एक वर्ष भारतमा बिताएर विभिन्न सम्पर्क माध्यम हुँदै १० दिनअघि गाउँ आइपुगेकी मेलम्ची झ छोरो खोजिदिन आग्रह गर्दै बुधबार मेलम्ची प्रहरी कार्यालय पुगेकी थिइन्। उनको बयान सुनेपछि प्रहरीले छोरो हराएको निवेदन छोडेर बेचबिखन मुद्दामा किटानी जाहेरी दिन लगायो। छोरो हराउनुको कारण सोध्दै जाँदा उनी बेचिएको खुलेको प्रहरी प्रमुख डिएसपी भरतबहादुर बोहराले बताए।
प्रहरीका अनुसार दाहालले राजधानीमा मारवाडीको घरमा महिनाको ८–१० हजार तलब आउने जागिर लगाइदिने प्रलोभनमा २०६९ माघ १६ गते गाउँबाट लगेका थिए। त्यस रात दाहालकै घरमा बिताएर उनले आमाछोरालाई जर्सिङ पौवाको चोरबाटो हिँडाउँदै काठमाडौं पुर्याए। भोलिपल्ट कलंकीबाट बस चढाएर सुनौली नाका हुँदै दिल्ली पुर्याए। पुगेको रात तामाङनी भनिनेको घरमा बिताएपछि भोलिपल्ट उनीहरुलाई अर्की ठूली तामाङ्नी भन्नेको घरमा राखियो। ‘छोरासँगै सुतिरहेका बेला महांकाल–सेराका गोपी लामिछाने उनलाई दुर्व्यवहार गरे,' उनको भनाइ उद्धृत गर्दै डिएसपी बोहराले भने।
१२ वर्षीय छोरो छाडेर भाग्दै सडकमा निस्केपछि उनलाई प्रहरीले भेट्टायो। प्रहरीले स्थानीय संस्थाको जिम्मा लगायो। ‘वर्ष दिन त्यहाँ बस्दा दिल्ली प्रहरीले पुनः पक्राउ गरेर माइती नेपालको जिम्मा लगाएको रहेछ,' बोहराले भने। १० दिनअघि गाउँ फर्किएकी मेलम्ची झले उनी भारत पुगेको दुई दिनमै छुट्टिएको छोरा खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालय पुगेकी थिइन्। प्रहरीको अनुरोधमा उनले दाहाल र लामिछाने दुवैलाई विपक्षी बनाई किटानी जाहेरी दिइन्। जाहेरीपछि दाहाल घरैबाट पक्राउ परे। लामिछाने अहिले पनि भारतमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ चैत्र २०७० २०:११ शुक्रबार