राजधानी त्रासको जंगल भएको छ। किनभने, यहाँ चरी, बाघे र स्यालजस्ता गुन्डा–जीवहरू छन्। नागरिकका सुरक्षा, जिउधन र अमनचैन कुनै पनि बेला उनीहरूको शिकारमा पर्नसक्छन्। राजनीतिक दलका नेताहरूले गुन्डा पालिरहेका छन्, पोसिरहेका छन्। उसो त अहिले गुन्डालाई खोरमा हाल्ने अभियान जोडतोडका साथ चलिरहेको छ। गुन्डा जमात भयभीत पनि छ। एसएसपी रमेशप्रसाद खरेल र गृहमन्त्री वामदेव गौतम गुन्डामुक्त समाज बनाउने भन्दै गर्जिन त गर्जिरहेका छन्, तर कानुनको अभावमा समात्न नपाई गुन्डाहरू तीन हजार धरौटी राखेर सजिलै छुटिरहेका छन्। गोपाल दाहालले यो गुन्डा–पुलिस लुकामारीलाई नजिकबाट नियाल्ने प्रयत्न गरेका छन्।
फागुन १३ गते दशरथ रंगशालामा फुटबल हेर्दाहेर्दै पक्राउ परेका दीपक मनाङे भनिने राजीव गुरुङ यसअघि १० पटक प्रहरी हिरासतमा पुगिसकेका नामुद गुन्डा हुन्। भारतमा जन्मिएका र उतै हुर्किएका मनाङे नेपाल आएपछि ठमेल क्षेत्रमा हल्लिने क्रममा बिस्तारै अपराधको दुनियाँमा प्रवेश गरेका थिए। पर्यटकको बाक्लो आउजाउ हुने ठमेलमा डिस्को खोलेर व्यापारमा प्रवेश गरेलगत्तै उनी आपराधिक गतिविधिमा पनि संलग्न हुन थाले। केटाहरू भेला पारेर ‘लिडर' बन्ने सोखले उनी ‘ग्याङस्टर' बन्दै गए। उनले अपराधको दुनियाँमा राजीव गुरुङबाट आफूलाई दीपक मनाङेका रूपमा स्थापित गराए। उपत्यकाभित्र विभिन्न व्यापारी, हाउजिङ कम्पनी सञ्चालक, ठेकेदार तथा विभिन्न व्यवसायीबाट जबर्जस्ती रकम माग गर्ने, असुल गर्ने र माग गरेको रकम नपाएको खण्डमा परिवारसमेतलाई अपहरण गर्ने र ज्यानसमेत लिनेजस्ता धाकधम्की दिने गरेको आरोपमा उनी अहिले प्रहरी हिरासतमा छन्। उनीसँग प्रहरीको लुकामारी चल्न थालेको १० वर्ष बितिसकेको छ। व्यवसायीलाई तर्साएर पैसा उठाएको आरोपमा गत भदौमा पनि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो। त्यतिबेला उनी करिब एक महिनामै छुटेका थिए। पहिलोपटक २०६० मा पक्राउ परेका मनाङे त्यसपछि विभिन्न मुद्दामा पटक–पटक पक्राउ परिसकेका छन्। प्रहरीले जति पटक प्रक्राउ गरे पनि न उनले अपराध गर्न छोडेका छन्, न त प्रहरीले उनलाई कडाभन्दा कडा कारबाही नै गर्न सकेको छ।
भित्र/बाहिरको शृंखला
एसएसपी रमेशप्रसाद खरेल महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख भएपछि उनले गुन्डागर्दी नियन्त्रण गर्ने अभियान नै चलाएका छन्। यस क्रममा फागुन २६ गतेसम्ममा काठमाडौँ प्रहरीले गुन्डागर्दीमा संलग्न भनिएका ८९ जनालाई पक्राउ गरिसकेको छ। माघ २३ गते एसएसपी खरेललाई उनकै कार्यकक्षमा भेट्न पुगेका गुन्डा बलराम सापकोटा (बले) लाई पक्राउ गरेर सुरु भएको यो अभियान अहिले पनि जारी छ। ‘क्यासिनो किङ'का रूपमा परिचित बले प्रहरीलाई आर्थिक प्रभावमा पारी क्यासिनोबाट करोडौँ कमाउन सफल भएका व्यक्ति हुन्। उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सीआईबीले पनि अनुसन्धान गरिरहेको छ। तर, बले अहिले प्रहरी हिरासतमा छैनन्। पक्राउ परेको २६ दिनमा उनी तीन हजार रुपैयाँ धरौटीमा फागुन १९ गते छुटिसकेका छन्। बलेजस्तै फागुन २६ गतेसम्ममा पक्राउ परेकामध्ये ४२ जना छुटिसकेका छन्। प्रायः सबै तीन हजार धरौटी बुझाउँदै छुटेका छन्। पक्राउ परेकामध्ये अधिकांशलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको थियो। यो ऐनअनुसार अधिकतम २४ दिनसम्म थुनामा राख्न पाइन्छ।
प्रहरीले अहिले पक्राउ गरिरहेका अधिकांश गुन्डा पटके हुन्। हनुमानढोकामा उनीहरूको आवतजावत वर्षौंदेखि चलिरहेको छ। पक्राउ परेकामध्ये थोरैमात्र पहिलो पटक प्रहरीको खोरमा पुगेका छन्।
खोइ त कानुन ?
प्रहरीले जति पटक नियन्त्रणमा लिए पनि प्रभावकारी कानुनको अभावमा गुन्डाहरूमाथि कडा कारबाही गर्न सकेको छैन। नेपाल प्रहरीका प्रवक्ता गणेश केसी गुन्डागर्दीविरुद्धको कानुनी कारबाही देशभर सञ्चालन भइरहेको बताउँछन्। प्रहरीको यो अभियानलाई गृह मन्त्रालयले पनि ‘ओन' गरेका कारण कारबाही सहज भएको उनको बुझाइ छ। तर, प्रभावकारी कानुनको अभावमा प्रहरीले पछिल्लो पटक सञ्चालन गरेको अभियान पनि गुन्डागर्दी नियन्त्रणको ‘स्टन्ट'मा परिणत हुने खतरा पनि उत्तिकै छ।
‘प्रहरीको कामलाई जनताले प्रशंसा गरेका छन्,' प्रवक्ता केसीले भने, ‘समाजमा भयरहित वातावरण बनाउन र शान्ति–सुरक्षा कायम गराउन गलत काम गर्नेहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने दायित्व प्रहरीको हो।' तर, गुन्डागर्दी नियन्त्रण कानुनको अभावमा प्रहरीको काम प्रभावकारी हुन सकिरहेको छैन। केहीलाई अपहरण तथा शरीर बन्धक, संगठित अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको भए पनि पक्राउ परेका अधिकांशलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाउँदा छिट्टै छुट्ने गरेको प्रवक्ता केसीले बताए। ‘प्रहरी प्रधान कार्यालयले गुन्डागर्दी नियन्त्रण कानुनको मस्यौदा तयार पारेर गृह मन्त्रालयमा बुझाएको लामो समय बितिसक्दा पनि कानुन पास नहुँदा गुन्डागर्दी नियन्त्रणमा प्रहरीको काम प्रभावकारी हुन सकेको छैन,' प्रवक्ता केसीले भने। प्रस्तावित कानुनमा गुन्डागर्दीबाट आर्जन गरिएको सम्पत्ति जफत गरिने, लामो समय थुनामा राख्न सकिने, आर्थिक सजायको मात्रा बढाउनुपर्नेलगायत प्रस्ताव छन्।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डीएसपी अर्जुन चन्द गुन्डागर्दीमा संलग्नहरूलाई अपूरा कानुनका कारण कडा कारबाही गर्न नसकिएको बताउँछन्। ‘पटक–पटक पक्राउ पर्दा पनि सजिलै छुट्नुको कारण गुन्डा नियन्त्रणसम्बन्धी कानुन नभएकाले नै हो,' प्रवक्ता चन्दले भने, ‘पर्याप्त प्रमाण नपुगेपछि सार्वजनिक अपराधअन्तर्गत २४ दिन थुनामा राखेर छोड्नुपर्ने बाध्यता रहेको छ।'
समाजमा बदनाम गुन्डाहरू पार्टीको नेता, समाजसेवी, व्यापारीको भेष धारणा गर्ने क्रम बढेकाले गुन्डागर्दी नियन्त्रण गर्ने काम कठिन हुँदै गएको चन्दले बताए। ‘एक जनाले विभिन्न ठाउँमा केटाहरू परिचालन गरेर गलत धन्दा गरिरहेका हुन्छन्,' उनले भने, ‘सबैको बाहिरी आवरण पेसा–व्यवसाय गर्ने व्यक्तिका रूपमा हुन्छ। यस्ता व्यक्तिलाई पक्रेर गुन्डागिरी गरेको प्रमाण जुटाउन मुस्किल हुन्छ।' प्रहरीको यस्ता अभियानले समाजमा गलत काम गरिरहेकाहरूको मनोबल गिर्ने उनको दाबी छ।
गृहमन्त्रालयका प्रवक्ता शंकर कोइराला गुन्डागर्दी नियन्त्रणमा प्रहरीको कामलाई मन्त्रालयको तर्फबाट पूर्ण सहयोग र समर्थन गरिएको बताउँछन्। ‘गुन्डागर्दी नियन्त्रणका लागि मस्यौदा गरिएको कानुन पास गराउने सम्बन्धमा गृहकार्य भइरहेको छ,' उनले भने।
कर्यापझ्याप अभियान
फागुन १३ गते गृहमन्त्री वामदेव गौतमले पदभार ग्रहण गर्दै कर्मचारी तथा प्रहरीलाई दिएको पाँचबुँदे निर्देशनको पहिलो बुँदामा थियो– गुन्डागर्दी नियन्त्रण। प्रहरीलाई उनले काठमाडौँ उपत्यका तथा देशभर गुन्डागर्दी गरिरहेकाहरूलाई ‘कर्यापझ्याप' पार्न कडा निर्देशन दिएका थिए। गृहमन्त्रीको निर्देशन पाएपछि प्रहरीले अहिले गुन्डागर्दी र दादागिरी गर्नेहरूलाई देशव्यापी रूपमा पक्राउ गर्ने बृहत् अभियान नै चलाएको छ। तर, गुन्डागर्दीविरुद्धको यो अभियानमा सबैभन्दा बढी तगारा लगाउने काम पनि राजनीतिक दल तथा तिनका नेताबाट हुँदै आएको तथ्य कसैबाट लुकेको छैन। बलराम सापकोटा ‘बले' लाई छुटाउन प्रधानमन्त्रीका पीएले दबाब दिएका थिए। महाराजगञ्ज क्षेत्रमा गुन्डागर्दी गर्दै आएका तेजेन्द्र (गुन्डा चक्रे मिलनका भाइ) लाई छुटाउन उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले प्रहरीलाई दबाब दिएका थिए। सभासद् जगदीश्वरनरसिंह केसी पनि उनलाई छुटाउन लागिपरेका थिए। बले र तेजेन्द्र राजनीतिक दलसँग जोडिएका साना स्तरका गुन्डा हुन्। उनीहरूको तुलनामा निकै प्रभावशाली गुन्डा अहिले पनि प्रहरीको नियन्त्रणमा आएका छैनन्। आइहाले पनि प्रहरीले उनीहरूलाई २४ दिन पनि थुनामा राख्न नसक्ने अवस्था छ।
प्रकाशित: ५ चैत्र २०७० ०५:४७ बुधबार