अन्य

बेपत्ता युवतीको शव फेला

 फलेवास (पर्वत)- तीन महिनादेखि बेपत्ता भएकी एक युवतीको शव शुक्रबार कालीगण्डकी नदी किनारमा फेला परेको छ। पर्वतको शङ्करपोखरी गाविस–९ की  २२ वर्षीया विमला सुवेदीको शव पाङराङ गाविस–७ कालीगण्डकी नदीमा भेटिएको हो। सुवेदी गत  माघ २ गतेदेखि बेपत्ता भएकी थिइन्। कालीगण्डकी नदीमा ढुङ्गाको बीचमा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।

 सुवेदीको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 यता  घरपरिवारले दाइजोको निहुँमा पटकपटक यातना दिँदै आएका कारण उनी बेपत्ता भएको आरोप माइती पक्षले लगाउँदै आएका  छन्।

 विसं २०६९ मङ्सिरमा शङ्करपोखरीका रुद्रप्रसाद च्वाईसँग विवाह भएको थियो। विवाहपछि ससुरा दुर्गादत्तले दाँइजोको निहुँमा निरन्तर मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको छ।

 विमलाले बेपत्ता हुने दिन बिहान आफन्त र साथीलाई आफ्नो अन्तिम सन्देश भन्दै मोबाइलबाट म्यासेज पठाएकी थिइन्।

प्रकाशित: २१ चैत्र २०७० २०:४४ शुक्रबार