अन्य

तामाङ संस्कृतिमाथि ‘ताम्बा' डकुमेन्ट्री

काठमाडौं– तामाङ जातिको परम्परालाई दृश्य माध्यममा उतार्ने उद्देश्यले ‘ताम्बा' नामक डकुमेन्ट्रीको छायांकन थालिएको छ। तामाङ चौतारी समूहको संयोजनमा निर्माण हुने डकुमेन्ट्रीको निर्देशन पत्रकार फूलमान बलले गरिरहेका छन्।४० देखि ६० मिनेटसम्मको हुने डकुमेन्ट्रीको सुटिङ राजधानीबाहेक काभ्रे, दोलखा, रामेछाप, रसुवा र भारतका दार्जिलिङ तथा सिक्किममा हुने तामाङ चौतारी समूहका अध्यक्ष विनोद तामाङले बताए। 
२० प्रतिशत सुटिङ सकिसकेको ‘ताम्बा'को सबै काम आउँदो ६ महिनासम्ममा सिध्याउने लक्ष्य फिल्म युनिटको छ। भोट बर्मेली भाषा परिवारको तामाङ समुदायमा मौखिक इतिहासविद् तथा संस्कृतिविद्को रुपमा चिनिने व्यक्तिलाई ताम्बा भनिन्छ। 
‘ताम्बाहरुले आफ्नो समुदायको सभ्यता, परम्परा, संस्कृति र लोक अभ्यासलाई मौखिक रुपमा नयाँ पुस्तामा हस्तान्तरण गर्दै आइरहेका छन्। तामाङ बसोबास रहेको जुनसुकै गाउँमा पनि उनीहरु भेटिन्छन्। तामाङ समाजको सांस्कृतिक संरचना ताम्बाबिना पूरा हुन सक्दैन। डकुमेन्ट्रीमा यस्ता विषयलाई जोड दिएको छु,' निर्देशक फूलमानले भने। 
तामाङ जीवनको विभिन्न सांस्कृतिक कर्मकाण्डमा डम्फु बजाउँदै पृथ्वीको उत्पत्ति, सृष्टिको आरम्भ, तामाङ सभ्यताको उद्भव, संस्कृतिका अनेकौं पाटाहरु, तिनका विधि र परम्पराका प्रक्रियालाई पनि डकुमेन्ट्रीमा समावेश गरिनेछ। 
तामाङ समुदायको विवाह, छेवारदेखि मृत्यु संस्कारसम्ममा ताम्बाको भूमिका हुने गरेको छ। ‘बेहुला बेहुली सिँगार्दा, रीतभात बुझाउँदा, बेहुली अन्माउँदादेखि भित्र्याउँदासम्म ताम्बाको व्याख्या आवश्यक हुन्छ। यी सबै विधि र प्रक्रिया पूरा नभई भएको विवाहलाई तामाङ संस्कृति अनुसारको विवाह मानिँदैन। डकुमेन्ट्रीले नयाँ पुस्तालाई संस्कृतिसम्बन्धी जानकारी दिनेछन्,' अध्यक्ष विनोदले भने।

प्रकाशित: ४ चैत्र २०७० २३:४० मंगलबार