अन्य

बालिकामाथि सामूहिक बलात्कार

बनेपा– उग्रतारा जनागाल–६ स्थित बालकुमारी वनमा बिहीबार अपराह्न ४ बजे एक बालिका सामूहिक बलात्कारको सिकार भएकी छिन्।कक्षा ४ को जाँच सकेर जनागालस्थित डेरामा फर्कंदै गर्दा स्कुल ड्रेसमै रहेकी बालिकालाई चार जनाले बलात्कार गरेको उजुरी पीडित परिवारले बनेपा प्रहरीमा दर्ता गराएका छन्। पीडितको बयानका आधारमा तीन आरोपीलाई पक्राउ गरी हिरासतमा राखिएको छ। पक्राउ पर्नेमा उग्रतारा–१, पुलबजार बस्ने दीपक कार्की, रोशन रञ्जित र दीपेश तामाङ रहेको प्रहरी निरीक्षक अच्युत चापागाईंले जानकारी दिए। एक आरोपीको नामथर खुल्न सकेका छैन। 
बालिकालाई ५० रुपैयाँको लोभ देखाएर कार्कीले बालकुमारी जंगल लगेका थिए। उनी यसअगाडि चोरी मुद्दामा सजाय पाएका व्यक्ति हुन्। बालिका चिच्याएको सुनेर घाँस काट्दै गरेका महिला आएपछि उनीहरू भागेका थिए। बनेपा प्रहरीले बालिकाको धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ।
गत वर्ष पनि मेथिनकोटमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। उक्त मुद्दामा आरोपित चार जनालाई २७ वर्षका दरले कैद सजाय र क्षतिपूर्तिबापत जनही एक लाख रुपैयाँ भराउने फैसला हालै काभ्रेपलाञ्चोक जिल्ला अदालतले गरेको छ।

प्रकाशित: १४ चैत्र २०७० २०:०७ शुक्रबार