अन्य

ठेकेदार पुर्पक्षका लागि थुनामा

चौतारा- जिल्ला अदालत सिन्धुपाल्चोकले निर्माण व्यवसायी जीवन श्रेष्ठलाई अपहरण गरेको अभियोगमा पाँच जनालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ।


जिल्ला न्यायाधीश अजयराज उपाध्यायको इजलाशले अपहरण गरेको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा राख्ने आदेश गरेको हो।

 थुनामा पर्नेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका–४ का पुष्पराज श्रेष्ठ, सिन्धुली रत्नावती–२ का मणिकुमार राई, सिन्धुपाल्चोक मानेस्वाँरा–१ का जितेन्द्र भण्डारी, बाह्रबिसे–१ का विश्व बस्नेत र काठमाडौँ गोकर्णका रवि श्रेष्ठ रहेका छन्।

 बराम्ची जलविद्युत् आयोजनामा निर्माणसम्बन्धी काम लिएका निर्माण व्यवसायी श्रेष्ठलाई अपहरण गरी रकम असुल्न खोजेको अभियोगमा उनीहरुलाई फागुनको दोस्रो साता प्रहरीले पक्राउ गरेको थियो।

 अपहरणका मुख्य योजनाकार सगुन श्रेष्ठसहित अन्य छजना फरार रहेको प्रहरीले जनाएको छ।   

 श्रेष्ठलाई ठेक्का छाड्न वा मासिकरुपमा रकम दिन दबाब दिँदै कुटपिट गरी जलबिरे नजिकै ढाँडेबाट अपहरण गरिएको प्रहरी नायव उपरीक्षक भरतवहादुर बोहोराले बताए।

प्रकाशित: ११ चैत्र २०७० ०८:३३ मंगलबार