आर्नोल्ड, भ्यान ड्याम र स्टालोनको एक्सन फिल्मले यो खेलमा लाग्न उनी थप आकर्षित भइन्। काठमाडौं आएर पब्लिक युथ क्याम्पस पढ्न थालेपछि दशरथ रंगशाला उनको गन्तव्य बन्यो। ‘पढ्न आएको मान्छे खेल्नतिर लाग्न नहुने!' यस्तो डर पाल्दै रंगशाला छिरेकी उनले अन्ततः कलेज छाडिन्, खेल छाडिनन्।
तालिम गरेको चार महिनामै उनी राटि्रय प्रतियोगितामा छानिइन्। धनगढीमा भएको प्रतियोगितामा उनले बागमती अञ्चलको प्रतिनिधित्व गरिरहेकी थिइन्, विज्ञका पारखी आँखाले उनीभित्रको प्रतिभा ठम्याइहाले। त्यसपछि त खेलकुदप्रति उनको एकाग्रता अझै बढ्यो। सामान्य तालिममा छिरेको चार महिनामै राष्ट्रिय टिमको तालिममा सहभागी हुने अवसर पाइन् संगिनाले। अर्को चार महिनापछि त दक्षिण एसियाली स्तरको पहिलो अन्तर्राष्ट्रिय स्पर्धामै सहभागी भइन्। २०५० सालमा फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न दसौं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा उनले रजत पदक जितेर फर्किइन्।
यसरी उनी जितको शृंखला जोड्दै अघि बढिन्।
‘खेलमा जितको ठूलो महत्व हुन्छ। मलाई पनि जितका शृंखलाले हौसला बढायो,' उनी भन्छिन्, ‘आफूलाई अझै गम्भीर बनाउँदै लैजाने ऊर्जा दियो।'
२०५३ मा अस्ट्रेलियामा आयोजना भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा उनले स्वर्णपदक हात पारिन्। नेपालको खेल इतिहासमै त्यो पदकले ठूलो अर्थ राख्यो। त्यो महत्वपूर्ण पदक दिलाएकी खुसीमा देशले उनलाई अधिकृत स्तरको जागिरले सम्मान गर्यो्।
मेलबर्नमा उनले सिंगापुर, चीन, अस्ट्रेलिया र दक्षिण कोरियाका खेलाडीलाई पन्छाउँदै स्वर्ण जितेकी थिइन्। अन्तर्राष्ट्रिय प्रतियोगितामा त्यो नै उनको पहिलो स्वर्णपदक थियो। गौरवको अर्को पक्ष, उनले दक्षिण कोरियाजस्तो मार्सल आटर्समा निपुण देशका खेलाडीलाई परास्त गरेकी थिइन्।
विसं २०५५ भदौ २९ गते दुर्घटनामा परेपछि खेल करिअरमा ठक्कर लागेको ठान्छिन् उनी। १३औं एसियाली खेलको तयारीमा रहेकी बैंककमा आयोजित खेल खेल्न सकिनन्। ६ महिना उपचार गरेपछि खेल गतिविधिमा पुनः सक्रिय उनले दक्षिण एसियाली खेलकुद (साफ) मा स्टिल राखेको घाइते गोडाले पनि स्वर्णपदक दिलाइन्।
एथेन्स ओलम्पिकमा पराजित हुनुलाई उनी खेलजीवनको दुःखदायी क्षण बताउँछिन्। ‘ओलम्पिक खेल्न पाएँ भन्नेचाहिँ भयो। खेलको त्यो महाकुम्भमा पुगेपछि राम्रो तालिम पाएको भए, गोडामा समस्या नभएको भए खेल्न जित्न सक्थेँ भन्ने महसुस गरेँ,' उनी भन्छिन्।
स्टिल राखेको र ‘टि्रटमेन्ट' गरिरहनुपर्ने गोडाले खेलमा साथ दिन सक्दैन भन्ने लागेपछि उनले संन्यास लिइन्। अहिले पनि उनी विभिन्न स्कुल र नेपाल आर्मीका खेलाडीलाई प्रशिक्षण दिएर राम्रा खेलाडी उत्पादनमा खटिइरहेकी छन्।
प्रकाशित: १४ चैत्र २०७० २३:०५ शुक्रबार