अन्य

वीरसिंहको पोखरेली पौरख

ढुंगैढुंगाले बनेका लोभलाग्दा घरहरूले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छ्रे हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा यदि अरू केहीले तान्छ भने त्यो यहाँका घर नै हुन्। बेलायती सेनाबाट आर्जेको सम्पत्तिबाट लाहुरेले बनाएका चिटिक्क घरको सिको अरूले पनि गर्न थालेपछि पोखरा ढुंगेघरको सहर भएको छ।५० वर्षअघि पोखराको समथर जमिनमा कि खेत थियो कि बयरघारी र काँसको खरबारी। त्यतिबेला हेर्नलायक घर देख्न काहुँडाँडा उक्लनुपर्थ्यो। उपत्यकालाई उत्तर–पूर्वबाट पहरा दिइरहेको काहुँको टाकुरामा थियो, अत्यन्तै आकर्षक एउटा घर। कास्कीमा बनेको पहिलो ‘आरसिसी'। त्यो घर बनाउन भारतको गोरखपुरमा बनेका झ्यालढोका भैरहवा हुँदै जहाजमा पोखरा ल्याइएको थियो। धेरैजसो सामान जहाजमै आएका थिए। आजसम्म आइपुग्दा त त्यसको ओज घटेको छैन भने उनताका कति लोभलाग्दो मानिँदो हो! त्यो घर थियो ब्रिटिस सेनाका अवकासप्राप्त मेजर वीरसिंह गुरुङको। डाँडामा घर! किन त? सामाजिक कार्यकर्ता रवीन्द्र माकाजु भन्छन्, ‘मेजर सा’ब मैदानी भागमा खेती गर्नुपर्छ र बस्ती डाँडामा बसाउनुपर्छ भन्नुहुन्थ्यो र त्यसको सुरुवात आफैंले गर्नुभएको थियो।’
माकाजुका अनुसार मेजर सा’बले व्यवस्थित पोखराको सपनामात्रै देखेनन्, त्यसका लागि ठूलो योगदान पनि गरेका छन्। पोखरामा आधुनिक स्वास्थ्य सेवाको जग हाल्ने उनै हुन् भन्छन्, अर्का समाजसेवी कृष्ण केसी। माकाजु र केसी पोखरामा आधुनिक स्वास्थ्यको जग बसाल्ने श्रेय वीरसिंहलाई दिन्छन्। शिक्षामा पनि उनको अमूल्य योगदान छ। उनीहरू भन्छन्, ‘पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निर्माणको जग वीरसिंहले नै बसाएका हुन्। अमरसिंह उच्च मावि स्थापना गर्ने पनि उनै हुन्।’
२००७ सालको क्रान्तिअघिसम्म पोखरा राज्यको नजरबाट धेरै टाढा थियो। यसलाई कति कम महत्र्व दिइएको थियो भन्ने त्यो बेलासम्म यहाँ बडाहाकिमको व्यवस्था नहुनुबाटै प्रस्ट हुन्छ। व्यापारिक हिसाबले तनहुँको बन्दीपुर, बाग्ालुङ र पाल्पाको तानसेनभन्दा पोखरा धेरै पछाडि थियो। कास्कीका राजा सिद्धिनारायण शाहका पालमा विसं १८०० तिर खुलेका संस्कृत पाठशाला प्रधानमन्त्री भीमसेन थापाका पालासम्म त थिए, तर पछि शिक्षादीक्षाका थलो बिस्तारै मेटिए। कास्कीबाट पनि पठनपाठनका लागि बनारस धाउनुपर्ने भयो। २००७ सालपछिको खुला परिवेशमा पोखराले बिस्तारै पखेटा फिजाउन खोज्दै थियो। प्रजातन्त्र बहालीको पाँच वर्षपछि वीरसिंहले स्वास्थ्य र शिक्षाको जग एकैचोटि बसाएका हुन्। २०१३ साल चैत १३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अमरसिंह उच्च माविको सुरुवात भएको थियो। त्यतिबेला भने यिनीहरूको नाम क्रमशः सोल्जर्स बोर्ड अस्पताल र सोल्जर्स बोड भोकेसनल टे्रनिङ हाइस्कुल थियो। 
यी अस्पताल र स्कुलको कथा वीरसिंहसँग मात्रै जोडिन्न। त्यसको धागो वीरसिंहजस्तै भारतीय र बेलायती सेनामा भर्ती भएका नेपालीहरूको कथासम्म जेलिएको छ, त्यो पनि पहिलो र दोस्रो विश्वयुद्ध लडेका नेपालीसम्म। 
दुइटा विश्वयुद्धमा कति नेपाली लडेका थिए, कति घाइते भए र कति मरे? कुनै लेखाजोखा रहेन। ६० हजारभन्दा बढी मरेको अनुमानमात्रै छ। त्यसरी मारिएका नेपालीहरुको परिवारका लागि भनेर भारत सरकाले ५४ लाख भारतीय रुपैयाँ नेपाललाई दिएको थियो। त्यहीमध्ये ४४ लाख भारुबाट खडा भएको थियो, युद्धपश्चात पुनःनिर्माण कोष। त्यसका पश्चिमाञ्चल संयोजक चुनिए वीरसिंह गुरुङ।
भूतपूर्व सैनिक बिलबहादुर गुरुङका अनुसार वीरसिंहको परिवार धार्मिक प्रवृत्तिको थियो र शिक्षा स्वास्थ्यको महत्र्व उनले राम्ररी नै बुझेका थिए। गोरा अंग्रेजहरूको लवाइखवाइ र रहनसहनबाट प्रभावित उनले शिक्षा र स्वास्थ्यको महत्र्व पनि उनीहरूकै संगतले बुझ्न पाएका थिए। त्यसैले आफू संयोजक रहेर खर्चन पाउने रकम उनले अस्पताल र स्कुल खोल्न खर्चेको माकाजु बताउँछन्। स्कुल खोल्ने गुरुङको प्रस्तावलाई पोखरा कुँडहरका देवराज घिमिरेलगायतले साथ दिएका थिए। ‘घिमिरेहरूले २१० रोपनी जग्गा दान गरेपछि स्कुल खोल्न सम्भव भएको थियो,’ अमरसिंह उच्च माविका पूर्वअध्यक्षसमेत रहेका कृष्ण केसी भन्छन्। उनका अनुसार भूतपूर्व सैनिक परिवारका सदस्यलाई निःशुल्क र अरुलाई अति न्यूनतम शुल्क लिएर पठनपाठन सुरु भएको थियो।
सोल्जर्स बोर्ड भोकेसनल टे्रनिङ जुनियर हाइस्कुलका नामले स्थापित विद्यालयको स्वामित्व २० को दशकमा नेपाल सरकारले लिएको केसी बताउँछन्। अमरसिंह अहिले साँच्चिकै हाइस्कुल अर्थात उच्च मावि बनिसकेको छ। दृष्टिविहीनका निम्ति छुट्टै कक्षा चलाइरहेको स्कुलमा अंग्रेजी र नेपाली दुवैथरीको माध्यमबाट पढाइ हुन्छ। वर्सेनि दुई हजार जति विद्यार्थीलाई विद्यालयले शिक्षादीक्षा दिइरहेको छ।
घिमिरेहरूको जग्गादानबाट अमरसिंह स्कुल स्थापना गर्नुअघि २०११ सालमै मेजर वीरसिंहले काहुँमा निजी खर्चबाट पाँच रोपनी जग्गा किनेर प्रावि तहको स्कुल खोलेका थिए। २०१७ पछि त्यो स्कुल कालिका माविका रूपमा आजसम्म चलिरहेको छ। अहिले उक्त स्कुल उच्च मावि बनिसक्यो।
सिल्दजुरेमा जुरेथुम प्रावि, सिक्लेसमा अन्नपूर्ण, याङ्जाकोटमा सीताराम, लुम्लेमा माझगाउँ स्कुल पनि वीरसिंहले नै स्थापना गरेको स्थानीय बताउँछन्। अमरसिंहमा अंग्रेजी माध्यम सुरु गर्दा वीरसिंहमाथि ‘गाईखाने विद्या' भित्र्याएको आरोपको काँडाले कोतरेको थियो। ‘तर, पछि सबैले त्यसको महत्र्व बुझे र मेजरसा’बको चोट निको भयो,’ माकाजु भन्छन्। 
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले बहिरंग र अन्तरंग विभागतर्फ १२/१२ सेवा चल्छन्। ३५० भन्दा बढी शच्चयाको अस्पतालमा अरू दुई सय शच्चया थपेर विशेषज्ञ सेवा पनि उपलब्ध गराइँदैछ। सोल्जर्स बोर्ड अस्पतालका रूपमा स्थापित भएको धेरै समयसम्म पनि निःशुल्क जाँच र औषधि वितरण हुने गरेको केसी सम्झन्छन्। माकाजुका अनुसार सबैले निःशुल्क स्वास्थ्य र शिक्षा पाउनुपर्छ भन्ने वीरसिंहको मान्यता थियो। उनले अस्पताल पोखरामा मात्रै नभई स्याङ्जामा खोलेका थिए। 
गाउँमा आउने गल्लाले खोजीखोजी नेपाली ठिटालाई भर्ती लैजान्थे। गाउँमा एकथरी नाम र परिचय भएको व्यक्ति भर्ती हुँदा अर्कै नाममा दर्ता हुन्थ्यो। परिवारै सदस्यलाई आफ्नो मान्छे कुन नाममा भर्ती भएको छ र उनको नम्बर कति हो भन्ने मेसो पाउन मुस्किल हुन्थ्यो। युद्धमा मारिएका विभिन्न व्यक्तिका आफन्त र परिवार नभेटिनुको एउटा कारण यो पनि हो। कारण जे भए पनि उनीहरूका नाममा आएको रकम भने अरू नेपालको हितमा लाग्यो।
बिलबहादुरको सम्झनाअनुसार वीरसिंह हट्टाकट्टामात्रै नभई निकै बौद्धिक र सभ्य थिए। भारतीय सेनाका अधिकृत तहसँग त सजिलै कुरा गर्नसक्ने ल्याकत थियो उनमा। राणा प्रधानमन्त्री मोहनशमशेरसँग पनि प्रत्यक्ष वार्ता गरेर उनले भूतपूर्व सैनिकका समस्याको बिस्कुन सुकाइदिएका थिए। उनताका ब्रिटिस र भारतीय सेनाका भूतपूर्व सैनिकजति पेन्सन थाप्न गोरखपुर जानुपर्ने बाध्यता थियो। बूढाबूढीलाई बोकेर लैजानुपर्थ्यो। महिनाको पाँच रुपैयाँका दरले ६० रुपैयाँ (भारतीय) लिन जाँदा कर्म खर्च हुन्थेन। ‘भारतीय सैनिक अधिकृत र नेपालका सरकारी उच्च अधिकारीसँग कुरा पुर्या एर पेन्सन क्याम्प पोखरामा राख्ने प्रबन्ध उनैले मिलाएका हुन्,’ बिलबहादुर भन्छन्।
लाहुरेहरू पेन्सन थाप्न आउजाउ गर्दागर्दै पोखरा उनीहरूको आवासीय रोजाइमा पनि पर्न थालेको हो। त्यो जमानामा नगद आम्दानी हुने व्यक्ति औंलामा गन्न सकिन्थ्यो। नगदी कमाइ हुनेमा लाहुरे नै पर्ने भइहाले। ब्रिटिस सेनाका अवकासप्राप्तहरूका लागि ब्रुनाईमा अर्को अवसर मिलेपछि उनीहरूको आम्दानी ह्वात्तै बढ्यो। उनीहरूले खर्च गर्दै जाँदा पोखरामा जग्गा र विभिन्न वस्तुको व्यापार फस्टाउन थाल्यो। गाउँले परिवेश बजारी बन्न थाल्यो। सिद्धार्थ र पृथ्वी राजमार्गले जोडेपछि भूतपूर्व गाडी गुडाएर सार्वजनिक यातायातको जग हाले।
पोखरामा अस्पताल र स्कुल खोल्न सुरुवाती अगुवा वीरसिंहलाई भने उनले जन्माएका संस्थाले पनि धेरै पछि चिने। २०२८ सालमा उनको निधन भएपछि उनको चर्चामा चुइँक्क पनि भएको थिएन। लामो समयपछि आएर अमरसिंह उच्च माविले आफ्नो स्वर्ण महोत्सव मनाउँदा उनलाई सम्भि्कइयो। तत्कालीन अध्यक्ष कृष्ण केसीको पहलमा विद्यालयमा वीरसिंह स्मृति कक्ष बनेको छ। विज्ञान भवन उनको नाममा राखिएको छ। विश्वयुद्धमा मारिएका र हराएकाहरूको नाममा आएको पैसाले स्कुल बनेको हुँदा उनीहरुको सम्झनामा एउटा स्मृति स्तम्भ पनि निर्माण गरेको केसी बताउँछन्। 
लाहुरे बस्ती पोखरा मुलुकका अन्य सहरको तुलनामा व्यवस्थित र सफा छ। ढुंगाले बनेका घर आकर्षक छन्। धेरै बसाइ व्यवस्थित छ। लाहुरेहरू गाउँटोल सफा राख्छन्, त्यसको सिको अरूले पनि गर्दा सहरी सरसफाइ र व्यवस्थापन तुलनात्मक रूपमा स्तरीय बनेको छ। मेजर वीरसिंहको दूरगामी दृष्टिकोणअनुसार गएको भए पोखरा उपत्यका झनै सुन्दर हुन्थ्यो भन्छन्, माकाजु। ‘उहाँले उपत्यका बनाउने डाँडाका फेदैफेद रिङरोड बनाउने प्रस्ताव गर्नुभएको थियो,’ उनी भन्छन्, ‘त्यसो गर्दा सबै डाँडाका बस्ती एकापसमा जोडिन्थे र पोखराको खेतीयोग्य जमिन बाँकी रहन्थ्यो।’ 
दार्जिलिङ र कालिम्पोङमा जस्तो डाँडामा सहर बनाउने, रेल चलाउने र पर्यटक डाक्ने सपना साकार पार्न उनी राजनीतिक रूपमा पनि सक्रिय भए र जिल्ला पञ्चायतको सदस्य र काहुँको प्रधानपञ्च बने। लेक र बेँसी भारी बोकेर थाकेकाहरू काहुँडाँडामा मोटर कुदाउने कुरालाई हावामा उडाउँथे। पर्यटक ल्याउने भनेर उःबेलै वीरसिंहले काहुँको टाकुरामा बनाएको धरहरा अस्तित्वको संकटमा छ। गाउँलेले अझै पर्यटक गाउँ उकाल्न सकेका छैनन्। जेठोबूढो जातको धान फल्ने पोखराका खेतमा दिनदिनै कंक्रिटहरू बनेका बन्यै छन्। वीरसिंहको महत्र्व झन् बढेको छ। तीन वर्षअघिमात्रै कृष्ण केसीकै अध्यक्षतामा वीरसिंह गुरुङ स्मृति प्रतिष्ठान गठन गरिएको छ। केसी भन्छन्, ‘हामी वीरसिंहलाई सम्झने र सम्मानमा कार्यक्रम गर्नेमात्रै गर्दैनौं, थुप्रै वीरसिंह जन्मिऊन् भन्ने चाहन्छौं र त्यही लक्ष्यका लागि अघि बढ्छौं।’

प्रकाशित: ७ चैत्र २०७० २०:५५ शुक्रबार