँग फर्सी, पाउरोटी, स्याम्पुका बट्टासँगै थर्मस थिए। विदेशी मुद्रा नदेखिएपछि प्रहरीले थप जाँचका लागि भनेर भन्दै गाडी र चिनियाँ नागरिकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको कार्यालयमा ल्याएको थियो। त्यहाँ सामान खोतल्दा १० देशका मुद्रा फेला परेको थियो। ती मुद्रा सुन तस्करीमा प्रयोग भएको प्रहरीको आशंका छ। काठमाडौं परिसरका एसपी नारायणसिंह खड्काका अनुसार चिनियाँ नागरिक स्थलमार्गमार्फत विदेशी मुद्रा तस्करीमा सक्रिय रहेको एकसाताअघि नै सूचना आएको थियो।
एसपी खड्काका अनुसार उनीहरूले सुरक्षाकर्मीलाई झुक्याउन बीचमा प्वाल बनाई फर्सीभित्रको गुदी निकालेर भित्र डलर लुकाएका थिए। स्याम्पुको बट्टा काटी भित्र विदेशी मुद्रा राखेपछि टेप टाँसेर दुरुस्त बनाएका थिए भने थर्मसको माथिल्लो भागमा पानी राखेर पिँधमो डलर लुकाएका थिए।
शनिबार बेलुका प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उनीहरूको साथबाट बरामद भएका मुद्रा १० देशका हुन्। जसमा ३ लाख ५७ हजार अमेरिकी डलर, १ लाख १६ हजार युरो, ७१ लाख ८२ हजार जापानी येन, १९ हजार पाउन्ड स्टर्लिङ, ३ हजार क्यानेडियन डलर, १४ हजार अस्ट्रेलियन डलर, ७८ हजार चिनिया यान, ६ हजार फ्रेन्चफ्र्यांक, १० हजार हङकङ डलर र १ हजार ७ सय सिंगापुर डलर छन् ।
बरामद विदेशी मुद्रा शनिबार राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १२ करोड ८१ लाख २० हजार रुपैयाँ हुन्छ।
तस्करीको शृंखला
स्थलमार्गबाट डलर तस्करी गरिरहेका गर्दा चिनियाँ नागरिक पक्राउ परेको यो पहिलो घटना भने होइन। यसअघि पनि पटक–पटक चिनियाँहरू अमेरिकी डलरसहित पक्राउ परेका छन्।
विभिन्न आवरणमा नेपाल आएर उनीहरूले मुद्रा तस्करी गर्ने गरेका छन्। प्रहरीले तीन वर्षमा पटक–पटक गरी ४ लाखभन्दा बढी डलरसहित तस्करीमा संलग्न अभियोगमा १३ भन्दा बढी चिनिया पक्राउ गरिसकेको छ।
प्रहरीले २०६७ भदौ २ गते २ लाख ७० हजार अमेरिकी डलरसहित दुई चिनियाँ र तीन नेपालीलाई पक्राउ गरेको थियो। काठमाडौंबाट सुरक्षा नाका छल्दै बा१च ६११२ नम्बरको बोलेरो जिपबाट सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका बेला उनीहरू प्रहरीको फन्दामा परेका थिए। प्रहरीले त्यतिबेला पूर्णबहादुर मगरको झोलाबाट डलर फेला पारेको थियो।
त्यसको एक महिनापछि असोज १९ गते प्रहरीले एक चिनियाँ महिलालाई काठमाडौंमा ४० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो। २०६८ पुस २३ गते भक्तपुरको जगाती चेकपोस्टमा प्रहरीले तीनवटा गाडीमा डलर बोकेर खासा जाँदै गरेका १० चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।
बा७च ९१७८, बा८च ६४२६ र बा७च ५४३४ नम्बरको टाटा सुमोमा रहेका उनीहरूको साथबाट प्रहरीले ९७ हजार २ सय अमेरिकी डलर बरामद गरेको थियो।
तस्करीको पैसा
नेपालमा खासामार्फत हुने कारोबारसँगै विभिन्न अवैध गतिविधिमा चिनियाँ नागरिकको संलग्नता बढ्दो छ। पछिल्लो समयमा गैंडाको खाग, बाघको छाला, रेडपान्डाको छालाजस्ता वन्यजन्तुको अंग, सुनाखरी, रक्तचन्दनलगायतका जडिबुटी तस्करीमा चिनियाँ नागरिक पक्राउ पर्ने गरेका छन्।
तिब्बतको खासा हुँदै भन्सार छली सुन नेपाल भित्र्याएर भारतसम्म पुर्या्उन विभिन्न तस्कर समूह सक्रिय देखिएका छन्। उक्त नाकाबाट दैनिक ५० किलोसम्म सुन नेपाल भित्रिएर भारत पुग्ने गरेको प्रहरी स्रोतले जनाएको छ।
कानुनी रूपमा आर्जन गरिएको रकम (वैध) नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृतिमा बैंकिङ च्यानलमार्फत स्वदेश लैजान सकिन्छ।
शनिबार फेला परेको विदेशी मुद्रा आपराधिक कारोबारको स्रोत भएको प्रहरीको निष्कर्ष छ। अवैध बाटोबाट आर्जन गरेकाले उनीहरूले स्वदेश लैजान तस्करीको माध्यम अपनाएको प्रहरीले जनाएको छ।
एसपी खड्काका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको राहदानीको रेकर्डबाट उनीहरु नेपाल आउजाउ गरिरहेको देखिएको छ र उनीहरूले विदेशी मुद्रा तस्करीका लागि अपनाएको चलाखीका आधारमा उनीहरू पेसेवर हुन्। 'अहिलेसम्मको अनुसन्धानले यो रकम चीनबाट नेपाल हुँदै हुने सुन तस्करीमा प्रयोग भएको रकम हो कि भन्ने देखाउँछ,' उनले भने।
भाषाको समस्याका कारण अनुसन्धान अगाडि बढाउन समस्या भएको एसपी खड्काले बताए। उनीहरूबाट फेला परेको रकम कहाँ–कहाँबाट संकलन गरिएको भन्ने पत्ता लगाउन 'मनी चेन्जर' माथिसमेत अनुसन्धान गरिने खड्काले जानकारी दिए।
प्रकाशित: २२ चैत्र २०७० २०:१२ शनिबार